दोहा (कतार) । प्युठान सेवा समाज कतारले समुन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै ‘नवौँ अधिवेशन–२०२६’ सम्पन्न गरेको छ । शुक्रबार दोहास्थित प्लाजा मलमा रहेको जिम्बु थकाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा विशाल जिसी, द्वितीय उपाध्यक्षमा रबीलाल सुनार, तृतीय उपाध्यक्षमा रमेश केसी, महासचिवमा भोज पुन, सचिवमा साकुर जस्मिन, कोषाध्यक्षमा हरि खत्री र सह–कोषाध्यक्षमा भोजराज जिसी रहेका छन् ।
त्यस्तै सदस्यहरूमा अम्मरबहादुर केसी, बलबहादुर कुँवर, लेखबहादुर कुँवर, भरत कार्की, अर्जुन खड्का, हरि कुँवर, लक्ष्मण मगर, नाजिर मिया, रमेश जिसी, देवीराम भण्डारी, शंकर केसी र पार्वता केसी चयन भएका छन् । एक सदस्य पद रिक्त रहेकाले पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ । निर्वाचन समितिका संयोजक लीला जिसीले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
अधिवेशनमा कतारमा रहेका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले समाजले कतारसँगै प्युठानमा समेत सामाजिक तथा मानवीय क्षेत्रमा योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा गरे । कार्यक्रममा कतारबाट युरोप तथा अन्य मुलुकमा रोजगारीका लागि जाने क्रममा केही कन्सल्टेन्सीबाट हुन सक्ने ठगीबारे समेत चर्चा गर्दै वक्ताहरूले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सचेत रहन आग्रह गरे ।
कार्यक्रममा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । समाजका प्रमुख संरक्षक बलदेव रानाले प्रवासमा समस्या पर्दा सामाजिक संस्था ठूलो सहारा बन्ने बताउँदै कतारमा रहेका प्युठानीलाई समाजमा आबद्ध हुन आग्रह गरे ।
अधिवेशनमा कलाकार तथा पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष सीताराम सुनारले आफ्नो दुईवर्षे कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
