जनकपुरधाम । मधेस प्रदेशअन्तर्गतको यातायात व्यवस्था कार्यालय, जनकपुरमा नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नवीकरण सेवा करिब तीन सातादेखि अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्।
कार्यालयका अनुसार यातायात व्यवस्था विभागको सर्भर मर्मत तथा नयाँ प्रणाली (सफ्टवेयर) जडान गर्ने कार्य भइरहेकाले असार २९ गतेदेखि नयाँ लाइसेन्स वितरण र नवीकरण रोकिएको हो। हाल कार्यालयले सवारी कर संकलनको सेवा मात्र सञ्चालन गरिरहेको छ।
कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार विभागको सर्भरबाट प्रदेशका डाटा स्थानान्तरण तथा नयाँ प्रणाली स्थापना भइरहेकाले सेवा प्रभावित भएको हो। प्राविधिक समस्या केन्द्रबाट समाधान हुन नसक्दा काममा ढिलाइ भएको उनले बताए।
सेवा अवरुद्ध हुँदा लिखित परीक्षा र ट्रायल उत्तीर्ण गरेका आवेदक तथा नवीकरण गर्न आएका सेवाग्राही प्रभावित भएका छन्। रोजगारका लागि लाइसेन्स आवश्यक पर्ने युवादेखि म्याद सकिन लागेका चालकसम्म समस्यामा परेका छन्।
मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रंजित कुमार यादवले पुरानो प्रणाली हटाएर थप प्रभावकारी डिजिटल प्रणाली विकास भइरहेको बताए। उनका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि नवीकरण अनलाइनबाटै गर्न सकिने र सेवाग्राहीले पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुनेछ। उनले साउन महिनाभित्र समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।
