भीष्म जोशी ##
गिलास चिह्नको ध्वजाबाहक उम्मेदवारहरू शिर ठाडो पारी गर्वले छाती फुलाएर आफ्नो निर्वाचनक्षेत्रका प्रिय दाजुभाइमाझ मत माग्दैछन् । मुसुक्क मुस्कुराउँदै आफ्नो चुनावचिह्न गिलासमा भोट माग्दैछन किनकि अरू राजनीतिक पार्टीजस्तो दागैदाग बोकेर उनीहरू मतदातामाझ लाज पचाएर पुन: सत्तामा पुग्न भनेर मत मागिरहेका अवश्य होइनन् ।
गिलास राष्ट्रिय जनमोर्चा पार्टीको चुनाव चिह्न मात्रै होइन, गिलास त संसारभरिका श्रमजीवी, शान्तिप्रेमी, राष्ट्रप्रेमी तपाईं–हामीजस्ता कर्मलाई नै फल सम्झनेहरू सबै नेपाली र मानवजातिको प्रतीक चिह्न हो ।
नेपालमा चित्रबहादुर केसीको नाम सुन्नुभएको छ होला । तिनै इमानका शिखर व्यक्तित्व र देशभक्त नेताजस्ता लाखौँ नेपालीले अहिले यो चिह्न बोकेर हिँडेका छन् । इमानदारिता, नैतिकता र देशभक्तिले ओतप्रोत भएकाहरू गर्वका साथ चुनावको पूर्वसन्ध्यामा राजनैतिक र नैतिक विजयको झन्डा फहराउँदै, शिर उचो राखी छाती फुलाएर मुस्कुराउँदै नेपाली जनताको घरआँगनीमा गिलास चिह्नमा अमूल्य मत माग्दै हिँडिरहेका छन् ।
उनीहरूलाई न जितपछिको उन्मादमा रमाउनुछ, न हारेपछिको सर्वस्व नै गुमाउनुछ किनकि देश र जनताको सेवा गर्न भनी जीवन सुम्पेका छन् उनीहरूले । व्यक्तिगत स्वार्थभन्दा धेरै माथि देशको स्वार्थलाई केन्द्रमा राखी राजनीतिमा होमिएका हुन् । उनीहरूलाई राम्ररी थाहा छ, यो चुनाव जित्दैमा संसार जितिने होइन र हार्दैमा अरूका झैँ संसार भासिने छैन किनकि उनीहरूको आदर्श महान् छ : ‘जिते सिङ्गो संसार जितिन्छ, हारे नेलहत्कडी नै गुम्ने न हो ।’
यो कुरा उनीहरूले राजनीति सुरु गर्दाको दिनमा नै सिकेर बल्ल राजनीतिक जीवनमा हाम फालेका हुन । यो चुनावमा उनीहरूसँग जनताका रोग, भोक र गरिबीसँग जुधिरहेका जनताका स्पष्ट एजेन्डा छन् । तिनको समाधान गर्ने प्रष्ट समाधानको खाका छ । त्यसैले त जनताको अमूल्य मत माग्दैछन्– जिते देश र जनताकै लागि राम्रो हुनेछ† देश र जनताले निस्वार्थ आफ्ना सेवक पाउनेछन्; राष्ट्रियहित अरू झन् उच्च बनाइनेछ; अरूले भन्दा शान्ति, विकास, लोकतन्त्र र सुशासनका क्षेत्रमा हजारौँ गुणा राम्रो गर्नेछन् किनकि अरूको भन्दा राष्ट्रिय जनमोर्चाको हजारौँ गुणा राम्रो राजनीतिक विचार छ; जनपक्षीय राजनीतिक कार्यक्रम छ; कष्टसाध्य, सङ्घर्षशील र जनताको पक्षमा सम्झौताहीन सात दशक बढी लामो विगत छ; इमानदार र स्वच्छ पारदर्शी पार्टी छ; विचार र राजनीतिले लैस नेता छन्; उच्च आदर्श र नैतिकता बोकेका नेता नै नेता भएको पार्टी छ ।
