काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति व्यङ्ग्य गर्दै भनेका छन्– ‘इजरायलमा चुनाव लडेँ भने प्रधानमन्त्री बन्न सक्छु ।
मङ्गलबार ट्रम्प र नेतान्याहुमाझ भएको करिब एक घण्टा लामो टेलिफोन संवादको क्रममा यस्तो दाबी गरिएको हो ।
यस क्रममा ट्रम्पले इजराइलमा आफ्नो लोकप्रियता ९९ प्रतिशत रहेको दाबी गरे ।
‘आवश्यक परे इजरायली प्रधानमन्त्रीको चुनाव पनि लड्न सक्छु’ उनले व्यङ्ग्यमिश्रित भावका साथ भने– ‘नेतन्याहूले म जे भन्छु, त्यही गर्नेछन् । उनी राम्रो नेता हुन् ।’
ट्रम्पले इरान युद्धलाई अन्त्य गर्ने प्रस्ताव गरिरहँदा नेतान्याहुले त्यसलाई अस्वीकार गरेपछि यस्तो वार्तालाप भएको थियो ।
सिएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेतान्याहुले इरानमाथि सैन्य कारबाही जारी राख्नुपर्ने अडान लिएका छन् भने ट्रम्पले हाललाई कूटनीति र सम्झौताको मौका दिन चाहेका छन् ।
वार्ताको क्रममा नेतान्याहुले ट्रम्पलाई इरानमाथि प्रस्तावित हमला रोक्नु गल्ती भएको बताए । उनले सैन्य दबाब कायम राख्न जोड दिए तर ट्रम्पले भने कतार, साउदी अरब र युएईजस्ता खाडी देशको अनुरोधमा यो निर्णय लिएको बताए ।
ट्रम्पले भने– ‘गम्भीर वार्ता चलिरहेको छ र ठुलो सम्झौता हुन सक्छ ।’
इरानको नौसेना, वायुसेना र धेरैजसो पूर्वाधार समाप्त भइसकेको दाबी गर्दै ट्रम्पले भने– ‘अब प्रश्न यो हो, हामीले पूरै समाप्त पार्ने कि इरानले सम्झौतामा हस्ताक्षर गर्ने ?’
अमेरिकामा विरोध
यता, अमेरिकामा इरान युद्ध विरुद्ध प्रदर्शन बढ्दो छ । वासिङटन डिसीमा पूर्व सैनिकले ट्रम्पको नीति विरुद्ध प्रदर्शन गरेका छन् । डेमोक्रेट सांसदहरू ट्यामी डकवर्थ र टिम केन पनि सहभागी थिए ।
ट्रम्पले हाललाई कूटनीतिलाई प्राथमिकता दिए पनि इरानले आफ्नो माग (परमाणु कार्यक्रम, मिसाइल र प्रोक्सी समूह) नछोडेमा ठुलो हमलाको चेतावनी दिएका छन् ।
हर्मुज स्ट्रेट अझै इरानको नियन्त्रणमा छ, जसले तेल मूल्य बढाएको छ । स्थिति अझै तनावपूर्ण छ । वार्ता सफल हुन्छ कि युद्ध अझै चर्किन्छ, विश्वले पर्खिएर बसेको छ । (एजेन्सी)