मधु क्षेत्री
वर्षदिनको तिज आयो, देशको हालत यस्तो छ–२
मनमुटु भक्कानिएर आउँछ बरिलै–४
देशैभरि हत्या, हिंसा, बलात्कारको बिगबिगि–२
हत्यारालाई जेलमुक्त गर्यो बरिलै–४
न्यायालयको गरिमालाई झोलीमा राखेर–२
अपराधिलाई जेलमुक्त, गर्यो बरिलै–४
कहाँ गएर न्याय पाउनु हेर दिदीबैनी हो–२
हक–अधिकार लिनलाई उठौँ बरिलै–४
शोषक सामन्त जाली फटाहा,इनैको छ रजाई–२
यस्तो शासन फाल्नलाई,उठौं बरिलै–४
भोलि यिनै हत्यारालाई सदस्यता दिएर–२
संसदमा पठाउने छन् हेर बरिलै–४
न्यायालयमा न्यायनिसाप हराइसक्यो देशमा–२
नारीपुरुष एकजुट भई लडौँ बरिलै–४
जबसम्म स्वतन्त्र र स्वच्छ समाज आउँदैन–२
तबसम्म नारी मुक्ति हुन्न बरिलै–४
मिहिनेतकश ज्यालादारी ज्यामी सबै मिलेर–२
तोड्नुपर्यो सामन्तका जन्जिर बरिलै–४
जनवादी व्यवस्थाको स्थापना गर्नलाई–२
न्यायप्रेमी स्वाभिमानी उठौं बरिलै–४
जबसम्म हाम्रो आफ्नो व्यवस्था आउँदैन–२
तबसम्म हाम्रो मुक्ति हुन्न बरिलै–४
सङ्घीयताले ढाडै सेक्यो नेपाली जनताको–२
खारेज गर्न सबै मिली उठौँ बरिलै–४
भ्रष्टाचारले सीमा नाघ्यो कति चुप्प बस्ने हो–२
समानताको लडाइँमा लागौँ बरिलै–४
(लेखक रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार हुनुहुन्छ)