मेघराज भट्टराई ##
नेपालको वर्तमान अवस्था आज एकाएक आएको होइन, यसलाई मलजल गर्न राज्यसत्तामा पुगेका राजनीतिक दलहरूले महत्त्वपूर्ण भूमिका खेले । उनीहरूकै कारण विदेशी शक्तिकेन्द्र नेपाललाई रणमैदान बनाउने दाउमा लागेको धेरै वर्षदेखि लागेका थिए ।
आइएमएफ, युएसआइडी, विश्व बैङ्कजस्ता आइएनजिओ नेपाल भित्रिएर देशको सम्पूर्ण सूचना राख्न कथित ठुला राजनीतिक दलका शीर्ष नेतृत्व उपल्लो दर्जाका कर्मचारी सुरक्षा निकाय न्यायाधीश र कथित व्यापारी माफियासँग घुलमिल गरे । सँगै बस्ने, पार्टी खाने, सुरासुन्दरी उपलब्ध गराउने, आन्तरिक कमीकमजोरी बुझेर यो देशमा जातीय, भाषिक, धार्मिक द्वन्द्व गराउन लगानी गरे ।
यही बुझेर नेकपा (मसाल) ले सुरुसुरुमा आइएनजिओमा जोडिन रोकेको थियो । पछि केही उपाय नलागेपछि खुल्ला गरेको हो । त्यो बेलामा पार्टी अनुशासन मानेर बस्न नसकेका अरू पार्टीतिर गएका घटना धेरै छन् । पार्टीले २०४६ सालको जनआन्दोलनको बेला संविधानसभाको मुद्दा उठाएको थियो । यो बेला सबैको आँखाको कसिङ्गर बन्यो नेकपा (मसाल) । तत्कालीन माओवादीले सशस्त्र सङ्घर्ष गर्दा अहिले हाम्रो वस्तुगत अवस्था तयार भएको छैन ।
यसले नेपालको कम्युनिस्ट आन्दोलन सयौँ वर्ष पछि जानेछ भनेर असहमति जनायो । यो कुरा आज प्रमाणित भयो । हामी आज नेपालको वामपन्थी आन्दोलन कहाँ छ ? सबैले आत्मसमीक्षा गर्न पर्ने कि नपर्ने ? २०६२–६३ पछि अन्तरिम संविधानमा सङ्घीय व्यवस्था घुसाइयो ।
हामीले त्यति बेला नै भनेका थियौँ, यो देशको साधनस्रोतले सङ्घीय व्यवस्था धान्दैन । यही कारण देश आज ३० खर्ब रुपियाँ बराबर ऋणमा पुगेको छ । त्यति बेला हामीमाथि साङ्घातिक हमलासम्म गरियो । आज देशको प्रत्येक नागरिकले सङ्घीय व्यवस्था काम छैन भन्छन् । यस्तै कुरा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले संसद्मा रोस्ट्रमबाट बङ्गलादेशको जस्तो बाढी नेपालमा पनि आउनेछ, त्यो बाढीले कसैलाई नछोड्ने कुरा गर्नुभएबाट स्पष्ट छ ।
यसपटक गलत नेता, नेतृत्व पाखा लाग्ने कुरासम्म हामीले बुझौँला तर कहिल्यै सरकारमा सहभागी नभएको नेपाल मजदुर किसान पार्टीसम्म कसरी अपराधी बन्यो जबकि भक्तपुरमा नेमकिपाले के गर्न बाँकी थियो होला ? चितवन भरतपुरमा रेणु दाहालले राम्रो काम गरेकी थिइन् । अरू त छोडौँ नेपाली जनताले १८ घण्टे लोडसेडिङबाट मुक्त गर्न केही भए पनि व्यवस्थापन कुलमानले गरेको कुरा त यथार्थ हो नि अनि राजु पाण्डेसँग पराजित कसरी हुनुपर्यो ? आज नेपालका सात सय ५३ पालिकामध्य अरू पालिका प्रमुखको कहीँ कतै नाम नआउने खालि बालेन साहको मात्र प्रचार किन ? गोपी हमाल कुन कारणले बालेनभन्दा खराब कसरी ?
