दाङ । जिल्लाको तुलसीपुरमा नेकपा (एमाले) को झन्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश रानामगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई २०८२ फागुन ९ गते पक्राउ गरिएको जानकारी दिनुभयो ।
यही प्रकरणमा शुक्रबार तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको थियो । प्रहरी नायब उपरीक्षक बोहराले झन्डा जलाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य सम्भावित व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो ।
दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र्र साह आउने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्रचोकमा भेला भएका समर्थकाको भिडमा झन्डा जलाइएको थियो । एमाले त्यस कार्यको विरोध गरिरहेको छ ।