भीमदत्तनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी मौखिक उजुरी बढेका छन् । लिखित उजुरी भने न्यून सङ्ख्यामा मात्रै दर्ता भएका छन् ।
निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्नका उजुरी तत्काल समाधान गर्दै आएको छ ।
आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार हालसम्म तीनओटा मात्रै लिखित उजुरी दर्ता भएका छन् ।
‘मौखिक रूपमा आएका गुनासोलाई प्राथमिकताका साथ हेरेर तत्काल समाधान गर्ने गरिएको छ’ उनले भने– ‘आचारसंहिता विपरीत टाँसिएका प्रचारप्रसारका सामग्री हटाउन तथा सार्वजनिक सम्पत्तिमा गरिएका प्रचार नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिने गरिएको छ ।’
उनका अनुसार लिखित रूपमा दर्ता भएका उजुरीमाथि आवश्यक छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।
सम्बन्धित उम्मेदवार वा दलसँग स्पष्टीकरण माग्ने, प्रमाण सङ्कलन गर्ने तथा आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने कार्य भइरहेको जनाइएको छ ।
हालसम्म गम्भीर प्रकृतिको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी भने नपरेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । (रासस)
