काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पत्रकारका प्रश्नको जबाफ नदिने गरेको आरोप लागेको छ, खासगरी भारतबाहिरका पत्रकारका प्रश्नको । भारतमा त उनीमाथि “गोदी” मिडिया कायम गरेको आरोप छ ।
प्रधानमन्त्री मोदीले युरोप भ्रमणको क्रममा पत्रकारका प्रश्नको उत्तर नदिएको विषयमा विवाद छ । विवाद बढ्दै जाँदा भारतीय विदेश मन्त्रालयले स्थिति स्पष्ट गरेको छ । प्रधानमन्त्री मोदीको भ्रमणबारे सरकारले जबाफ दिनुपरेको यो दोस्रो घटना हो ।
नर्वेका प्रधानमन्त्री युनास कमबगार स्टोरसँगको संयुक्त पत्रकार सम्मेलनमा एक महिला पत्रकारले प्रधानमन्त्री मोदीलाई मिडियाका प्रश्नको उत्तर दिन आग्रह गरिन् तर मोदीले कुनै प्रश्नको उत्तर दिएनन् । युरोपेली देशको भ्रममा पुगेका विदेशी नेतालाई पत्रकारले प्रश्न सोध्ने पुरानै परम्परा छ ।
नर्वेकी पत्रकार हेल लिङले पनि विदेश मन्त्रालयको ब्रिफिङमा मानवअधिकारको विषयमा प्रश्न सोधेकी थिइन् । विदेश मन्त्रालयका एक वरिष्ठ जना अधिकारीले त्यसको उत्तर दिँदै भारत एक सभ्य राष्ट्र भएको बताए ।
यसअघि ओस्लोस्थित सरकारी गेस्ट हाउसमा मोदी र नर्वेका प्रधानमन्त्री स्टोरको पत्रकार सम्मेलन सकिएपछि लिङले एउटा प्रश्न सोधेकी थिइन् ।
हेल लिङले सोधेकी थिइन्– ‘प्रधानमन्त्री मोदी, तपाईं विश्वका स्वतन्त्र प्रेसका प्रश्नको उत्तर किन दिनुहुन्न ? सरकारका लागि तपाईं विश्वासयोग्य हुनुहुन्छ ?’ यो प्रश्नमा प्रधानमन्त्री मोदीले कुनै उत्तर दिएनन् ।
हेलको प्रश्नबारे लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री मोदीको आलोचना गर्दै उनी प्रश्नसँग डराएको बताए ।
मोदीको द नेदरल्यान्ड्स भ्रमणमा पनि स्थानीय पत्रकारले पत्रकार सम्मेलनमा प्रश्न सोध्ने मौका नदिएको विषयमा आपत्ति जनाएका थिए ।
त्यस्तै प्रश्न जर्मनी भ्रमणमा पनि उठेको थियो । प्रधानमन्त्री मोदी सन् २०२२ मा जर्मनीको भ्रमणमा गएका थिए । त्यस बेला जर्मनीमा ओलाफ सोल्ट्स चान्सलर थिए । जर्मनीमा कुनै विदेशी नेताले चान्सलरलाई भेटेपछि मिडियाका अगाडि पत्रकारका प्रश्नको उत्तर दिने चलन छ तर मोदीको भ्रमणमा त्यस्तो भएन ।
त्यसपछि जर्मन प्रसारक डिडब्ल्यूका प्रमुख अन्तर्राष्ट्रिय सम्पादक रिचर्ड वाकरले यो मुद्दा उठाए । लगत्तै उनले एक्समा लेखे– ‘मोदी र सोल्ट्स अब बर्लिनमा पत्रकारसमक्ष उपस्थित हुने कार्यक्रम छ । दुई सरकारबिच १४ सम्झौता घोषणा गरिनेछ यद्यपि भारतीय पक्षको अनुरोधमा एउटा पनि प्रश्न लिइने छैन ।’
त्यसपछि डिडब्ल्यूले समाचारमा लेख्यो– ‘मोदी र सोल्ट्सको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारलाई प्रश्न सोध्न दिइएन । विवरणअनुसार यो निर्णय प्रधानमन्त्री मोदीको अनुरोधमा गरिएको हो ।’
जर्मनी भ्रमण गरेको एक वर्षपछि जुन २०२३ मा मोदी अमेरिकाको भ्रमणमा गए । तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडनसँगको पत्रकार सम्मेलनमा मोदीले पत्रकारका दुईओटा प्रश्नको उत्तर दिए ।
मोदी किन पत्रकार सम्मेलन गर्दैनन् ?
मे २०२४ मा ‘इन्डिया टुडे’ सँगको अन्तर्वार्ताको क्रममा मोदीलाई पत्रकार सम्मेलन नगर्ने उनको शैलीबारे सोधिएको थियो । मोदीले त्यसमा विस्तृत जबाफ दिएका थिए ।
उनले भने– ‘सत्तामा बस्नेले धेरैजसो सञ्चारमाध्यमलाई आफ्नो पक्षमा प्रयोग गर्छन् । यो एउटा संस्कृति नै बनेको छ । उनीहरूलाई आफूले केही गर्नुपर्दैन, मात्र मिडिया प्रयोग गरे पुग्छ भन्ने लाग्छ । म त्यो बाटो पछ्याउन चाहन्नँ ।’
मोदीले आफूले ‘नयाँ कार्यसंस्कृति सुरु गरेको’ दाबी गरेका थिए अनि उनले सञ्चारमाध्यमविनै पनि जनतासँग पुग्न र सीधा संवाद गर्न सकिने बताएका थिए ।
भारतमा विशेषज्ञता हासिल गरेका फ्रान्सेली राजनीतिशास्त्री क्रिस्टफ जाफ्रलोले ‘द डिप्लोम्याट’ पत्रिकासँग भनेका छन्– ‘मोदी पत्रकार सम्मेलन वा खुला छलफल स्वीकार गर्दैनन् किनभने उनका तर्कले त्यस्तो भारतलाई चित्रण गर्छन्, जुन वास्तवमा अस्तित्वमा नै छैन ।’
मोदीले आकर्षक छवि र मिथकले भरिएको एक प्रकारको काल्पनिक संसार सिर्जना गरिरहेको जाफ्रलोको दाबी छ । मोदी चीनको आक्रामकता र भारतमा व्याप्त बेरोजगारीजस्ता मुद्दाबारेका प्रश्न सुन्न नचाहने उनी बताउँछन् ।
जाफ्रलो भन्छन्– ‘यसैले मोदीको लागि सञ्चार एकतर्फी प्रसार हुन आवश्यक भएको छ ।’
(बिसिसीको सामग्रीमाथि आधारित)