रवि लामिछानेलाई केपी ओली र प्रचण्डले त गृहमन्त्रालय सुम्पेका होइनन् ? हिँजो त कङ्ग्रेस, एमालेले ‘जालसाजी’ गरेर फसाए रे आज त उनीहरू छैनन् । किन रवि लामिछाने देशका विभिन्न जिल्लामा मुद्दा छन् ? रवि लामिछानेले आफैले होइन र बिगो तिरेको ? बिगो किन तिरिन्छ ? यतिसम्म बुझ्न नसकेपछि यो देशमा रास्वपाले कसरी सुशासन कायम गर्ला ? चोर सय चोर्ने पनि चोर हो, करोड चोर्ने पनि चोर नै हो । एमाले, कङ्ग्रेस, माओवादी, राप्रपा ठिक छन् भन्ने होइन तर रवि स्वच्छ छन् भन्ने पनि होइन ।
जेलभित्र खतरा भएको तर्क दिने मान्छेले यत्ति कुरा किन भन्न सक्दैनन् कि गाडीको हुट खोलेर विजय जुलुस जसरी जेलबाट भागेको कुरा कति सही हुन्छ ? के त्यहाँ खतरा थिएन ? भदौ २३ गतेको घटनामा स्कुले बालबालिकालाई कसले आन्दोलनमा लगेको थियो ? के राज्यसत्ता परिवर्तन ती अवोध बालबालिकाको योजना थियो ? के ती अबोध बालबालिकासँग राष्ट्रिय सम्पदा धरोहरमा आगो लगाउने बुता थियो ? अन्तर्राष्ट्रिय सभागृह जलाउने योजना ती अबोध बालबालिकाको थियो ? संसद् भवनमा आगो लगाउने काम राज्यलाई मान्य हुने हो ? यदि भने भोलि फेरी कसैले आगो नलगाउला भन्न सकिन्छ ? त्यस बेला प्रशासन नतमस्तक बन्छ कि बलप्रयोग गर्छ ? सिंहदरबार केवल सिमेन्ट ढुङ्गा, माटो, बालुवा, गिट्टी मात्र हो कि त्यो अन्तर्राष्ट्रिय सम्पदामा सूचीकृत भएको धरोहर हो ? हिजोआज जहाँ देख्यो, त्यहीँ प्रहरीमाथि आक्रमण भएका छन् । के नेपालीलाई प्रहरी नचाहिने हो ? त्यसो भए राज्यसंयन्त्र कसरी चल्ने हो ? आज हाम्रा राष्ट्रिय सम्पदा जलाउने मान्छे सांसद भएर गएका छन् । भोलि ती व्यक्ति मन्त्री पनि होलान्, ती अपराधीसँग विदेशी कूटनीतिक आयोगका ब्यक्तिले सम्मान गर्लांन् ? जस्तो कि अग्नि सापकोटा सभामुख भएपछि भएको थियो । हामी आफ्नो राष्ट्रप्रति जिम्मेवार कहिले बन्ने हो ?
अस्ति नेकपा (मसाल) को पत्रकार सम्मेलनमा चित्रबहादुर केसीले बोलेका कुरा ससाना क्लिप बनाई सामाजिक सञ्जालमा राखेर गाली गरेको पनि देखियो । राष्ट्रिय जनमोर्चा मूल, प्रवाह अखिल भारत नेपाली एकता समाजका साथी र नेपाल–भारत बाहेकका देशमा रहेर कार्यरत नेपाली एकता समाजका साथीहरूले सम्म चित्रबहादुर केसीको शाब्दिक अर्थ नबुझी प्रतिक्रिया दिएको पनि भेटियो । आफूलाई चित्त नबुझे प्रतिक्रिया दिने कुरालाई हामीले अन्यथा मान्नु हुँदैन तर अमेरिका, अस्ट्रेलिया, युरोपजस्ता देशमा काम गर्ने या अध्ययन गर्न गएका हाम्रा छोरानाती एल्गोरिदमको जालोभित्र परेको कुरा त सत्य हो । त्यो देशभित्रका नागरिक पढेका–नपढेका नाबालक, युवा, प्रौढ वा वृद्धासम्मले गाउँघरमा प्रचारप्रसार गर्न जाँदा घण्टी बजाउँदै हाम्रो विरोध गरेको हामीले नदेखेको हो र ?
मान्छेबाट गल्ती हुन सक्छ तर आसाय त्यो होइन भन्ने कुरामा म ढुक्क छु । विदेशबाट छोराछोरीले घण्टीमा मत नदिए सम्बन्ध सकिनेसम्मका कुरा नआएको भने होइन तर सबैले त्यही गरे भन्ने होइन । हाम्रो मुख्य कुरा के हो भन्दा जनताले सधैँ सही निर्णय गर्छन् भन्ने पनि छैन । सिक्किम बहुमतकै आधारमा भारतमा विलय भएको थियो । सत्य कुरा एक्लो हुन पनि सक्छ तर सधै सत्यको साथ छोड्नु हुँदैन । राष्ट्र पहिलो हो, बाँकी तपसिलका कुरा हुन् ।