काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न १५ बुँदे माग राख्दै सञ्चालन गर्दै आएको दबाबमूलक कार्यक्रम स्थगित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलपछि संघले गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने लगायतका घोषित कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको हो।
मन्त्रालयका मन्त्री र सचिवसहित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलमा संघले उठाएका अधिकांश माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियासँग सम्बन्धित रहेको जनाइएको छ। ती मागलाई संशोधन प्रक्रियामा समेट्दै वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन मन्त्रालय र संघले अधिकतम पहल गर्ने सहमति भएको छ।
छलफलमा व्यवसायीहरूले प्रमाण तथा आवश्यक कागजातसहित आफ्ना विषयवस्तु सम्बन्धित विभागमा पेश गर्न सक्ने र आवश्यक प्रशासनिक सहजीकरण गरिने बताइएको छ। विभागबाट समाधान नभएका विषयमा मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको समेत मन्त्रालयले जनाएको छ।
संघले छलफलबाट भएका सहमतिअनुसार आजैदेखि आफ्ना सबै दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
