ईश्वरलाई विभिन्न भाषा, धर्म, देश, जाति, सम्प्रदाय आदिमा फरक–फरक नामले चिन्ने वा मान्ने गरेको पाइन्छ । कोही ईश्वर, कोही भगवान, कोही परमात्मा आदि नामले मान्ने गर्दछन् । कतिपय धार्मिक सम्प्रदायमा ईश्वर एक छन् भन्ने छ भने कतिपयमा अनेक छन् भन्ने मान्यता छ । हिन्दु धर्म सम्प्रदायमा त ३३ कोटि भगवान र त्यतिकै मात्रामा देवीहरू पनि छन् भन्ने मान्यता छ । त्यसको साथै विभिन्न जातजातिमा आआफ्नै इष्टदेवदेवी भएको मान्दछन् । ठाउँ विशेषअनुसार ईश्वरलाई देवीदेवता पनि भनिन्छ । जसको ठाउँ विशेषअनुसारै मान्ने, पूजाआजा गर्ने, पूजाआजा गर्ने विधि, तिनीहरूलाई बलि दिने विधि फरक–फरक हुन्छन् र बलि दिने जनावर पनि फरक–फरक हुन्छन् । उपवास बस्ने तौरतरिका पनि फरक–फरक छ । फरक–फरक परिवेशअनुसार उनलाई खुसी बनाएमा आफ्नो र आफ्नो परिवारको रक्षा हुने र उनलाई रिसाउने वातावरण सिर्जना बनाए उनी रिसाई व्यक्तिलाई र उसको परिवारलाई दुःख दिने वा अनिष्ट गरिदिन्छन् भन्ने मान्यता राख्दछन् ।
धर्म प्रचारकका अनुसार ईश्वरले नै यो विश्व ब्रह्माण्ड, चराचर जगत्को सृष्टि गरेका हुन् । अझ सरल भाषामा भन्दा सौर्यमण्डल, तारामण्डल, आकास, हावापानी, मानिसलगायत सम्पूर्ण जीवजन्तु, कीटपतङ्ग यथारूपमा उनैले सृष्टि गरेका हुन् भन्ने मान्यता राख्दछन् र आम मानिसमा विश्वास भरिदिन आंशिक रूपमा सफल पनि भएका छन् । अझ भन्नु पर्दा पृथ्वीमा दिनरात हुनु, आकाश गर्जनु, हुरीबतास चल्नु, चट्याङ पर्नु, हिउँ, असिना पर्नु आदिका साथै मानिस वा जीवजन्तु जन्मनु वा मर्नु र हरेक प्राणीको जीवनभर वा मृत्युपश्चात् पनि जे जति घटना हुन्छन् भनिएको छ, यो सबै ईश्वरको खटनपटन हो, उनैको इच्छाको कारण हो र उनको इच्छा विपरित पृथ्वीलगायत यो विश्व ब्रह्माण्डमा कुनै कुराको पनि सम्भावना नै छैन भन्ने मान्यता छ । अझ यसो भनौँ, यस लोकका सम्पूर्ण प्राणी उनैका सन्तति हुन् भन्ने मान्यता छ ।
मानिस मात्रले मान्दै अएका प्रमुख भगवान कुन हुन् भन्ने विषयमा धर्म मान्ने मानिसबिच पनि मतैक्य छैन । बुद्धमार्गीहरू बुद्धलाई प्रमुख सृष्टिकर्ता भगवान मान्दछन् । मुस्लिम अल्लाहलाई, क्रिस्चियन, यशुखृष्टलाई आदि आदि । हिन्दुहरूमा त झनै विचित्र छ । यसभित्र विभिन्न धार्मिक सम्प्रदाय छन् । तिनीहरूले आआफ्ना ठुला ईश्वर भएको विश्वास गर्दछन् । कसैले ब्रह्मालाई, कसैले विष्णुलाई, शिव (महादेव) लाई त कसैले कृष्णलाई सर्वशक्तिमान ठान्दछन् । यसैअनुसारका कथा निर्माण गरी आफूले मानेको भगवान सर्वश्रेष्ठ भएको र अन्य त्यस मातहतका भएको अथवा प्रमुख भगवानको केही अंश भएको कथा निर्माण गरेका छन् । यिनै कथामा आम मानिस अन्धभक्त भएर विश्वास गर्ने गर्दछन् । अनि, त्यसैलाई आफ्नो आस्था वा धर्म भएको मान्दछन् र आफू त्यसैको अनुयायी भएको ठान्दछन् ।