न यिनको पार्टीका नेताहरू देशका विरुद्धमा छद्म ढङ्गले लागेका छन, न त कुनै विदेशी एनजिओ, आइएनजिओको पैसा खेलाएका छन् । न त कुनै विदेशीको स्वार्थ पूरा गरिदिने उद्देश्यका साथ विदेशीको कलो खाएका छन्, न त अरूले झैँ राज्यको रकमको दोहन र भ्रष्टाचार नै गरेका छन् । न जनतामाझ “मुखमा राम राम, बगलीमा छुरा” भनेझैँ गरेका छन् । जे छ, जनता र देशकै लागि गरेका छन्; जनताकै बिचमा बसेर गरेका छन्; उनीहरूकै माझमा पारदर्शी ढङ्गले आफ्ना नीति, विचार पेस गरेका छन् ।
विगतमा सरकारले जनता विरोधी गतिविधि गर्दा सडक, गल्लीचोकमा आन्दोलनको अग्रमोर्चामा यिनै गिलासबाहक देखिन्थे । हरेक खाले सङ्घर्ष र आन्दोलनको अग्रमोर्चा र नेतृत्वमा यिनै देखिन्थे । सरकारमा सहभागी दल वा कथित ठुला दलले हिजो देश विरोधी असमान सन्धिसम्झौता गर्दा त्यसका विरुद्ध जनता जगाउँदै हिँड्ने दल यही जनमोर्चा थियोे । देश र जनताको निम्ति बलिदान दिन भनेर ७६ वर्ष अघिदेखि यो पार्टीका नेताकार्यकर्ता सङ्घर्षको मैदानमा निरन्तर लागिरहेका छन् । देशमा संविधानसभाको नारा घन्काउने, गणतन्त्रको बिगुल फुक्ने र देशलाई गणतन्त्रमा ल्याउने नेतृत्व गर्ने दल यही हो ।
यही पार्टी हो, जसले सात दशक लामो अवधिदेखि यो देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन वैचारिक र भौतिक ढङ्गले सतिसालजस्तै ठिङ्ग उभिएको छ । सिङ्गो देशीविदेशी शक्तिहरू नेपाललाई जातीय राज्य र एक मधेस एक प्रदेशमा लगेर ध्वस्त बनाउन चाहन्थे तर त्यसका विरुद्ध कठोर सङ्घर्ष गरेर देशलाई जोगाउने एक्लो शक्ति यही राष्ट्रिय जनमोर्चा हो । अहिले पनि विगत २० वर्षदेखि निरन्तर सङ्घीयताका विरुद्ध आवाज बुलन्द बनाइरहेको छ र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन निरन्तर सङ्घर्ष गरिरहेको छ ।
तत्कालीन माओवादी युद्धमा त्यति बेलाका सत्ताधारी दलले गाउँ छोडी विस्थापित भएर सदरमुकाममा लुक्दै गर्दा एक्लो राष्ट्रिय जनमोर्चा गाउँगाउँ पसेर देशमा शान्ति स्थापना हुनुपर्छ† जनता दोहोरो बन्दुकको धारमा यसरी बाच्न सक्दैन भन्ने, लोकतान्त्रिक गणतन्त्र र संविधानसभा मात्रै आगामी निकास हुन सक्छ भनेर लामो सङ्घर्ष गर्ने पार्टी यही हो ।
अहिले देशमा हिजोको भन्दा परिवेश फेरिएको छ । देशमा शान्ति भएकोजस्तो देखिन्छ तर हिजोको भन्दा झन् धेरै बाह्य खतराका बादल नेपाली आकाशमा मडारिरहेका छन् ।
एकातिर विश्व साम्राज्यवादले नेपालमा नाङ्गो नाच नाचिरहेको छ, प्रतिक्रियावादी र राजावादी शक्तिहरू आफ्नो गुमेको स्वर्ग र शक्ति फर्काउने दाउमा छन्, अर्काेतिर यिनै नयाँ र पुराना अवसरवादी शक्तिले जनतालाई भ्रमजाल हालेर झुक्याइरहेका छन् । यस्तो विषम परिस्थितिमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार आफ्नो स्वच्छ राजनैतिक विचार लिएर जनताको मत मागिरहेका छन् ।
