२०७६ चैत्र ११ गते अप्ठ्यारो दिनको सुरुवात भएको थियो । दिन एउटै र उही, तर पनि अनुभूति फरक–फरक । मृत्युको भय सबैलाई भए पनि त्यो पनि फरक–फरक हुँदो रहेछ । पीडा सबैलाई उस्तै हुन्छ गुमाउनुको । जोसँग धेरै छ, गुमाउनुको चिन्ता पनि उसैलाई धेरै हुने नै भयो । डरसँगै आएको कहरको बिचमा गुमाउनेको प्रकृति पनि फरक–फरक भए । प्रेम र घृणा दुवै पीडाका कारक हुन् । प्रेमले आशक्ति बढाउँछ । त्यही प्रेम गरेको चिज गुमाउनुको पीडा अधिक हुन्छ । घृणाले क्रोधलाई जन्म दिन्छ र क्रोधले अन्त्यको कामना गर्दछ । यसको प्रकृति नै पीडादायक हुन्छ ।
यही दुई वटैको बिचमा गुमाउनुको वास्तविकता सबैको अगाडि चलचित्र भएर आयो । संसार ढाकेर आएको यो कहर सबैको नौलो अनुभव भयो । केही दिन सबैले मृत्युको सम्मुख पुग्नै आँटेको ठाने । कसैले पैसाको अगाडि कोरोना पनि डराउने ठाने । तर पनि पीडाको शास्वत रूप त्यो लोभ र क्रोध मानवीय स्वभाव रहिरह्यो । कहरमै पनि कसैले अझै पैसा कमाउने रहर गरे । एकको माललाई चार पनि ठोके । तर पनि मरिन्छ कि भनेर मास्कले नाकमुख छोपिरहे ।
छिमेकीलाई पनि दुई बित्ता जमिनको लोभ लाग्यो । नवराज विकलाई प्रेमको भोक मेटाउने लोभ जाग्यो । प्रेमिका खोज्दै प्रेमिकाकै गाउँ पुगे । छिमेकी बाटो खन्दै वरै आइपुग्यो । व्यापारी पनि नाफा अधिक खोज्दै ठाउँमै पुगे । तृष्णाको अगाडि रोगको केही लागेन । धेरैले जीवनको अन्त्य नै ठानेर होला, भोलि बिर्सिएजस्तै गरेर आजै गर्नुसम्म गरे । घृणाले नवराज विक र साथीको ज्यान लियो । घृणा, प्रेम र तृष्णा सबैको परिणाम उस्तै अन्त्य हुन थालेका छन् । प्रेम देखाउने चिज हुन थालेको छ । प्रेम देखाएर तृष्णा मेटाउनेको सङ्ख्या अधिक हुन थालेको छ ।
कसैलाई धनको तृष्णा, कसैलाई नामको तृष्णा, कसैलाई यौनको तृष्णा । सबैको तृष्णा मेटाउने माध्यम देखावटी प्रेम हुन थालेको छ । प्रेम र करुणा जताएर राहतमा आँखा लाउनेहरू दानवीर बनेर फेसबुकमा फोटा अपलोड गरेर नाम र दाम दुई वटैको तृष्णा मेटाउने प्रयत्न पनि भए । वातावरण नै यस्तै भएर होला, प्रेम नक्कली भयो । तृष्णा सक्कली हुँदै आयो । यसैको परिणाम भन्नुपर्छ, छिमेकीको नजरमा आफ्नै भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालीको आवत्जावत्लाई घुसपैठ देख्न थाले । हिजोको मोदीप्रेम नाङ्गिँदै असली रूप देखिन थाल्यो । हिँजो गौतम बुद्ध भारतमै जमिएका हुन् भनेर नेपालकै स्कुलमा समेत अहिलेसम्म झुटो कुरा पढाइरहेको मोदी सरकार, हाम्रा प्रधानमन्त्रीले राम र अयोध्या नेपालकै माडी र ठोरी हो कि भनेर उत्खननका कुरा गर्दा पनि तिनीहरूका आँखा तिल्मिलाएका छन् । सीमा शर्त, परम्परा र प्रोटोकल र पद्धति बिर्सिएर स्यालहुइयाँ मच्चाएका छन् । हिँजो नेपाली नेतृत्वको चुल्होसम्मै पुगेको भारतीय संयन्त्र आज आँगनबाहिर नै पुगेको ठानेर होला, सबै कुरा चिनियाँ परिपञ्च ठान्दछ । नेपाली होइन, चाइनिज बोलेको मान्दछ ।
