हिजो पुरानामै थिए,
लुट्नुसम्म लुटे र लुटाए,
भ्रष्टाचार अनि राष्ट्रघातमा रमाए।
लुट्न कहाँ पाइन्छ भनी
फरक–फरक पार्टी समाए।
आज पुरानाले लुटे भनेर
भाष्य निर्माण गराए—
अवसरवादीहरूले ।।।
आज तिनै भ्रष्टहरू,
हिजो लुट्न सघाउनेहरू,
कथित स्वतन्त्रमा समाहित भए,
नयाँ बने भन्दैछन्—
“पुरानाले छत्तीस वर्ष खाए,
देश कंगाल बनाए।”
अवसरवादीहरूले ।।।
हिजो लुट्ने पनि उनै हुन्,
आज लुट्ने पनि उनै हुन्।
हिजो भएका राष्ट्रघाती सम्झौताहरू
खारेज गर्नुपर्ने कुरा गर्दैनन्।
हिजो भएका भ्रष्टाचार र बेथितिको
अन्त्य गर्नुपर्ने आवश्यकता देख्दैनन्।
हिजोका गल्ती देखाएर
आज झन् ठूलो राष्ट्रघात गर्छन्।
भ्रष्टाचार गरी आज पनि
कथित नयाँको नाममा
लुट्न पाउनुपर्छ भन्ने
भाष्य निर्माण गरेका छन्—
अवसरवादीहरूले ।।।
फरक यति हो—
हिजो आधा लुटे, आज पूरा लुट्दैछन्।
हिजो आधा सम्झौता गरे, आज पूरा गर्दैछन्।
हिजो आधा बेचे, आज पूरा बेच्दैछन्—
अवसरवादीहरूले ।।