यसपटक राष्ट्रिय जनमोर्चाको आह्वान र अपिललाई जनताले सुन्नुपर्छ र फागुन २१ गतेका दिन गोप्य मतदानमार्फत गिलास चिह्नमा मतदान गरेर जनमोर्चाले देशलाई लगाएको गुनको बदला आफ्नो अयूल्य मत प्रदान गर्नुपर्दछ ।
राष्ट्रिय जनमोर्चामा साम्यवादी समाजको नागरिकझैँ उच्च नैतिकवान् चरित्र र मनोबलले भरिपूर्ण कार्यकर्ता छन् । हारे पनि जनताकै बिच झन् सशक्त भई जनताको सेवामै लाग्नेछन् तर यसपालिको चुनावमा जनताले राष्ट्रिय जनमोर्चालाई मतदान गर्न सकेनन् भने देशले नै हार्न सक्ने चिन्ता व्यापक छ ।
सुनौलो विचारको आलोकमा उत्कृष्ट नेपाली मानव समाज बनाउने सङ्कल्प छ, राष्ट्रिय जनमोर्चाको । उनीहरूलाई चिन्ता छ त केवल देशको, जनता फेरि भ्रममा परेर अझै तिनै सत्तामा बसेर गत भदौ २३ को झैँ स्कुले बालबालिकालाई गोली चलाउनेलाई नै भोट हाल्यो भने भोलि देशको हालत के होला वा स्कुले बालबालिकालाइ आन्दोलनको ढाल बनाएर मर्न पठाउनेलाई भोट हाले देश कस्तो बन्ला ? दुस्मन देशका सेना छिरेजस्तै सिङ्गो देश जलाइयो । ती देशलाई खरानी बनाउने को थिए ? त्यसैले अब कहिल्यै त्यस्तो नहोस् भन्ने चाहनाका साथ गिलास चिह्नबाहक पनि चुनावी रणमैदानमा छन् । यो देशको अन्तिम शक्ति तपाईं मतदाता हो । त्यसैले भोट हाल्दा विगतको गल्ती नदोहोर्याउनु होला भनी अपिल गर्दै गिलासमा मत माग्दै दिनरात नभनी देश र जनताप्रति आफ्नो कर्तव्य निभाइरहेका छन् राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्ता ।
मुलुकको सेतो हात्ती बनेको भ्रष्टाचारको मूल सङ्घीयता खारेज गराउन, स्थानीय सरकारलाई झन् अधिकारसम्पन्न बनाई देशमा जनताको नैसर्गिक अधिकारको रूपमा रहेको निशुल्क शिक्षा, उपचार र रोजगारीको ग्यारेन्टी गर्न, राजनीतिलाई जनताको सेवा गर्ने पवित्र माध्यम बनाउन र लोकतान्त्रिक संस्कार बसाउन, समानुपातिक विकासको जग बसाल्न, राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न जनतासँग मत माग्दैछन् । जनताले यस्तो उच्च मनोबल बोकेर निस्वार्थ जनताको सेवक पार्टीका उम्मेदवार र आफ्नो चुनाव चिह्न गिलासमा मत दिन सक्नुपर्छ । होइन भने भोलिका दिनमा पनि आफै भोट दिएर नेता बनाउने अनि आफ्नै पुर्पुरोलाई सराप्नुको विकल्प अर्को हुने छैन ।
हामी विश्वभरिका श्रमजीवी र शोषित जनताको पक्षमा बोल्न यो एक जीवनले मात्रै नपुग्न सक्छ । हामी त्यसका लागि यस्ता हजारौँ जुनीसम्म सङ्घर्ष गर्न र बोल्न तयार छौँ भन्दै हिँडिरहेका छन् गिलासबाहक ।
अहिले देशको राष्ट्रियता इतिहासकै गम्भीर खतरामा छ । भदौ २३ देखि २७ गतेका दिन सम्झौँ । ती दिन ल्याउनेलाई पुन: मतदान गर्यौँ भने ती पुन: जनमत पाएर बौरिनेछन् । फेरि तिनीहरूले नै जिते भने देशको अवस्था कस्तो बनाउलान् ?
