काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमालले सामाजिक सञ्जालमार्फत नेपाल–भारत सीमा विवाद र अतिक्रमणका विषयमा विस्तृत विचार सार्वजनिक गरेका छन् ।
उनले आफ्नो फेसबुक स्टाटसमा सीमा सम्बन्धी बहसहरूमा प्रायः प्रयोग हुने दुई शब्द—“सीमापार अतिक्रमण” र “राज्य–प्रायोजित भू–अतिक्रमण”—लाई एकै अर्थमा बुझ्ने गरिए पनि यी दुई पूर्ण रूपमा फरक प्रकृतिका विषय भएको उल्लेख गरेका छन् ।
हामालका अनुसार सीमापार अतिक्रमण प्रायः सरकारभन्दा स्थानीय नागरिकको गतिविधिसँग सम्बन्धित हुन्छ । नेपाल–भारत खुला सीमाका कारण दुई देशका नागरिकबीच शताब्दीयौँदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले नदीको धार परिवर्तन, सीमा स्तम्भ हराउने वा क्षतिग्रस्त हुने, तथा बस्ती विस्तारजस्ता कारणले यस्ता समस्या देखिने बताएका छन् । उनका अनुसार यस्ता घटनाहरू रणनीतिक विस्तार नभई भौगोलिक र प्रशासनिक प्रकृतिका समस्या हुन्, जसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुन्छ ।
तर राज्य–प्रायोजित भू–अतिक्रमण भने पूर्णतः फरक प्रकृतिको हुने उनले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो अवस्थामा कुनै राष्ट्रका राज्य संरचनाहरू नै विवादित भूभागमा नियन्त्रण विस्तार गर्न सक्रिय हुन्छन्—जसअन्तर्गत सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन, सरकारी नक्सा संशोधनजस्ता कार्यहरू पर्छन् ।
हामालले यस सन्दर्भमा कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन्। उक्त क्षेत्रलाई उनले राज्य–स्तरीय नियन्त्रण विस्तारको विवादित उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् ।
उनको स्टाटसमा आजको अनिश्चित विश्व राजनीतिक परिस्थितिमा नेतृत्वकर्तामा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक हुने उल्लेख गर्दै त्यस्तो गुणको अभावले राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने चेतावनीसमेत दिइएको छ ।