गणेश अधिकारी ##
जहाँ जहाँ राष्ट्रिय जनमोर्चाका उम्मेदवार थिए, त्यहाँ इमानदार, स्वच्छ छवि भएका र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने नेताहरू पराजित भए । यो केवल एउटा पार्टीको हार मात्र होइन, प्रतिनिधिसभामा देशभक्ति र राष्ट्रियताको पक्षमा बोल्ने बलियो आवाजलाई मौन गराइनु पनि हो । नेपालको पछिल्लो चुनावी परिणामले एउटा गम्भीर प्रश्न हामी सबैसामु राखेको छ । इतिहासले हामीलाई एउटा पाठ सिकाएको छ– साँचो राजनीति चुनावले मात्र कहिल्यै तय हुँदैन ।
राष्ट्रिय जनमोर्चाको बलियो जग र पहिचान
राष्ट्रिय जनमोर्चा नेपालको राजनीतिमा एउटा विशेष पहिचान बोकेको पार्टी हो । यो पार्टी सत्तामा पुग्ने लोभले होइन, राष्ट्रियता, जनताको अधिकार र स्वाभिमानको लागि सङ्घर्ष गर्ने उद्देश्यले निर्माण भएको शक्ति हो । यसको जरा नेपालको कम्युनिस्ट आन्दोलनको गहिराइमा गएर जोडिएको छ ।
पार्टीले विगतमा २०४८ साल, २०५१ सालको चुनावदेखि नै राष्ट्रघाती सम्झौता र जनघाती कदमको प्रतिवाद गर्दै आएको इतिहास बोकेको छ । २०५९ सालमा एकता केन्द्रसँग एकीकरण भएर जनमोर्चा नेपाल बनेपछि पनि यसले सिद्धान्त र राष्ट्रियतालाई केन्द्रमा राख्यो। २०६२–६३ सालको जनआन्दोलन–२ मा सातदलीय गठबन्धन र अन्तरिम सरकारमा सहभागी भएतापनि चित्रबहादुर केसीको नेतृत्वमा २०६३ सालमै सत्ताको मोहभन्दा वैचारिक स्पष्टता र राष्ट्रिय हितलाई ठुलो ठान्दै पुन: राष्ट्रिय जनमोर्चालाई पुनर्जीवित गरियो । यो फुट र पुनर्गठनले नै राष्ट्रिय जनमोर्चाको सिद्धान्तप्रतिको गहिरो प्रतिबद्धता देखाउँछ ।
सडक र संसद् दुवैमा सङ्घर्ष
नेपालमा धेरै पार्टीहरू चुनाव जितेपछि जनताको आवाज बिर्सन्छन् तर जनमोर्चाको राजनीति फरक छ । जनमोर्चाले सुरुदेखि नै महँगो र जटिल सङ्घीयता खारेजीको मुद्दा उठाउँदै आइरहेको छ । संविधानसभामा सङ्घीयताको विरुद्धमा एक्लो आवाज उठाउने पार्टी जनमोर्चा नै थियो । जब ठुला दलहरू सङ्घीयताको पक्षमा उभिएका थिए, जनमोर्चा राष्ट्रिय एकता र स्वाभिमानको पक्षमा एक्लै सडकमा उत्रियो । अन्तरिम संसद्मा सङ्घीयता घुसाइएदेखि नै निरन्तर खारेजीको माग राखी आन्दोलनमा होमिएको थियो । त्यसपछि पनि लगातार राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजी, गणतन्त्रको रक्षा र राष्ट्रियता जोगाउन नेपाल बन्द, जुलुससभा गरेर आवश्यकताअनुसार सडकलाई आफ्नो कर्मथलो बनाउने शक्तिको रूपमा आफूलाई स्थापित गरेको छ।
चुनाव परिणाम : किन भयो यस्तो ?