एक जना उम्मेदवारले यतै कतै भन्दै हुनुहुन्थ्यो, नेपाललाई बैकुण्ठ धामजस्तो बनाउछु अनि ५ वर्षभित्र नेपालबाट स्वर्ग जाने सिँढी बनाउछु, मत दिनुस् । यस्तै यस्तै अवास्तविक घोषणापत्र बजारमा छन् । यी घोषणापत्र हुन् कि यिनी झुटका पुलिन्दा हुन् ? कसरी पत्याउने ? नेपाली जनता अवास्तविक कुरामा अझै नझुक्किनुस् ।
हाम्रो देश अझै पनि गरिब देश हो । हाम्रा विदेशिएका श्रमिक युवायुवतीले कठिन दुख गरेर पठाएको रेमिटेन्सबाट चलेको मुलुक हो यो ।
धेरै ठुला कुरा होइनन्, सामान्य कुरा सोध्नुस् । तिम्रो दल सरकारमा गयो भने वार्षिक ७ खर्ब ऋण (वित्तीय व्यवस्थापनसहित) तिर्ने आधार के हो ? अहिले नेपालको ऋण २९ खर्बनजिक पुगेको छ । हामीलाई यति धेरै ऋणमा डुबाउनेलाई अब त चिन्नुस् । अब वार्षिक २० प्रतिशत पुँजीगत बजेटलाई ८० प्रतिशत बनाउने र चालु खर्च २० प्रतिशत बनाउने आधार के हो भन्ने प्रश्नको जवाफ पाइँदैन ।
रोजगारी सृजनाको आधार भनेको उत्पादनसँग सम्बन्धित उद्योग हुन् । उद्योग खोल्ने योजना के छ ?
संविधानले शिक्षा निशुल्क भनेको छ, त्यसको कार्यान्वयन गर्ने आधार के हो ?
बिरामी भएको मान्छेले निशुल्क उपचार पाउने कि नपाउने ?
आवास र खाद्यान्न पाउने कि नपाउने ?
कृषिप्रधान देश भनियो कृषि मध्ययुगीन राँगा, गोरु, हलोजुवा, कोदालीबाटै सञ्चालन कहिलेसम्म गरिरहने हो ?
कृषिको आधुनिकीकरण भनेको के समयमा मल नपाउनु हो ?
यातायातमा सबै जनताको पहुँच पुग्न सबैले बसिरहेको थातथलो छोडी सहर नै पस्नुपर्ने हो ?
स्वच्छ पिउने पानी पुग्यो सबै ठाउँमा ?
नेपालीले नेपालभित्रै बसी आधारभूत मानवअधिकार शिक्षा, स्वास्थ, खानेपानी, आवास, सुरक्षा, रोजगारी, खाना पाइसकेको अवस्था हो ?
जनता नै करदाता र मतदाता भएको हुदा मत दिनुपूर्व यी प्रश्नको जबाफ खोज्नुस् :
अझै कति वर्षसम्म देशलाई चर्को ऋणमा डुबाइरहन्छौ ?
निशुल्क शिक्षा र स्वास्थ अझै कति वर्षसम्म भनिरहन्छौ ?
जनताका छोराछोरीलाइ अझै कति वर्षसम्म विदेश निर्यात गरिरहन्छौ ?
सुशासन र भ्रष्टाचारबिचको भेद कति वर्ष पछि छुठ्याउछौ ?
अन्तमा यी यावत समस्याको सृजना गर्नेले अब जतिपटक मत दिए पनि तिनीहरूले यी समस्याको समाधान गर्न सक्दैनन् । त्यसैले यी यावत् समस्या समाधान गर्न स्वयम् मतदाताले सक्छन् र यसको लागि मत गिलास चिह्नमा हाल्न सक्नुपर्छ । देशको अहिलेको अवस्था विज्ञ मतदातालाई ज्ञात नै छ । आफ्नो मतको सही सदुपयोग होस् भनेर फागुन २१ गतेका दिन आफ्नो अमूल्य मत गिलास चिह्नमा प्रदान गर्न हार्दिक अपिल गर्दछौँ ।