काठमाडौं । धरहराको ११ औँ तलाको ढलान सकिएको छ । बुधबार ११ तलाको ढलान सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
Advertisement
प्राधिकरणका अनुसार अब १२ औं तलाको काम सुरु भएको छ । धरहरा पुनर्निर्माणका लागि अहिले झण्डै २ सय ६० जना कामदार खटिएका छन् । लकडाउन हटेपछि धरहराको काम धमाधम भैरहेको पनि प्राधिकरणले जनाएको छ ।
झण्डै ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको नयाँ धरहरा पहिलाको धरहरा भन्दा चौडा हुनेछ । पुरानो धरहरा झण्डै साढे ४ रोपनी क्षेत्रफलमा थियो । धरहरामा दुई वटा लिफ्ट पनि हुनेछ । भित्रबाट २२ तलाको हुने धरहरा बाहिरबाट भने बेसमेन्ट सहित ११ तलाको हुनेछ ।
धरहरा पुनर्निर्माणको समग्र कामको अहिलेसम्मको प्रगति भने ४० प्रतिशत पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले बताउनुभयो ।