भीमप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
० राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय पार्टीस्कुलमा भाग लिन नवलपुरबाट आउनुभएका भीमप्रसाद शर्मालाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
:: नमस्कार ।
० आरामै हुनुहुन्छ ?
:: आरामै छ ।
० यो मध्यबर्खामा तपाईंजस्तो किसान मान्छे आफ्नो कृषिकर्म छोडेर यो कार्यक्रममा किन आउनुभयो ?
:: यो कार्यक्रम किसानको मात्रै होइन । हामीले यो दर्शन बुझ्न आवश्यक थियो । मुख्य कुरा त पार्टी नै हो । पार्टीलाई बुझेर मात्र वर्गीय सङ्गठनमा काम गर्न सकिन्छ । हामीले माक्र्सवादी दृष्टिकोण पनि बुझ्नुपर्छ । बुझ्दैबुझ्दै त आएका थियौँ तर यहाँ आएपछि हामी एकदमै स्पष्ट भयौँ । यो हाम्रो पार्टीले नै सञ्चालन गरेको क्लास हो । राष्ट्रिय जनमोर्चा अथवा नेकपा (मसाल) ले आयोजना गरेको यो १५ दिने प्रशिक्षण कार्यक्रमबाट हामी पूर्ण रूपमा स्पष्ट भएका छौँ । अब जिल्लामा फर्केर यहाँ पढेका कुराको आधारमा क्लास सञ्चालन गर्नेछौँ र जनतामा त्यसरी नै जानेछौँ ।
० अहिलेसम्मको १२ दिनको प्रशिक्षणमा तपाईंहरूले के के विषयमा प्रशिक्षण लिनुभयो ?
:: हामीले मुख्य रूपमा माक्र्सवादी दर्शन अथवा माक्र्सवाद–लेनिनवादसम्बन्धी ज्ञान हासिल गर्यौँ । माक्र्सवादी दृष्टिकोणअनुसार आफ्नो सोच र दृष्टिकोण पनि बदल्नुपर्छ भन्ने कुरा सिक्यौँ । त्यसैगरी आइकोरको सम्बन्धमा र वातावरणीय क्षेत्रका विषयमा दुर्गा खरेलजीले भन्नुभएका कुरा धेरै सिक्यौँ । ती सबै कुरा नोट गरिएका छन् । अहिले सबै याद नहुन पनि सक्छ ।
त्यस्तै, नौलो जनवादी क्रान्ति, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हाम्रो लक्ष्यका बारेमा छलफल भयो । लक्ष्यमा पुग्ने रणनीति र परिस्थितिअनुसार कार्यनीति बनाएर लागु गर्दै जाने पार्टीको धारणा हो । हामीले तिनै कुरा पढ्यौँ ।
० अहिलेसम्म दिइएका प्रशिक्षणमध्ये तपाईंको ध्यान अलि कम पुगेको वा प्रशिक्षणपछि बढी स्पष्ट भएको विषय कुन थियो ?
:: म २०४० सालमा अखिल (छैठौँ) को सदस्य बनेको थिएँ । त्यसपछि लड्दैभिड्दै विद्यार्थी जीवन बिताउने क्रममा २०४२ सालमा अलि भूमिगतजस्तै भएर भारत गएँ । त्यति बेला म अखिल (छैठौँ) र अखिल भारत नेपाली विद्यार्थी सङ्घको भेलामा गएको थिएँ । उता गएपछि एक वर्षसम्म कसैसँग सम्पर्क हुन सकेन । त्यति बेला फोन र चिठीपत्रको सहज सुविधा थिएन । पछि प्रमोद ढकाल (जो रुड्कीमा छात्रवृत्तिमा इन्जिनियरिङ पढ्नुहुन्थ्यो) सँग सम्पर्क भयो । त्यसपछि सङ्गठनमा काम गरियो ।
भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा रहेर काम गरियो । उता काम गर्न सजिलो हुन्थ्यो किनभने आठ घण्टा ड्युटी गरेपछि बाँकी समय पार्टी काममा दिन पाइन्थ्यो । यहाँ फर्किएपछि किसान भइयो । किसान मोर्चामा काम गर्न अलि गाह्रो हुँदो रहेछ । बैठकमा जान खोज्यो, भैँसीलाई पानी खुवाउने वा दुहुने समय भइदिन्छ, तैपनि त्यसलाई सहज बनाउँदै लगिएको छ ।
प्रशिक्षणका क्रममा पहिले पढेका कुराभन्दा अहिले थप स्पष्ट भइयो । दुइटा नयाँ कुरामा एकदमै प्रस्ट भयौँ । प्रथम– आइकोर सुभाष केसीले आइकोर र यसको सङ्गठनका बारेमा प्रस्ट पारिदिनुभयो । अब अरूले सोध्दा पनि स्पष्ट जबाफ दिन सक्ने भएका छौँ । द्वितीय– पर्यावरण वा जलवायु परिवर्तनबारे रेडियो समाचारमा जलवायु परिवर्तनबारे सुनेका थियौँ तर दुर्गा खरेल सरले यसलाई एकदमै छर्लङ्ग पारिदिनुभयो । यी दुई नयाँ विषय सिक्न पाइयो ।
० कहिलेकाहीँ प्रशिक्षणमा प्रशिक्षकले दिएका कुरा सहभागीले नबुझ्ने अवस्था पनि हुन्छ । तपाईंलाई त्यस्तो भयो कि भएन ?
