महेश रिजाल, भालुबाङ ।
अखिल नेपाल जनजाति सम्मेलन राप्ती गाउँपालिका स्तरीय समितिको आयोजनामा बत्तिसौँ विश्व आदिवासी मनाइएको छ ।
केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङको प्रमुख आतिथ्यमा २०८३ साउन २४ गते (अगस्त ९) का दिन राप्ती गाउँपालिकाको बराखुट्टीमा सो कार्यक्रम मनाइएको हो ।
ब्यानर वाचन गरेर दिवसको उदघाट्नसँगै मनतव्य राख्दै उहाँले आदिवासी जनजातिको मुक्ति जातिवाद वा क्षेत्रीयतावादबाट नभई वर्गीय आन्दोलनबाट सम्भव भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘त्यसका लागि सम्पूर्ण सर्वहारा श्रमजीवी मजदुर, किसान, शोषितपीडित जनता अखिल नेपाल जनजाति सम्मेलनमा आबद्ध हुनुपर्ने आवश्यकताा छ ।
कार्यक्रममा अखिल नेपाल शिक्षक महासङ्घ लुम्बिनी प्रदेश परिषद् सदस्य डिलाराम पौडेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) दाङका उपाध्यक्ष माधव आचार्य, नेपाल मगर सङ्घ राप्तीका सचिव टिका बिएम, नेपाल मगर सङ्घ राप्ती–२ का अध्यक्ष शिव राना, ८१ वर्षीय जनजाति अग्रज टेकबहादुर कुमाल, जनजाति सम्मेलन गढवा गाउँपालिका समितिका अध्यक्ष ओमबहादुर घर्तीमगर र प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिवालय सदस्य महेश रिजाललगायतले मन्तव्य राख्नुभएको थियो ।
जनजाति सम्मेलन राप्ती गाउँपालिका समितिका अध्यक्ष दलबहादुर घर्तीको अध्यक्षता तथा जिल्ला समिति दाङका सचिव मनबहादुर पुनको स्वागत मन्तव्यसँगै अघि बढेको उक्त कार्यक्रमको सञ्चालन जिल्ला सदस्य सुन्दरप्रसाद चौधरीले गर्नुभएको थियो ।

