लक्ष्मण बेलबासे ##
भर्खर चुनावी नतिजा आएको छ । सरसर्ती हेर्दा परिणामको सन्देश प्रष्ट देखिन्छ– परिवर्तन । पुराना चाहिँदैन, नयाँलाई स्वागत । तीव्र आशा, शीघ्र समृद्धि । अभिमतले नयाँमाथि धेरै आशा राखेको छ र भरोसा पनि तर नयाँले समृद्धिको न कुनै आधार पस्किएको छ, न त मार्गचित्र नै दिएको छ । न त सुशासन र समृद्धिको स्पष्ट खाका । फेरि पनि अभिमतले गर भनेर निर्देशनात्मक कार्यभार नयाँको काँधमा हालिदिएको छ ।
अब बन्ने सरकारलाई बहाना बनाउने कुनै पनि छुट दिएका छैनन जनताले । आफ्नो बाचा पक्का गरेका छन् । करारनामा नै दिएका छन् । यी कार्यभार नयाँले कसरी बहन गर्लान् ? त्यो निकट भविष्यले देखाउने नै छ ।
नतिजा हेर्दा विचारभन्दा लोकप्रियता हाबी भएको छ । विचार र वादको राजनीति गर्नेलाई जनताले रुचाएको देखिएन । जनताले योगदानभन्दा पनि नयाँ र लोकप्रियता हेरेको प्रष्ट देखिन्छ तर सर्सर्ती हेर्दा पपुलिस्टले सकारात्मक परिणाम दिएको कहीँ पाइँदैन । चाहे त्यो पाकिस्तानका क्रिकेटर इमरान खान हुन् या युक्रेन हास्यकलाकार जेलेन्सकी—दुवैलाई सफल मानिँदैन । कामना गरौँ, हामीकहाँ त्यस्तो हुने छैन । पुराना भनिने दलका सबै विरासत भत्किएका छन् । जनताको चाहनाअनुरूप नै सरकारले काम पनि गर्नेछ । आशा गरौँ, आत्तिने र मात्तिने पक्कै छैन ।
हुनलाई हरेक चुनावमा जनताले मत बदलिरहेको इतिहास रहेको छ तर पनि यसपालिको नतिजा अलि अनपेक्षित नै आएको छ । जित्नेले पनि यो तहको सफलताको अपेक्षा गरेजस्तो पाइँदैन भने हार्नेको पनि यति धेरै कमजोर परिणाम आउला भनेर अनुमान नै गर्न नसकेको देखिन्छ ।
२०१५ सालदेखि अहिलेसम्मै त्यो निरन्तर भएको छ । यसपालि पनि एउटै अनुहारको निरन्तरता नचाहेको देखिन्छ । हुन त यसमा अनेक फ्याक्टरले काम गरेका छन् । सायद यसमा दृष्टिथकान पनि मिसिएको छ । यस्तो दृष्टिथकान हामीकहाँ मात्र हैन, मलेसियालगायत अन्य देशमा पनि भएका छन् । विकासमा अग्रणी भूमिका निभाएका महाथीरको पनि अन्त्यमा लज्जाजनक हार भएको थियो । जनताले बेला ेला अनपेक्षित निर्णय गर्दछन् ।
जनताले व्यक्तिभन्दा पनि अझ लोकप्रियता रुचाएका छन् । भारतमा पनि अलि पहिले यस्तै केही भएको थियो ।
भारतका अनुभवी र प्रभावशाली नेता हेमावतीनन्दन बहुगुणा । उनी सन् १९७३ देखि १९७५ सम्म प्रयागराजका मुख्यमन्त्री पनि भएका थिए, जसको एउटा राजनीतिक विरासत थियो । सन् १९८४ को चुनावमा उनै बहुगुणासँग भिड्न आइपुगे अमिताभ बच्चन । अमिताभ बच्चनको लोकप्रियता चुलीमा थियो । लगभग १.८ लाख जस्तो भारी मतले उनले चुनाव जिते । प्रभावशाली र अनुभवी देशलाई आवश्यक नेता बहुगुणाले चुनाव हारे ।
