कास्की, साउन २४ । पोखरामा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रममा आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति तथा सामाजिक न्यायका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रमको सञ्चालन नामबहादुर बाँठा मगरले गर्नुभएको थियो भने गण्डकी प्रदेश संयोजक डम्बरबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय सदस्य तिलबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै राष्ट्रिय जनमोर्चा (राजमो) गण्डकी प्रदेश अध्यक्ष शंकर बराल विशेष अतिथि रहनुभएको थियो ।
त्यसैगरी, राजमो पोखरा महानगर समिति सचिव हरिबहादुर खत्री, अनेरास्ववियु संघका सल्लाहकार मेघनाथ ढकाल, अखिल नेपाल महिला संघ कास्कीकी उपाध्यक्ष शान्ति गुरुङ, रक्तिम सांस्कृतिक अभियान कास्कीकी सदस्य अस्मी छन्त्याल तथा राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाललगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले आदिवासी जनजातिको मौलिक पहिचान, भाषा, संस्कृति र अधिकारको संरक्षणका लागि राज्य तथा सम्बन्धित पक्षले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । साथै, आदिवासी जनजाति समुदायले आफ्ना अधिकार र पहिचानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।