मानिस एक चेतनशील एवम् कल्पनाशील प्राणी हो । मानिसले विकासको सुरुवातमा यस पृथ्वीमा घट्ने घटनाको बारेमा सोचविचार गर्न थाल्यो । चेतनाको विकास त्यति भइनसकेको कारणले ती घटनाको वैज्ञानिक र वास्तविक यथार्थ उत्तर पाउन सकेन । त्यस्ता घटनाको कारणको वास्तविकता थाहा नभएपछि ती घटना कुनै महाशक्तिको कारणले गर्दा घटिरहेका छन् भन्ने अनुमान गर्न थालियो । त्यस काल्पनिक शक्तिसँग आलापविलाप गर्न थालियो, ता कि त्यो शक्तिले आफनो कुभलो नगरोस् । त्यसैबाट त्यो काल्पनिक शक्तिलाई ईश्वर वा भगवान मान्न थालियो । त्यसपछि धर्मको उत्पत्ति भयो ।
बलि दिने सन्दर्भमा आकाश गड्याङगुडुङ गर्दा, बिजुली चम्कदा, आँधीबेहरी आउँदा भगवान रिसाए भनेर आफ्ना सन्तानको बलि दिन थालियो । पछि तिनै सन्तानको माया लाग्न थाल्यो र उनको सट्टा कुनै कमजोर वा गरिब वा दुुखी व्यक्तिको बलि दिन थालियो । कालान्तरमा आफूले पालेका पशुपन्छीको बलि दिन थालियो । बलि दिने परम्परा आजसम्म पनि कायमै छ ।
काल्पनिक महाशक्ति, जसलाई ईश्वर बनाएर मानिसका विभिन्न झुण्ड बन्ने क्रम जारी भयो । त्यसैलाई आफ्नो आस्थाको धर्म भन्न थालियो । त्यसपछि स्वर्गनर्कका कुरा सुरु भए । आआफ्ना झुण्डका नीतिनियम बन्दै गए । जो व्यक्ति आफ्नो झुण्डमा आउँदैन र आएर पनि नियम मान्दैन, त्यसलाई ईश्वरले कठोर दण्ड दिन्छन् । अनि मृत्युपश्चात् पनि कथित नर्कमा लगेर दुःख दिन्छन् । जसले आफूले भनेका नियम मान्छन्, तिनीहरूलाई सुखशान्ति र स्वर्ग प्राप्त हुन्छ भन्ने लोभ र डरको आधारमा धार्मिक प्रपञ्चलाई अगाडि बढाइयो । धर्मको उत्पत्तिसँगै हरेक मानिसलाई कुनै न कुनै झुण्डमा सामेल हुनका लागि बाध्य बनाइयो । त्यस धर्म भन्ने चिजलाई यसरी जोडियो कि कुनै पनि व्यक्ति उम्कनै नसक्ने भयो र यसलाई पारिवारिक घटना, समाज, शिक्षा, संस्कार, संस्कृति एवम् बोलीभाषासँग मिलाइयो, जसको चङ्गुलबाट कोही पनि उम्कन नपाओस् । संस्कार, संस्कृति एउटा पक्ष हो र धर्म अर्को पक्ष हो भन्ने सोच्नसमेत दिइएन । यतिसम्म कि व्यक्तिले आफूले कडा परिश्रम गरेर प्राप्त गरेको सफलता वा उपलब्धिमा पनि ईश्वरकै हात रहेको कुरा बताउन पछि परेनन् ।