इन्दिरा गान्धी हत्यापछि सहानुभूतिसहितको राजीव गान्धीको बलियो सरकार थियो । यही सरकार बोफर स्क्यान्डलमा फस्यो । यो स्क्यान्डलमा अमिताभ बच्चनको नाम पनि जोडिएर आयो, भलै पछि स्क्यान्डलको मुद्दामा उनले अदालतबाट सफाइ पाए ।
मैले यो किन भनेको हो भने अहिले नेपालमा पनि यस्तै भएको छ । आआफ्नो क्षेत्रमा थोरै के भाइरल भएका थिए ? ती सबै राजनीतिमा आएका छन् । यिनैलाई जनताले आफ्नो गोप्य मतबाट अनुमोदन पनि गरेका छन् । कोही सफल सर्जन छन् । कोही केही फलोअर्स बढाएका टिकटकर छन् । कोही टक सोमा लोकप्रिय भएका मान्छे छन् । कोही पाइलट छन् त कोही पत्रकार त, कोही कलाकार, गायककार, जो थोरै भए पनि भाइरल भएका थिए—सबै राजनीतिमा । अब कोही समानुपातिक प्रणालीबाट अनुमोदित हुँदैछन् । जसको अहिलेसम्म राजनीतिसँग परको सम्म पनि कुनै साइनो छैन । यससम्बन्धी न कुनै अनुभव छ, न त ज्ञान । छ त केवल लोकप्रियता र शक्तिको भोक ।
उहाँहरू कमजोर, अयोग्य—यो लेखको आसय होइन । उहाँहरू आफ्नो कर्ममा अब्वल भएर त लोकप्रिय हुनुभयो तर बहुगुणाजस्तै धेरै राजनीतिक मान्छे पराजित भएका छन् । विदेशीहरू नेपालीको आई.क्यू. लेबल कमजोर छ भन्छन् । सायद यस्तै हेरेर होला ।
मलाई लाग्छ, अहिलेको संसद्लाई एउटा सफल सर्जन, कलाकार, उद्घोषक, टिकटकर, गायककार, वाद्यवादकभन्दा अनुभवी र इमान्दार र सुझबुझ भएको राजनीतिक मान्छे चाहिएको थियो । यसका बाबजुद प्रतिनिधिसभा रङ्गीन भएको छ, जुन उद्देश्यले समानुपातिक प्रणालीको व्यवस्था गरिएको थियो । यसको अहिले पनि पहिलाजस्तै धज्जी उड्ने भएको छ ।
यहाँ राजनीतिको परिभाषा नै बदलिएजस्तो भएको छ । सबैको आकर्षणको केन्द्र राजनीति । राजनीति कमाउने ठाउँ होइन । अब पनि राजनीतिलाई पावर एक्सरसाइज गर्ने ठाउँको रूपमा बुझ्ने कोसिस नगरौँ । यो त सेवा र समर्पित हुने ठाउँ हो ।
जा,े जुन ठाउँमा योग्य र सफल हुनुहुन्छ, त्यही ठाउँबाट यो देश र जनता मात्र हैन, सम्पूर्ण मानवजातिकै सेवा गर्नुहोस् । त्यहीँ आफूलाई समर्पित गर्नुहोस् । तपाईं त्यही पूजनीय हुनुहुनेछ ।
एउटा सर्जनले हस्पिटलमै बसेर बिरामीको उपचार गर्दा नै तपाईंको अनुभव र क्षमताको यो देशले सही मानेमा उपयोग गरेको ठहरिनेछ । एउटा कलाकार, गायक, वाद्यवादक, पत्रकार सबैको अनुभव तत् तत् ठाउँमा अझ बढी उपयोगी हुनेछ । यसो गर्दा तपाईंको उचाइ झन बढ्नेछ, घट्ने त कुरै भएन ।
