काठमाडौं । सरकारले बढी भिडभाड हुने सरकारी तथा गैर सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्म बन्द नै राख्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा अर्को सूचना प्रकाशित नभएसम्म बढी भिडभाड हुने कार्यालयहरु शैक्षिक संस्था, सिनेमा हल, पुस्तकालय, धेरै जनाको समूहमा खेलिने खेलकुदका कार्यक्रमलगायत नखोल्ने निर्णय गरेको हो ।
मंगलबार आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण बढ्दै गएका कारण गत साउन ५ गतेको मन्त्रिपरिषदले भदौ १ देखि खोल्ने निर्णय गरेका केही सेवाहरु भदौ १६ पछि खोल्ने र केही सेवा हाललाई बन्द नै राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यका र २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गर्नु भएको छ ।
‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने।’ उहाँले भन्नुभयो ।
कार्यालयहरुले सकेसम्म घरैबाट काम गर्ने वातावरण बनाउन पनि आग्रह गरिएको छ । बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न उहाँले बताउनुभयो ।
ञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका डा. खतिवडाले अहिले लकडाउनको अवस्था नरहेकोले बढी जोखिम देखिएका वा संक्रमण बढ्दै गएका स्थानमा कडाई गर्ने र कम देखिएको स्थानमा खुकुलो गर्दै जाने गरी स्थानीय प्रशासनलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
मन्त्री खतिवडाका अनुसार लामो, मध्यम र छोटो दूरीका अन्तर जिल्ला सवारी साधन भने भदौ १६ गतेदेखि सूचारु हुनेछन् ।

