जेरुसेलम, १ भदौ । अमेरिकाको समर्थन रहेको गाजा शान्ति योजना पुनः अघि बढाउने प्रयासस्वरूप हमासका नेताहरूसँग इजिप्टमा वार्ता गर्नुभएका अमेरिकी दूत जारेड कुसनरले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्नुहुने भएको छ । हमासले योजनाको पछिल्लो चरणप्रति समर्थन जनाए पनि नेतान्याहुले अस्वीकार गरेपछि कुसनरको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँसमेत रहनुभएका कुसनरले आइतबार इजिप्टको भूमध्यसागरीय सहर एल–अलामेनमा हमासका नयाँ नेता खलिल अल–हय्यासँग भेटवार्ता गर्नुभएको वार्ताबारे जानकारी भएका स्रोतहरूले बताएका छन् ।
वार्ताका क्रममा कुसनरले हमासलाई गाजालाई भविष्यमा इजरायलका लागि फेरि आतङ्कको स्रोत बन्न नदिने सुनिश्चित गर्न ठोस र प्रमाणित कदम चाल्न दबाब दिनुभएको स्रोतले जनाएको छ । हमासले भने शान्ति योजनाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको अर्को स्रोतले बताएको छ ।
हमासले मध्यस्थकर्ता देशहरू तथा ट्रम्पको प्रस्तावित शान्ति बोर्डलाई इजरायललाई योजना स्वीकार गर्न र कार्यान्वयनको समयतालिका तय गर्न दबाब दिन आग्रह गरेको छ ।
इजिप्टले सार्वजनिक गरेको तस्बिरमा अल–हय्या देखिनुभएन । तर कुसनरलाई बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसहित शान्ति बोर्डका सदस्यहरूसँग बसेर छलफल गरिरहेको देखाइएको छ । वार्तामा इजिप्टसँगै प्रमुख मध्यस्थकर्ता कतार र टर्कीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।
अमेरिकाले लामो समयदेखि आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण गरेको हमाससँग प्रत्यक्ष सम्पर्क गर्न अस्वीकार गर्दै आएको थियो । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो । तर युद्ध अन्त्य गर्ने प्रयासस्वरूप ट्रम्प प्रशासनले हमाससँग प्रत्यक्ष सम्पर्क बढाउँदै आएको छ ।
यसैबीच, इजिप्ट, कतार र टर्कीसहित जोर्डन, साउदी अरब, संयुक्त अरब इमिरेट्स, पाकिस्तान र इन्डोनेसियाले इजरायलले अमेरिकी शान्ति योजना अस्वीकार गरेकोमा आलोचना गरेका छन् । आठ देशले आइतबार संयुक्त वक्तव्य जारी गर्दै इजरायलको अस्वीकृतिले ट्रम्पको शान्ति प्रयासलाई नै जोखिममा पार्न सक्ने चेतावनी दिएका छन् ।
जवाफमा नेतान्याहुको लिकुड पार्टीले अरब राष्ट्रहरूले आगामी निर्वाचनमा उहाँलाई सत्ताबाट हटाउन खोजेको आरोप लगाएको छ । संयुक्त अरब इमिरेट्सको समर्थन भने विशेष महत्त्वपूर्ण मानिएको छ । उसले केही वर्षअघि इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्दै आर्थिक तथा रणनीतिक सम्बन्ध विस्तार गरेको थियो । यसलाई नेतान्याहुले आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ ।
गाजाका लागि शान्ति बोर्डका वरिष्ठ प्रतिनिधि निकोले म्लादेनोभले हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता हुन आवश्यक नरहेको आश्वासन दिनुभए पनि नेतान्याहुले अमेरिकी योजनाप्रति असहमति जनाउँदै आउनुभएको छ । बोर्डको प्रारम्भिक योजनामा भने हमासको निशस्त्रीकरणसँगै इजरायली सेना चरणबद्ध रूपमा फिर्ता हुने उल्लेख थियो ।
शान्ति प्रयास जारी रहे पनि गाजामा इजरायली सैन्य कारबाही रोकिएको छैन । नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलका अनुसार आइतबार इजरायली विमानले नुसिरातको पश्चिममा रहेको एउटा घरलाई निशाना बनाउँदा धेरै जना घाइते भएका छन् । इजरायली सेनाले इस्लामिक जिहादका लडाकूबाट उत्पन्न खतरा सामना गर्न नागरिक क्षति कम गर्ने प्रयास गरिएको जनाएको छ ।
खान युनिसको पश्चिममा विस्थापित मानिसहरू बसिरहेका पालमा इजरायली सेनाले गोली चलाउँदा पनि केही व्यक्ति घाइते भएका छन् । नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबारको गोलीकाण्डमा मारिएका बालक सुहेल शालुफको शवसमेत फेला परेको छ ।
गाजाको हमासअन्तर्गतको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर १० मा युद्धविराम लागू भएयता इजरायली कारबाहीमा कम्तीमा एक हजार २६२ प्यालेस्टिनीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले मन्त्रालयको मृतकसम्बन्धी तथ्याङ्कलाई विश्वसनीय मान्दै आएको छ । इजरायली सेनाले सोही अवधिमा आफ्ना पाँच सैनिक मारिएको जनाएको छ ।
(रासस/एएफपी)