नारायण गोपाल, नातिकाजीजस्ता लोकप्रिय कलाकारलाई राजनीतिमा नआउँदा पनि युगौँयुगदेखि हरेक नेपालीले सम्झिरहेको छ । यो देशले सम्मान गरिरहेको छ । उनीहरूको उचाइ घटेको छैन ।
तपाईंहरूको लोकप्रियता राजनीतिमा होमिँदा कैयौँ इमानदार, अनुभवी र प्रतिभाशाली राजनीतिक मान्छे नेतृत्वमा आउनबाट वञ्चित भएका छन् । तपाईंहरूको लोकप्रियता विजयी भएको छ, जसरी भारतमा अमिताभ बच्चनको कारण बहुगुणा पराजित भएका थिए ।
अमिताभको त्यो लोकप्रियता संसद्मा खासै उपयोग भएको स्वयम् अमिताभले अनुभव गरेनन् । केही समयपछि बच्चनलाई थाहा भयो, मेरो खाँचो यहाँ हैन, फिल्म इन्टस्ट्रीलाई छ भनेर । उनी सांसद पदबाटै राजीनामा दिएर फिल्मी दुनियाँमा फर्किए । अहिले बुढो भइसक्दा पनि उनको लोकप्रियतामा कहीँ कतै कमी भएको छैन ।
जसको राजनीतिक अनुभव यो देशलाई अहिले पनि छ, ती मान्छे पराजित भएका छन् । नेपाली मतदाताले अहिले पनि नयाँ र पुरानाको नाममा पुराना महत्त्वपूर्ण र आवश्यक चिज पनि एउटै फोहोरको कन्टेनरमा फालेका छन् । एउटा छाता ओढ्ने सबै खराब र अर्को छाता ओढ्ने सबै असल भन्ने भाष्यबाट यो चुनाव पनि अछुतो रहन सकेन । उम्मेदवारको चयन गुणदोषको आधारमा भएको पाइँदैन । उम्मेदवारभन्दा चिह्न हाबी भएको छ । भोटरले उम्मेदवार चिनेका छैनन् । चिह्न चिनेर मतदान गरेका छन् । प्रजातन्त्रको अभ्यास गरेको लामो समय भइसक्दा पनि राजनीतिक चेतनाको विकास कमजोर देखियो तर पनि जनमतको रोजाइ नै लोकतन्त्रमा सर्वोपरि हुन्छ ।
हाम्रा आकाङ्क्षा धेरै छन् । हामीलाई पर्खिन मन छैन । हामीलाई परिणाम तुरुन्तै चाहिएको छ । हामीले चाहेजस्तो आन्तरिक र बाह्य अवस्था पक्कै छैन । हामी एक्लै छैनौँ । हाम्रा छिमेकी छन् । छिमेकीसँगै बदलिँदो भूराजनीतिक प्रभाव जोडिएको छ । भूराजनीतिसँगै सबैका स्वार्थ अन्तरघुलन भएका छन् ।
अहिले भारतजस्तो आफूलाई महाशक्ति ठान्ने देश पनि अमेरिकाले रसियासँग तेल किन् भन्दा ‘हस्’ र नकिन भन्दा पनि ‘हस्’ भन्नुपर्ने अवस्थामा रहेको वैश्विक भूराजनीतिक परिस्थिति रहेको छ । परिस्थिति गम्भीर हुँदै गएको छ । हामी पनि यस्तै परिस्थितिभन्दा पर छैनौँ ।