२०८२ को युवाविद्रोह (जेन्जी आन्दोलन) पछि भएको यो चुनावमा धेरै ठाउँमा इमानदार र राष्ट्रवादी उम्मेदवार हारे । यसको पछाडि धेरै कारण छन् :
१. पुराना दलप्रति आक्रोश
नेपाली कङ्ग्रेस, एमाले, माओवादीकेन्द्रप्रति जनता, विशेष गरी युवा, भ्रष्टाचार, गुटबन्दी र बेरोजगारीले गर्दा अत्यन्तै निराश थिए ।
२. सामाजिक सञ्जालको प्रभाव
यसपटकको चुनावमा फेसबुक, टिकटक, युट्युबले ठुलो भूमिका खेल्यो । रवि लामिछानेको रास्वपा, बालेन्द्र शाह (बालेन) र हर्क साम्पाङजस्ता नयाँ अनुहारले सामाजिक सञ्जाललाई हतियार बनाएर युवाको मन जित्न सफल भए ।
३. भ्रामक सूचना र डिजिटल प्रभाव
डिस्कर्ड सर्भरदेखि विभिन्न प्लेटफर्ममा भावनात्मक रूपमा उत्तेजित गर्ने सामग्री भाइरल भए, जसले मतदाताको धारणा प्रभावित पार्यो । यसले सूचना प्रविधि र डिजिटल माध्यम कसरी भूराजनीतिक हतियार बन्न सक्छ भन्ने देखायो ।
४. विदेशी हस्तक्षेपको आशङ्का
नेपाल भारत र चीनका बिचमा भएकाले, एमसिसी, एसपिपजस्ता परियोजनाको वहाबसँगै चुनावी परिणाममा पनि बाह्य शक्तिको प्रभाव हुन सक्ने आशङ्का गरिएको छ । विदेशी खुफिया एजेन्सीले सामाजिक सञ्जालमार्फत जनमत परिवर्तन गर्न खोजेको टिप्पणी हुने गरेको छ ।
हामी के गर्न सक्छौँ ?
यो हार अन्तिम होइन, नयाँ ढङ्गको सङ्घर्षको सुरुवात पनि हो । हामीले केही कुरामा ध्यान अवश्य दिनु आवश्यक छ :
१) सङ्गठन बलियो बनाऔं । गाउँगाउँसम्म पुग्ने र जनताको घरदैलोमा हाम्रो पहुँच पुर्याऔँ ।
२) युवालाई जोडौँ । युवालाई सचेत, सङ्गठित र डिजिटल प्रविधिमा प्रशिक्षित गरौँ ।
३) जनतासँग नजिक हौँ । किसान, बेरोजगार, विद्यार्थीको दैनिक समस्या बुझेर समाधानको बाटो देखाऔँ ।
४) प्रचारको नयाँ रणनीति अपनाऔँ । सामाजिक सञ्जालमा हाम्रो विचार र राष्ट्रियताको पक्षमा व्यापक बहस गरौँ ।
५) राष्ट्रवादी शक्तिसँग सहकार्य गरौँ । सिद्धान्त र राष्ट्रियताको मुद्दामा कुनै सम्झौता नगरी समान विचार भएका शक्तिसँग सहकार्य गरौँ ।
निराश होइन, अठोट
इतिहासले देखाएको छ, फ्रान्सेली क्रान्ति होस् वा रुसी क्रान्ति चाहे चिनियाँ क्रान्ति साँचो परिवर्तन सडक र जनताको बिचबाट सुरु भएको थियो । नेपालको प्रजातन्त्रको आन्दोलन गणतन्त्रको स्थापना पनि सडकबाटै सुरु भएको हो ।
प्रेणाका स्रोत
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आफैँ एउटा प्रेरणा हुन् । यो उमेरसम्म पनि देश जनताको लागि निरन्तर रूपमा विचलित नभई सादगी जीवनशैली अपनाउँदै सम्झौताहीन सङ्घर्षको नेतृत्व गर्दै आउनुभएको छ । अझै पनि देश विदेश र नेपालमा समेत विचारमा परिपक्व भएका नेताकार्यकर्ता हजारौँको सङ्ख्यामा चट्टानझैँ उभिएको पङ्क्ति छ । त्यसैले हामी यो चुनावी परिणाम देखेर निराश हुने होइन, अझ बलियो भएर उठ्ने समय हो । जनता एक दिन अवश्य बुझ्नेछन्, साँचो राजनीति पैसा र प्रचारले होइन, राष्ट्रियता र इमानदारीले जन्मिन्छ ।
सङ्घीयता खारेजी, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको यो लडाइँ जारी रहनेछ । चुनावी हार वा परिणाम अन्तिम हुँदै होइन, यो सङ्घर्षको एउटा अध्याय मात्र हो । राष्ट्रियता बलियो बनाउन, जनताको आवाज सधैँ उठाइरहन सङ्घर्ष निरन्तर जारी रहिरहनेछ ।