:: त्यस्तो भएन । यहाँ सहभागी हुनेहरू धेरैजसो जिल्लास्तरमा काम गरिसकेका र बौद्धिक साथीहरू भएकाले बुझ्न गाह्रो भएन तर नगर वा तल्लो तहका साथीहरूलाई यी कुरा बुझ्न अलि कठिन हुन सक्छ । प्रशिक्षकहरूले हामीलाई जे सिकाउनुभयो, अब हामीले नगर, जिल्ला, टोल र वडामा गएर तल्लो तहका साथीहरूलाई विस्तृत रूपमा पढाउनुपर्छ । दिनहुँ पढाउँदै उनीहरूलाई परिपक्व बनाएर पछि यस्तै केन्द्रीय क्लासमा पठाउने वातावरण बनाउनुपर्छ ।
० यसपटक व्यावहारिक प्रशिक्षणको कुरा पनि आयो । त्यस्ता क्लास कसरी भइरहेका छन् ? तपाईंलाई पुरानै शैली लाग्यो कि केही फरक ?
:: पहिलेपहिले यस्तो व्यावहारिक क्लास दिइँदैनथ्यो । अहिलेको यो प्रशिक्षण कार्यक्रम त एउटा विद्यालयजस्तै हो, जहाँ हामी विद्यार्थी र उहाँहरू शिक्षकका रूपमा हुनुहुन्छ । व्यावहारिक क्लासमा प्रशिक्षकले १५ मिनेट विषयवस्तु प्रस्तुत गर्नुहुन्छ, त्यसपछि सहभागी १८ जनाले पाँच/पाँच मिनेट आफ्ना विचार राख्थ्यौँ । यसरी बृहत् छलफल हुन्थ्यो । अन्त्यमा प्रशिक्षकले सबैका कुरा समेटेर निष्कर्ष प्रस्तुत गरी विषयवस्तु छर्लङ्ग पार्नुहुन्थ्यो ।
० दोहोरो संवाद भएकाले प्रस्ट भयो ?
:: हो । दोहोरो संवाद भएकाले नै विषयवस्तु एकदमै छर्लङ्ग भयो ।
० तपाईं अखिल नेपाल किसान महासङ्घ (अप्फा) को प्रतिनिधि भएकाले प्रशिक्षणमा किसानका समस्या र तिनको समाधानबारे केही छलफल भयो कि भएन ?
:: किसानका बारेमा प्रशिक्षण दिन हाम्रा अध्यक्ष (भैरवराज रेग्मी) पनि आउनुभएको थियो तर प्रशिक्षणमा किसानका विषयमा खासै छलफल भएन । आगामी दिनमा किसानका बारेमा पनि क्लास भइदिएको भए अझ राम्रो हुन्थ्यो ।
० यहाँबाट फर्किएपछि जिल्लामा कसरी काम गर्ने सोच्नुभएको छ ?
