लक्ष्मण बेलबासे ##
एक जना मित्रले लेख्नुभएको छ– राष्ट्रिय जनमोर्चाका नीति, विचार र व्यवहार सबै ठिक छन् तर भोट आउँदैन ।’ उहाँ्र आफैँ भर्खर रास्वपा प्रवेश गर्नभएको छ । खासमा भन्नुपर्दा उत्तर पनि आफै दिएर जानुभएको छ ।
नेकपा (मसाल) एउटा सर्वहारा मात्र नभएर मूलत: मजदुर र गरिब किसानको पार्टी हो । माक्र्सवाद–लेनिनवाद यसका मार्गदर्शन सिद्धान्त हुन् तर पनि मूल रूपमा अहिले यो पार्टीमा मध्यम वर्गको सहभागिता अधिक रहेको छ । नेपालको अवस्था नै यस्तै छ । ठुलो पैमानामा सङ्गठित मजदुरले काम गर्ने ठुला ठुला कारखाना हामीकहाँ छैनन् । समाजमा थोरै टाठोबाठो र सङ्ख्या पनि अधिक मध्यम वर्ग नै रहेको छ । त्यसैले सङ्गठनमा यो वर्गको प्रभाव अलि बढी हुनु स्वाभाविक पनि हो ।
मध्यम वर्गको अवस्था सर्वहारा वर्गको जस्तो हुँदैन, जोसँग गुमाउन केही नहोस् । यो वर्गसँग जीविकोर्जनका केही निजी आधार हुन्छन् । कसैसँग थोरै जमिन हुन्छ । कसैसँग जागिर हुन्छ । कसैको आफ्नै पेसाव्यवसाय हुन्छ । त्यसैले यो वर्ग भएको यही पनि गुम्ने हो कि एउटा त्रासमा हुन्छ । त्यसैले यो वर्गलाई इमानदार कम्युनिस्ट हुन मुस्किल पर्दछ । ऊ कम्युनमा रमाउन सक्दैन । थोरै भएको निजी सम्पत्तिको लोभ लागिरहन्छ । मालिक बन्न मन लागिरहन्छ । त्यसैले समाजको हितभन्दा आफ्नो हित प्रधान ठान्दछ ।
मध्यम वर्ग सधैँ व्यक्तिगत हितको खोजीमा लागिरहन्छ । त्यसैले ढुलमूल भइरहन्छ । कहिले पुँजीवादी कित्तामा उभिन्छ त कहिले सर्वहारा कित्तामा । त्यसैको परिणाम पनि हो, मसाल कहिले ठुलो पार्टी हुन्छ, कहिले सानो पार्टी । पार्टीका नीति, विचार र सिद्धान्त ठिक हुँदाहुँदै पनि यसको आकारमा बदलाव आइरहन्छ । यसमा सङ्गठित नेताकार्यकर्ता जबसम्म सिद्धान्तअनुरूप व्यवहारमा ढल्न सक्दैन, हरेक कम्युनिस्ट पार्टीको अवस्था यस्तै हुन्छ । एमाले–माओवादी जस्तै पार्टी नै मध्यमवर्गीय अनुकूलको सिद्धान्तबाट विचलित सङ्गठन बन्न पुग्दछन्, जो आकारले ठुला र चरित्र ढुलमुले, दिशाविहीन, गन्तव्यविहीन जत्था बन्न पुग्दछ, जहाँ साझा स्वार्थ हुँदैन । सबैले आफ्ना आफ्ना व्यक्तिगत लाभ हासिल गर्न सङ्गठित भएका हुन्छन् । त्योभन्दा बढी लाभ हुने भए तुरुन्त कित्ता बदलिदिन्छन् । लाभ छिटो लिन सकिन्छ कि भनेर त्यस्तै सङ्गठनबाट चोइटिएकाहरूको एउटा हुल रास्वपामा पुगेको छ । यही हुल कुनै बेला माओवादीमा पुगेको दृष्टान्त हाम्रै अगाडि रहेको छ ।
यसैले नीति, विचार र सिद्धान्तअनुसार व्यवहार पनि गर्नेहरू नै “सर्वजन हिताय” हुन्छन् । ती थोरै किन नहोस्, गुणकारी हुन्छन् । अहिले मसाल पार्टी पनि त्यस्तै भएको छ । यहाँ पार्टीको नीति, विचार र सिद्धान्तअनुरूप व्यवहार गर्न सक्नेहरू मात्रै अडिन सक्छन् । यो धेरैको लागि मुस्किलको कुरा हो ।