समाज उत्पत्तिको क्रममा राज्यको उत्पति भयो । मानिसमा वर्ग देखा पर्न थाले । राजा र रैती, शोषक र शोषित वर्ग देखा पर्न थाले । राजा र धर्म प्रचारकले पाप र पुण्यको डर देखाएर शोषण गर्ने काममा लागिरहे । यो जन्ममा मात्र नभएर पुनर्जन्मको समेत डर देखाई धार्मिक गुरुलगायतलाई सेवा तथा आर्थिक दान दिनुपर्ने बनाइयो । यतिसम्म डर फैलाइयो कि मानिसलगायतको शरीरमा लाग्ने रोगब्याधिसमेत ईश्वरको कारणको रूपमा हेर्न थालियो । ईश्वरको कृपा भए रोगब्याधि निको हुन्छ, नत्र भने मृत्यु हुन्छ भन्ने भ्रम फैलाइयो । मानिसलाई ठगी गर्नका लागि देवीदेवताको नाममा तन्त्रमन्त्र गरी रोग निको गराउनेजस्ता कुरा गराइयो । यिनै कुराको आधारमा भुतप्रेत, मसान, बोक्सी आदिको नाममा डराउने काम भयो । ग्रहदशाका कुरा गरेर मानिसलाई पूजाआजा गराई ठग्ने कामको सुरुवात भयो । वाल्यावस्थादेखि यस्ता कुरा व्यक्तिको दिमागमा भरिदियो कि ऊ चाहेर पनि उम्कन नसक्ने भयो । यिनै कुराको फाइदा उठाएर धार्मिक गुरुले अनेक प्रपञ्च गर्न लागे । यहाँसम्म कि मानिसलाई स्वर्ग जान जिउँदै अग्निकुण्डमा हाम फाल्न लगाइयो । श्रीमान्को मृत्यु भई चितामा जल्दा श्रीमती जिउँदै सँगै जल्नुपर्ने, धार्मिक गुरुको मलमुत्र सेवन गरे स्वर्ग जान सकिन्छ भन्ने भ्रम फैलाइयो । ईश्वर र धार्मिक गुरुको बारेमा कुनै प्रश्न गर्नै नपाइने, प्रश्न उठाए यस जीवनमा मात्र नभई अर्को जन्ममा समेत दुःखकष्ट भोग्नुपर्नेजस्ता अन्धविश्वास धर्मको नाममा फैलाइयो ।
सोह«ौँ शताब्दीपछि मानिसको चेतनामा धेरै परिवर्तन आयो । विज्ञानको विकास हुँदै गयो । औद्योगिक क्रान्ति, कृषि क्रान्ति आदि हुँदै समाज अगाडि बढ्यो । यो विश्व ब्रह्माण्डको बारेमा अध्ययन–अनुसन्धान हुन थाल्यो र भौतिक वस्तुको सुक्ष्म रूपको अध्ययन हुन थाल्यो । मानिस हरेक घटना÷परिघटनाको तथ्यका कारण पत्ता लगाउन र लाग्न थाले । विभिन्न प्राकृतिक शक्ति (उर्जा) को बारेमा अध्ययन–अनुुसन्धान भएर धेरै सत्य तथ्य पत्ता लाग्दै गए । अहिलेको युगसम्म आइपुग्दा संसार काफी हदसम्म बोधगम्य भएको छ । अध्ययन–अनुसन्धान गर्ने हो भने सम्पूर्ण कुराको सत्य तथ्य पत्ता लाग्न सक्दछन् भन्ने पत्ता लागिसकेको छ । संसार कुनै सुपरशक्तिले सञ्चालन गरेको होइन, यो त प्रकृतिको उपज हो भन्ने तथ्य पत्ता लागिसकेका छन्, जसको कारण विज्ञान र प्रविधिले विश्वमा ठुलो क्रान्तिकारी परिवर्तन ल्याएको छ । तर अझै पनि त्यही सुपरशक्तिको आडमा आफ्ना धार्मिक क्लब सञ्चालन गर्ने र जनतालाई दिग्भ्रमित पार्र्दै शोषण गर्ने, दङ्गाफसाद गर्ने धार्मिक क्लबको अझै कमी छैन । वास्तवमा यस विश्व ब्रह्माण्डमा ईश्वर नामको कुनै सुपरशक्ति छैन । न त कुनै अदृश्य अन्य शक्ति छ, जुन मानिससँग रिसाओस् वा खुसी होस्, जसको पूजाअर्चना, दानदातव्य वा बलिले खुशी पार्नुपरोस् ।