लाग्छ, हामी फरक खालको र नयाँ डिजिटल उपनिवेश बनिसकेका छौँ । हाम्रो सोच्ने र निर्णय गर्ने तरिकामा अल्गोरिदमको भूमिका प्रमुख हुन थालेको छ । हामीले प्रश्न गर्न छोडेका छौँ र आलोचनात्मक चेत गुमाउँदै त गएका छैनौँ ? हाम्रो देशमा बिग्रेको के हो ? बनाउने के हो ? कसरी बनाउने हो ? त्यसका आधार के हुन् ? स्पष्ट खाका नयाँ दलमा पनि केही पाइँदैन । त्यसैले प्रश्न गर्न बन्द नगरौँ ।
यसरी पनि हेरौँ । हामी गरिब मात्र छैनौँ, धनी पनि छौँ । कसैको प्रत्यक्ष खटनमा अहिलेसम्म छैनौँ ।
हामी सबैको चाहना समृद्धि हो । यहाँ सबैलाई थाहा छ, हामी किन गरिब छौँ ? पैसा नभएर । पैसा आफै उम्रिँदैन । हाम्रो राजस्व राज्य सञ्चालनमै सकिन्छ । ठल्ठुला आयोजना निर्माण गर्न ऋण लिनैपर्यो ।
क्षमताभन्दा माथिको ऋण लिँदा श्रीलङ्काको हम्बन्टोता बन्दरगाह ९९ वर्षका लागि चाइनाको हुन् पुग्यो । अमेरिकी लगानी बढाउँदै जाँदा उसले आफ्नो लगानीको सुरक्षा खोज्यो । एयरबेस त्यहीँ राख्यो । अहिले इरानी आक्रमण खाडी मुलुकले बेहोरिरहेका छन् ।
अवस्था संवेदनशील छ । तीव्र विकासको चाहनाले भोलि हामीलाई पनि त्यही बाटो नहिँडाउला भन्न कसरी सकिन्छ ? नेपालको अवस्थाको बारेमा नेपाली आफै संवेदनशील हुनु आवश्यक छ । आफ्नो क्षमतामा विश्वास गर्न आवश्यक छ । भावनामा बगेर कोही पात्र बदलिँदैमा आजको भोलि नै सबै कुरा भइहाल्छ† भोलि नै देश समृद्ध भइहाल्छ—यो भ्रममा पर्नु हुँदैन । तीव्र आकाङ्क्षाले तीव्र निराशा तर पनि लैजान सक्छ । त्यसैले पहिले आफ्नो वास्तविक अनुहार हेरौँ अनि मात्र अरूको क्षमताको आँकलन गर्नतिर लागौँ अनि मात्र धारणाको निर्माण गरौँ ।
हामी उम्मेदवारी नै खारेज भइसकेका उम्मेदवारलाई त भोट हालेर नेता चयन गर्छौं भने हाम्रो राजनीतिक चेतना कुन ठाउँमा छ ? यसै थाहा हुन्छ । त्यसैले हामी जहाँ छौँ, त्यहीँबाट आफैलाई परिवर्तन गर्न सुरु गरौँ । त्यसको असर नेतृत्वसम्मै देखिनेछ । कसैलाई देवत्वकरण र दानवीकारण गर्न छोडौँ । नेतृत्वको क्षमताको भरपूर सकारात्मक प्रयोग हुने वातावरण निर्माण गरौँ । हिँजोकाले गरेन हैन, सकजति गरेका छन् । धेरै गरेका छन् । धन्यवाद दिनोस् ।
अबको कार्यभार उठाउने जिम्मा आजको नेतृत्वको हो । गाली र तारिफ मात्र हैन, नेतृत्वलाई जिम्मेवारी भुल्न नदिनुस् । सबै मिलेर हरेक नागरिकले आआफ्नो भागको कार्यभार इमानदारीपूर्वक पूरा गरौँ । देश अमूक व्यक्तिले बनाउने हैन, सम्पूर्ण नेपालीको सकारात्मक योगदानले बन्ने हो ।
फेरि पनि भन्छु, हामीले हाम्रो भागको कार्यभार इमानदार भएर पूरा गरौँ । ढुक्क हुनुस्, देश बन्छ । जय देश ।