नेपालगञ्ज । कल्पना फाउन्डेसन नेपालको आयोजनामा कल्पना पौडेल ‘जिज्ञासु’ को सातौँ कृति ‘अग्निस्पन्दन’ कवितासङ्ग्रह तथा ‘विवश आमा’ गीत सार्वजनिक भएको छ ।
२०८३ जेठ १५ गते शुक्रबार बाँकेको नेपालगञ्जस्थित उद्योग वाणिज्य हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्राडा कृष्णप्रसाद घिमिरे, विशिष्ट अतिथिहरू सनत रेग्मी, डा. हरि तिमिल्सिना, महानन्द ढकाल र नरेन्द्रजङ्ग पिटर हुनुहुन्थ्यो ।
फाउन्डेसनकी अध्यक्ष पौडेलको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत मन्तव्यसँगै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

‘अग्निस्पन्दन’ कवितासङ्ग्रहभित्रका ५२ ओटा कवितामध्ये कतिपय कविता प्राडा घिमिरे, पिटर, ढकाल, सुमित्रा न्यौपाने, विष्णु पादुका, मीना बराल र ममता रावलले वाचन गर्नुभएको थियो।
फाउन्डेसनका सचिव लेखप्रसाद प्याकुरेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
साहित्यका विविध विधामा कलम चलाउने पौडेलको सातौँ कृति ‘अग्निस्पन्दन’ ऐरावती प्रकाशन काठमाडौँले प्रकाशन गरेको छ ।
त्यस्तै ‘विवश आमा’ गीतमा पौडेलकै शब्दरचनालाई रियाज शिवाकोटीको सङ्गीत र चर्चित गायिका बेनिसा पौडेलले स्वर दिनुभएको छ ।