अहिले पुँजीवाद उत्कर्षमा पुगेर साम्राज्यवादको बाटोमा हिँडेका बेला हो र अबको बाटो पतन हो । यो उत्कर्षको बेला विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको छ तर परिवर्तनको नियम नै यही हो । पतनको बाटोमा हिँडेको पुँजीवादको अन्त्यको बेला धक्का दिन फेरि पनि कम्युनिस्ट आन्दोलन सशक्त रूपमा तयार हुनेछ । यो अवस्था निर्माणको सहयोगी पुँजीवाद आफै हुनेछ ।
यो कठिन बेला कम्युनिस्ट आन्दोलन बचाइराख्न पक्कै पनि चुनौतीपूर्ण हुनेछ । पुँजीवादको यो दबदबा रहेका बेला सबैतिरबाट आक्रमण हुनु स्वाभाविक पनि हो । यही कठिन परिस्थितिमा जनतालाई सही सूचना दिएर माक्र्सवाद र लेनिनवादले दीक्षित गर्दै सही बाटो देखाउँदै मुक्तिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता हो, जुन काम नेकपा (मसाल) ले गर्दै आएको छ ।
पुँजीवादी व्यवस्थाबाट आधारभूत वर्गका समस्या कहिल्यै हल भएका छैनन् र अब पनि हुने छैनन् ।
मध्यम वगको हकमा पनि पुँजीवादी व्यवस्थाले निश्चित मान्छेलाई पुँजीपति वर्गमा रूपान्तरण गरे पनि अधिकांश मध्यम वर्ग दुई ढुङ्गाको बिचमा उम्रिएको पिपलकै अवस्थामा हुन्छ । विस्तारै यो वर्गको गन्तव्य सर्वहारा वर्ग नै हो । सधैँ मध्यभागमा यसको अस्तित्व रहँदैन । यसरी कम्युनिस्ट आन्दोलन स्वत: बलियो हुँदै जानेछ ।
नेपालमा हुँदै गरेको संसदीय चुनाव र यसपछि बन्ने सरकार मसालकै सरकार बने पनि यही व्यवस्थाबाट आधारभूत वर्गका समस्या पूर्ण रूपमा हल गर्न सकिन्छ भन्ने कुरा नेकपा (मसाल) विश्वास गर्दैन । त्यसैले मसालका लागि यो चुनाव एउटा कार्यनीतिक उपयोग मात्रै हो । आधारभूत जनताको आवाजलाई सत्तासम्म मुखरित गर्नु मात्रै हो । मसालको अन्तिम लक्ष्य व्यवस्था नै बदल्नु हो । आधारभूत वर्गको अधिनायकत्व स्थापित गर्नु हो, चुनाव जित्नु नै अन्तिम लक्ष्य होइन । त्यसैले पुँजीवादी पार्टीको जस्तो जीवनमरणको लडाइँ हाम्रो लडाइँ होइन, यो त जनतासम्म पुग्ने अर्को रणनीतिक अवसर हो ।
दल अदलबदल गरिरहने मेरा मित्रले भनेजस्तो मध्यम वर्गका धेरै मान्छेले अहिलेको अवस्थामा धेरै भोट नदिनु अस्वाभाविक हुन सक्छ । गिलासमा भोट दिएर कसैले देशको भनौँ वा सामूहिक हित विपरीत व्यक्तिगत अनुचित लाभ लिन सक्ने नहुन सक्छ । त्यसैले त्यस्ता अवसरवादीको आकर्षण मसालतर्फ नहुन पनि सक्छ ।
मसाल एउटा लामो इतिहास बोकेको पार्टी हो । इतिहासमा यसले ठुला ठुला युगान्तकारी परिवर्तनका भारी बोकेर पार लाइसकेको छ । त्यसैले यसको इतिहास गर्विलो रहेको छ । लामो यात्रामा खुम्चिनु र फैलिनु स्वाभाविक कुरा हो । नदी कतैबगरमा लुकामारी खेल्यो भने सुकेको भनिँदैन । बग्दै गर्दा कति नदी मिसिन आउँछन् कति फाटेर जान्छन् । नदी आफ्नो गतिमा कतै खुम्चिएर त कतै अनेक फाँट निर्माण गरेर तिनै फाँट सिञ्चित गर्दै अगाडि बढ्छ तर पनि गन्तव्यमा कहिले भ्रमित हुँदैन । यसैले हाम्रो अन्तिम उद्देश्य आधारभूत वर्गको अधिनायकत्वसहित नयाँ व्यवस्था निर्माण हो । यस्तो प्रतिकूल अवस्थामा विपरीत उद्देश्य प्राप्तिको महान् यात्रामा खुम्चिनु र फैलिनु स्वाभाविक कुरा हो ।