चेन्नई । भारतको तमिलनाडु राज्यको डिन्डिगुल–त्रिची राष्ट्रिय राजमार्गमा अन्तरजातीय विवाह गरेकी एक युवतीलाई उनका परिवारजनले जबरजस्ती अपहरण गरेका छन् ।
दलित समुदायका अजीत कुमारसँग विवाह गरेकी पिछडिएको वर्गकी चित्रावल्लीलाई परिवारले कारमा हालेर लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
अजीत कुमारका अनुसार उनी, उनकी श्रीमती, आमा र भाइ प्रहरी चौकीबाट घर फर्किरहेका बेला चित्रावल्लीका दाजुभाइ तथा आफन्तहरूले उनीमाथि आक्रमण गरी जबरजस्ती कारमा राखेर लगे। रोक्न खोज्दा अजीत र उनकी आमामाथि पनि दुर्व्यवहार भएको बताइएको छ।
घटनापछि अजीतले तत्काल प्रहरीमा उजुरी दिएका थिए। मोबाइल ट्र्याकिङका आधारमा प्रहरीले करिब ढाई घण्टाभित्र चित्रावल्लीलाई उनकी हजुरआमाको घरबाट सकुशल उद्धार गरी श्रीमान्कहाँ फर्काएको थियो।
प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि अपहरण, धम्की, मानव बेचबिखनसम्बन्धी कसुर तथा अनुसूचित जाति/जनजाति अत्याचार निवारणसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
अजीत कुमारका अनुसार अन्तरजातीय विवाहका कारण चित्रावल्लीको परिवारले विवाह स्वीकार नगरेको थियो र घटनापछि पनि दम्पतीले निरन्तर धम्कीको सामना गरिरहेका छन् ।