महान् वैज्ञानिक आइन्स्टाइनको पनि भगवानसम्बन्धी यस्तो विचार छ ः “मेरो विचारमा भगवान केही पनि होइन तर मानिसको कमजोरीबाट उत्पन्न भएको एउटा शब्द हो । बाइबल आदर गर्नलायक त छ, जुन प्राचीन कथाको सङ्ग्रह हो । जुनसुकै प्रकारको व्याख्याबाट त्यो जतिसुकै रहस्यमय किन नहोस्, त्यसले मानिसको विचारलाई बदल्न सक्दैन ।” उनले जुन रहस्यमय व्याख्याको कुरा गरेका छन्, त्यो बाइबलको कुरा हो, जसले बुद्धिमान मानिसका विचारलाई बदल्न सक्दैन । अन्य धार्मिक ग्रन्थबारे पनि यो कुरा सत्य हो ।
महान् दार्शनिक कार्ल माक्र्सले त धर्मलाई अफिमको नसासँग तुलना गरेका छन्, जुन नसामा लट्ठिएपछि मानिसले अन्य सोचविचारै गर्न छाड्छन् र त्यसैमा उनीहरू आफ्नो अधिकार र कर्तव्य सबै बिर्सन्छन् । अर्का विश्वप्रसिद्ध महान वैज्ञानिक स्टेफन हकिङ, जसले ब्रह्माण्डको खोज गरे, उनले ब्ल्याकहोलजस्ता अनेकौँ रहस्य पत्ता लगाए, जसले ग्रान्ड डिजाइन नामको किताबमा ब्रह्माण्डको रहस्यको खोज गरियो, दुनिया ईश्वरले बनाएको होइन । यसको रचना आफसेआफ भएको हो भन्ने कुरा उल्लेख गरेका छन् ।
गौतम बुद्ध, जसलाई बौद्धमार्गीहरू सृष्टिकर्ताकै रूपमा मान्दछन्, हिन्दुहरू विष्णुको अवतारको रूपमा मान्दछन्, उनले “ईश्वरको विषयमा छलफल गर्नु भनेको समयको बर्वादी मात्र हो” भनेका छन् । हुँदै नभएको चिजमा बहस गर्नु समयको खर्च मात्र हो भनेर आजभन्दा लगभग २६ सय वर्षपूर्व नै उनले भनेका थिए । यसैगरी नेल्सन मण्डेलाका अनुसार “मानिसलाई मुर्ख बनाउने सबभन्दा शक्तिशाली हतियार धर्म हो ।”
अन्ततः ईश्वरका वा कुनै शक्तिद्वारा यो जगत्को सृजना भएको भन्ने कुरा भ्रम मात्र हो र यो संसार क्रमशः आफै उत्पत्ति भएको हो । प्राकृतिक अनुकूलताको कारण पृथ्वीमा जीवनको सम्भावना भएको हो । प्राकृतिक देनबाट यो सुन्दर संसारको सृष्टि भएको हो । मानिसले खोज–अनुसन्धान गरेर प्राकृतिक उर्जा पत्ता लगाउन सक्यो र आफ्नो सुविधाका लागि प्रयोग गरिरहेको छ । यस उर्जालाई प्राणीको कल्याणका लागि प्रयोग भइरहेका छन् । यसो हुनु असाध्य राम्रो कुरो हो । तसर्थ ईश्वर नामको काल्पनिक शक्तिसँग भ्रमित हुनु आवश्यक छैन ।