काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ–२६ की ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन्।
Advertisement
विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीहरू आइतबार साँझ मलेसिया जाने क्रममा तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको अवस्थामा पक्राउ परेका हुन्।
बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगेट तथा पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ रिंगेट बरामद भएको प्रहरीले जनाएको छ।
राष्ट्र बैंकको मापदण्डअनुसार ५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा लैजान पाइँदैन।