:: यहाँबाट फर्किएपछि सुरुमा राष्ट्रिय जनमोर्चाको जिल्ला बैठक बसेर आफ्ना अनुभव र रिपोर्ट प्रस्तुत गर्नेछौँ । कमिटी गठन गरेर तल्लो तहमा जानेछौँ ।
म किसान मोर्चाको जिम्मेवारीमा भएकाले किसानकै माझ जानेछु । किसानको सबैभन्दा ठुलो समस्या मल र बिउको हो । खेती गर्ने बेलामा मल पाइँदैन । यसका लागि नगरपालिका जाने वा टोली बनाएर किसानमाझ जाने योजना छ । उनीहरूका समस्या सुन्ने, उनीहरूलाई सचेत गराउने र पार्टीको नीति, कार्यक्रम तथा सिद्धान्त बुझाएर राष्ट्रिय जनमोर्चामा गोलबद्ध गर्नेछौँ । यहाँ आउनुअघि पनि हामीले किसानका समस्याबारे जिल्ला प्रशासन कार्यालय (सिडिओ) मा ज्ञापनपत्र बुझाएका थियौँ ।
० तपाईंहरूले भन्ने गरेको नौलो जनवादी क्रान्ति प्रकारान्तले किसान क्रान्ति नै हो भनिन्छ । नेपालमा ६२ प्रतिशतभन्दा बढी किसान परिवार छन् । किसानलाई सचेत नगराई परिवर्तन सम्भव छैन । यो प्रशिक्षणले किसानलाई सचेत गराउन कत्तिको मदत गर्छ ?
:: पक्कै मदत गर्छ । प्रशिक्षणले हामीलाई जनतामा जाने मार्गदर्शन दिएको छ । किसान पनि जनता नै हुन् । चाहे राष्ट्रिय जनमोर्चाका हुन्, नेपाली कङ्ग्रेसका हुन् या नेकपा (एमाले)—सबै किसान जनता नै हुन् । हामीले उनीहरूलाई सम्झाएर बुझाउन सक्यौँ भने उनीहरू हामीतिर आउँछन् । पुराना दलहरूले ३६ वर्षसम्म के गरे ? भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गरेकै कारण आज नयाँ शक्ति वा राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता शक्ति अगाडि आउने स्थिति बनेको हो ।
० १२ दिनसम्म लिएको यही क्लासका आधारमा अप्फाको प्रशिक्षण सञ्चालन गर्न सम्भव छ कि छैन ?
:: हो, सम्भव छ । अप्फाको आफ्नै प्रशिक्षण हुन्छ । केन्द्रीय समितिबाट कसैलाई बोलाएर वा जिल्लास्तरमै मैले बुझेका कुरा समेटेर प्रशिक्षण चलाउनेछौँ । जबसम्म किसानलाई सम्झाएर एकबद्ध बनाउन सकिँदैन, तबसम्म नौलो जनवादी क्रान्ति सम्भव हुँदैन । किसानलाई प्रभाव पारेर क्रान्तिको धारमा ल्याउनु अनिवार्य छ ।
० यहाँबाट फर्किएपछि फरक ढङ्गले काम गर्न कुनै विशेष कार्ययोजना बनाउनुभएको छ ?
:: मुख्य कुरा नेकपा (मसाल) को राजनीति नै हो । पार्टीको जिल्ला कमिटी बैठक बसेर किसान मोर्चाका लागि कार्यनीति तय गरिन्छ । पार्टीको निर्देशन र नीतिकै आधारमा अघि बढ्ने हो, व्यक्तिगत मनमर्जी गर्न पाइँदैन । पार्टीको अनुशासन र केन्द्रीकृत प्रणालीलाई मान्नुपर्छ । पार्टीले जे निर्देशन दिन्छ, त्यही लागु गर्दै जाने हो । मेरो उद्देश्य पनि पार्टी निर्णयअनुसार जनता र किसानलाई शिक्षित तथा प्रशिक्षित बनाउनु हो ।
० अन्त्यमा, युगदर्शन मिडियामार्फत थप केही भन्न चाहनुहुन्छ ?
:: युगदर्शन मिडियाले हाम्रो पार्टीका सैद्धान्तिक कुरा, दुखी, किसान र मजदुरका आवाज उठाइरहेको छ । भ्रष्टाचारको भण्डाफोर गरिरहेको छ । यो धेरै राम्रो कार्य हो । त्यसैले युगदर्शन मिडियालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।