कुनै बेला संसार सबैको घर भनेर ग्लोबलाइजेसनका कुरा गरेर संसार चहारेर, लुटेर साम्राज्यवादीहरू फेरि रूप बदलेर अतिराष्ट्रवादको खोल ओढ्न थालेका छन् । ट्रम्प र मोदी दुवै जना नायक भएका छन् । अतिराष्ट्रवादको ढोङ गर्न थालेका छन् । दुवै अतिराष्ट्रवादी देखिन खोजेका छन् । छिमेकी सबै दुश्मन बनाउन थालेका छन् । नेपालमा प्रचलित एउटा उखान छ– अति सर्वत्र बर्जयते । यस्तै हुन थालेको छ ।
अमेरिका बाँकी विश्वबाट एक्लो हुँदै गएको छ । भारत छिमेकीबाटै बहिष्कृतको बाटोमा छ । यहाँ अधिक तृष्णाले अहम्को बाटो समाएको छ । अधिक अहम् पनि विनासको मार्ग हो । नीति, विचार र सिद्धान्तबाट टाढै बसेका दुवै आफ्नै विचार र स्वार्थलाई सर्वोपरि ठानेका छन् । विश्वलाई फेरि अधिनायकवादमा फर्काउने सङ्केत गरेका छन् । यसैको प्रभाव होला, हाम्रा प्रधानमन्त्री पनि यही पथमा हिँड्न खजेका छन् । जनमत र जनहित विपरीत महाकाली सन्धिजस्तै ह्विप लगाएरै भए पनि एमसिसी पास गराउने भगिरथ प्रयासमा लागेका छन् । मृत्युसँग अस्पतालमा लड़ाइँ गर्दै गर्दा पनि एमसिसी बिर्सन सकेनन् । जनताले घृणा गरेको एमसिसी ट्रम्प–ओली सम्बन्ध प्रेममा बदल्ने सूत्र बनाउन खोजेका छन् । ट्रम्पप्रेमको तृष्णा बढाएका प्रधानमन्त्री ओली पनि अधिनायकवादको बाटो समातेका छन् ।
नीतिसिद्धान्तलाई तिलाञ्जली दिएका ओलीलाई माधव–प्रचण्डको नक्कली प्रेमजालले तर्साएको छ । ओली पनि अतिराष्ट्रवादको बाटो हिँड्न थालेका छन् । मनोगत भएका छन् । प्रचण्ड–माधव नेपालको प्रेमले ओलीको मनमा घृणा जन्माएको छ । ओली अब नेकपाको होइन, नेकपा ओलीको बनाउने बाटोमा हिँडेका छन् । पार्टीपद्धति लत्याएका छन् । केन्द्रीय समिति र स्थायी समिति उनकै कारण बेरोजगार भएको छ । पार्टी र सरकार ओली एक्लै चलाएका छन् ।
बेरोजगारको सत्तामोह पनि हराएको छैन । रोलक्रम सत्र भाइमा सरेजस्तै हुने हो कि ? चिन्ता बढेको छ । ओलीप्रेम हराएको छ । भाग टेबलमा पुगेको छैन । विवाद नीति, विचार र सिद्धान्तमा छैन, भागवण्डाकै कारण उत्कर्षमा पुगेको छ । पार्टी हिजो पनि देश र जनताको हितका लागि एकीकरण भएको थिएन र आज पनि हैन भन्ने छताछुल्ल भएको छ । हिजो मिलिजुली खानुपर्छ भनेर जोडिएका पार्टी आज भान्सेकै कारण विभाजनको मुखमा पुगेका छन् । नक्कली प्रेम सक्कली घृणालाई जन्म दिएका छन् । यसरी प्रेम विश्वास, आस्था र निष्ठा सबै नक्कली घृणा, लोभ, घात/अन्तर्घात सबै सक्कली भएको छ । यसको परिणाम हाम्रो राजनीति, समाज, हाम्रो देश सबै कुरा गोलचक्करमै फसेको छ ।
वर्षैपिच्छे क्यालेन्डर फेरेर नयाँवर्षलाई स्वागत गरे पनि हाम्रो देश, राजनीति र अवस्था सबैका सबै यथास्थितिबाट पर र माथि जान सकेको छैन । प्रेम सक्कली हुँदाहुँदै घृणा पनि सक्कली भइदिँदा जातीय विभेदको शिकार हुन नवराज विक छोडेका छैनन् । हिजो समानताका लागि भनेर लडेका पार्टी र क्रान्ति नै नक्कली भएको पुष्टि भएको छ । त्यसैले होला, राजु सुदले विभेदको शिकार भएर मृत्युवरण गरेर पनि लोभीपापीलाई चुनौती दिइरहेका छन् । चितवनका चेपाङ, सर्वहाराकै नाम बेचेर गरिबलाई मुक्तिको सपना देखाएर । तिनै भावनालाई भ¥याङ बनाएर सत्तारोहण गरेका कमरेडकै निर्देशनमा बर्खेझरी केही छिन रोकिएको मौका छोपेर बस्ती जलाइएका छन् । ती सक्कली गरिब लोपोन्मुख चेपाङको सक्कली चित्कार नक्कली कमरेडको कानसम्म नक्कली भएर पुगेको छ । कमरेड बयान दिँदै छन् । चित्कार नक्कली छ । त्यही पीडामा मल्हम लिएर प्रेम देखाउने नेताको मल्हम पनि अस्ति नक्कली भएको गरिब भए पनि ती चेपाङ दाजुबहिनीलाई थाहा नभएको हैन ।
