वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच टर्किएसँग अमेरिकाको सम्बन्ध तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल भएको छ।
यस साताको नाटो शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले टर्किएलाई एफ–३५ लडाकु विमान बिक्री गर्ने सम्भावनाबारे विचार गरिरहेको बताएका थिए। यद्यपि, उनले यस विषयमा अन्तिम निर्णय भने गरिनसकेको स्पष्ट पारे।
टर्किए र इजरायलबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ। नेतन्याहूको कार्यालयका अनुसार उनले ट्रम्पलाई टर्किएलाई अत्याधुनिक एफ–३५ विमान बिक्री नगर्न आग्रह गरेका छन्। उनका अनुसार यस्तो निर्णयले इजरायलको सुरक्षामा प्रतिकूल असर पर्न सक्छ।
नेतन्याहूको कार्यालयले ट्रम्पले इरानसँग जारी तनावका बीच अमेरिकी गतिविधिबारे पनि जानकारी गराएको जनाएको छ।
यसैबीच, गाजा युद्धपछि अमेरिकी नागरिकहरूमा इजरायलीप्रतिको सकारात्मक धारणा उल्लेखनीय रूपमा घटेको नयाँ सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणअनुसार सन् २०२२ मा ६७ प्रतिशत अमेरिकीले इजरायली जनताप्रति सकारात्मक धारणा राखेका थिए भने अहिले यो संख्या घटेर ५२ प्रतिशतमा पुगेको छ। यद्यपि, प्यालेस्टिनीप्रतिको अमेरिकी धारणा भने तुलनात्मक रूपमा स्थिर रहेको पाइएको छ।
सर्वेक्षणले इजरायल सरकार, प्यालेस्टिनी प्राधिकरण र हमासप्रति अमेरिकीहरूको बहुमतले नकारात्मक दृष्टिकोण राखेको पनि देखाएको छ। विशेषगरी इजरायल सरकारप्रतिको असन्तुष्टि पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको उल्लेख गरिएको छ।
३० वर्षभन्दा कम उमेरका अमेरिकीहरूमाझ ५८ प्रतिशतले प्यालेस्टिनीप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् भने ३२ प्रतिशतले मात्र इजरायलीप्रति सकारात्मक धारणा राखेका छन्।
युवा डेमोक्र्याट समर्थकमध्ये ७२ प्रतिशतले प्यालेस्टिनीप्रति सकारात्मक दृष्टिकोण व्यक्त गरेका छन् भने २६ प्रतिशतले मात्र इजरायलीप्रति सकारात्मक धारणा राखेका छन्। युवा रिपब्लिकन समर्थकमाझ पनि प्यालेस्टिनी र इजरायलीप्रतिको समर्थन लगभग समान स्तरमा पुगेको सर्वेक्षणले देखाएको छ, जुन केही वर्षअघिको अवस्थाभन्दा उल्लेखनीय परिवर्तन हो।