काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीका कारण राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाएका छन्।
पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनादेशविपरीत काम गरिरहेको दाबी गरे। संविधान निर्माणमा भूमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति जिम्मेवार बन्नुपर्ने उनले बताए।
श्रेष्ठले प्रधानमन्त्री बालेन साहले संसद्मा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसलाई झुट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती टिप्पणी गरे। उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले आत्मालोचना नगरेको तथा सत्तारुढ दलका नेताहरूले त्यसलाई समर्थन गरेको विषय थप चिन्ताजनक भएको उनको भनाइ थियो।
उनले सरकारले समाजलाई विभाजित गर्दै राज्यलाई फाँसीवादउन्मुख दिशातर्फ धकेलिरहेको तथा संविधान संशोधनका नाममा लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए।
श्रेष्ठले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि सबै देशभक्त तथा वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।