अधिक तृष्णाले सधैँ भ्रमलाई यथार्थ देखाउँछ । त्यसैले मरुभूमिको यात्री सधैँ अगाडि भ्रमको पोखरीलाई यथार्थ मानेर कुद्ने गर्दछ । २००७ सालदेखि परिवर्तनको आशा गरेर नवीन व्यवस्थाका लागि बलिदानी गरिरहेका जनताले सधैँ व्यवस्था परिवर्तन गरिरहे । व्यवस्था फेरिरहे तर पनि सामाजिक न्यायसहितको समानता, सुशासन र समृद्धिको सपना, सपना मात्रै भयो, यथार्थ कहिले आएन । नेपालको राजनीतिले सधैँ मरुभूमिको यात्रा गरायो, पानीसहितको पोखरीसम्म कहिल्यै पुराउन सकेन । जति हिँडे पनि पोखरी सधैँ अझै पर सरिरह्यो । राणा फाल्यो, प्रजातन्त्र ल्यायो । पञ्चायत फाल्यो, फेरि प्रजातन्त्र, जनयुद्ध, गणतन्त्र । जनताको शासन जनताकै लागि पुस्ता फेरियो, अवस्था फेरिएन ।
अब समाजले पनि भ्रमलाई यथार्थ मान्ने बानी पारिसकेजस्तै भएको छ । काङ्ग्रेस झिक्यो, कम्युनिस्ट पठायो । पालैपालो भाग लाइदिएजस्तो भएको छ । सबै कुरा स्वीकार्य हुन थालेको छ । कुनै बेला जन्मकैद सुनाएको अदालत फेरि सजाय माफ गरेर अपराधीलाई पुरस्कृत गर्दा पनि निको लाग्न थाल्यो । बलात्कारपछि हत्या गरेर मिल्काइएका निर्मलाको चित्कार सुन्दा पनि सामान्य लाग्न थाल्यो । चेपाङका बस्ती जलुन् या राजु सुदजस्ता भोकै मरुन्, फरक लाग्न छोडिसक्यो । भ्रष्टाचारीले महल ठडाउन या उद्घाटन गर्दै गर्दा पुल भत्किउन्, केही फरक पर्न छोडिसक्यो । सबै कुरा स्वीकार्य भइसक्यो । अब बानी परिसक्यो ।
स्वीकार्यता दासताको प्रतीक हो । भक्तिको मार्ग हो । भक्तिको मार्गमा विश्वास मात्र हुन्छ । त्यहाँ विद्रोहलाई ठाउँ हुँदैन । अस्वीकार्यतालाई ठाउँ हुँदैन । भक्तिमा शङ्का हुँदैन । सत्ताले खोजेको यही मुर्दाशान्ति हो । यहाँ आवाज हुँदैन । पदचाप सुनिँदैन, मात्र शान्ति हुन्छ । न प्रेम न घृणा मात्र सून्य । न अघि न पछि । यसैलाई सधैँ सत्ताले सत्य मान्ने गर्दछ । उन्मादमा खुशी मान्ने गर्दछ । अहिले यस्तै भएको छ ।
समय चलिरहन्छ । पुस्ता फेरिन्छ । चराको चिर्बिर आवाज सुनिन थाल्दछ । त्यही शान्तिभित्र विद्रोहको बिउ अङ्कुराउन थाल्दछ । सङ्घर्षको रूप फेरिन्छ तर मेटिँदैन । इनफ इज इनफलाई यसैको एउटा रूपमा लिन सकिन्छ । परिवर्तनको मार्गमा अप्ठ्यारो अवश्य आउँछ तर परिवर्तन रोकिँदैन । सत्ताको बेथितिले जन्माउने घृणाले विद्रोहको आगोमा घ्यु थप्ने गर्दछ । आशा गरौँ, नयाँ पुस्ता नयाँ भरोसा लिएर आउने छ । परिवर्तनको मसाल फेरि बल्ने छ । स्वाधीन राष्ट्र नेपाल सामाजिक न्यायसहितको समानता र समृद्धिको बाटोमा छिट्टै लम्किने छ । घृणाले जन्मिएको विद्रोहले परिवर्तन ल्याउने छ । सक्कली प्रेम र सद्भावको विकास गर्ने छ । नयाँ संस्कार र संस्कृतिको निर्माण हुने छ । परम्परा तोडिने छन् । सबैको प्रवृत्ति फेरिने छन् ।