बागलुङ । बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा वामगठबन्धनहरूले चुनावी अभियान शुरु गरेका छन् । माघ ८ गते बागलुङ बजारमा क्षेत्र नम्बर १ स्तरीय निर्वाचन भेला सम्पन्न गरि चुनाव अभियान शुरु गरिएको हो ।
सो जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीबीच सहकार्यममा साझा उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन क्षेत्र नं. १ स्तरीय निर्वाचन परिचालन समितिको संयुक्त भेला सम्पन्न भएको हो ।
भेलाबाट निर्वाचन क्षेत्र नं. १ का लागि तिलक थापाको संयोजकत्वमा मूल परिचालन समिति गठन गरिएको छ । समितिमा बाबुकाजी केसी र कुमार विक्रम क्षेत्री सह–संयोजक रहनुभएको छ । ३५ सदस्यीय सचिवालयसहित १००१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
त्यसैगरी युवाहरूको सक्रिय सहभागिताका लागि बिरेन्द्र थापाको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ । उक्त समितिमा जिपन शर्मा सह–संयोजक रहनुभएको छ भने १५ सदस्यीय सचिवालयसहित ३०१ सदस्यीय समिति गठन गरिएको छ ।
महिलाहरूलाई प्रभावकारी रूपमा सहभागी गराउने उद्देश्यले लक्ष्मी बास्कोटाको संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ । समितिमा टिका विक सह–संयोजक रहनुभएको छ भने २५ सदस्यीय सचिवालयसहित ३३३ सदस्यीय महिला परिचालन समिति गठन गरिएको छ ।
भेलाले अभियानलाई स्थानीय तहसम्म विस्तार गर्दै जनताको घरदैलोमा पुग्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार माघ १६ गते काठेखोला गाउँपालिका, १७ गते बागलुङ नगरपालिका, १८ गते जैमिनी नगरपालिका र १९ गते बरेङ गाउँपालिकामा संयुक्त भेला आयोजना गर्ने निर्णय गरिएको छ ।
भेलामा साझा बाम उम्मेदवार कृष्ण अधिकारीले मन्तव्य राख्दै बागलुङ क्षेत्र नं. १ का जनताको अधिकार, विकास र सामाजिक न्यायका पक्षमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बाम शक्तिबीचको एकताले मात्र जनताको भरोसा जित्न सकिने धारणा व्यक्त गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सचिव कृष्ण केसले बामपन्थी शक्तिहरूबीचको सहकार्य वर्तमान राजनीतिक आवश्यकताबाट निर्देशित रहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्दबहादुर बुढा र कमल घिमिरेले संयुक्त रूपमा अघि बढ्दा निर्वाचनमा सकारात्मक परिणाम हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य लक्ष्मी बास्कोटा, नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सदस्य लालबहादुर नेपालीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम तिलक थापाको अध्यक्षता, कृष्ण सापकोटाको सञ्चालनबाट अगाडि बढेको थियो ।