भीष्म जोशी ##
राजनीति दुई फरक वर्गका बिच आर्थिक समानता, नयाँ बौद्धिक चेतना र निरन्तर परिवर्तनका खातिर थकाइरहित ढङ्गले, अविचलित रही दीर्घकालसम्म लडिने उच्चस्तरको वर्गीय लडाइँ हो ।
माओ भन्छन्– युद्ध हतियारसहितको राजनीति हो भने राजनीति हतियारविहीन युद्ध हो । गान्धीले भारतमा धोती मात्रै लगाएर र लठ्ठी बोकेर बेलायती साम्राज्य र उपनिवेशका विरुद्ध राजनीति गरे उनको लागि प्रधानमन्त्री पद भनेको त्यहीँ धोती र लठ्ठी भयो र विदेशी उपनिवेशवादलाई उनको नेतृत्वमा भारतीय जनताले पराजित गरेर भारतलाई स्वतन्त्र बनाए । राजनीतिमा पदभन्दा जनताको माया र विश्वास कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने एक दृष्टान्त हुन गान्धी । हाम्रो देशमा अहिले सांसद, मन्त्री र प्रधानमन्त्रीको पदप्रतिको यतिबिघ्न लोभ, आँखा नझिम्क्याई हेरुरहूँ झैँ लाग्ने खालको छ । विनासंघर्षको राजनीतिमा पदप्रतिको यो आशक्ति वा पदसोपान उपनिवेशिक सोचको एक प्रमुख तत्त्व हो ।
प्रधानमन्त्री, मन्त्री, सांसद भनेको देश र जनताको सर्वस्वको रक्षार्थ जिम्मेवारी लिने कठिनतम पद हो । योभन्दा माथिको पद नै हुँदैन किनकि राष्ट्रपति पनि सांसदसरहको योग्यता पुगेको व्यक्तिलाई सांसदले नै निर्वाचित गरेर पठाउँछन । नेपालमा प्रधानमन्त्री, मन्त्री, सांसद बन्न यति धेरै आकाङ्क्षी हुनु एकातिर नेपाली जनताले कठिन सङ्घर्ष गरेर ल्याएको लोकतन्त्रको सुन्दर पक्ष हो भन्न सकिएला । अर्काेतिर, यो त्यत्तिकै डरलाग्दो सत्य बनेर आउन थालेको त होइन ? कति कठिनताको शिखर हो राजनीतिक पद प्राप्ति भन्ने कुरा ? विश्व राजनीतिका नेताहरूको सङ्घर्ष वा हाम्रै नेताका कठिन सङ्घर्ष हेर्दा हुन्छ ।
राजनीति विशुद्ध समाजसेवा हो वा पदसोपान बुझ्न कठिन बनाइयो ? झन् बनाइँदैछ । राजनीतिमा निष्ठा भन्ने शब्द पनि हुन्छ कि ? यसमा सचेत जनताले गम्भीर भएर सोच्न जरुरी छ ।
हाम्रा महान् सहिदले कहिल्यै पदका निम्ति लडेनन् । जनता र देशका लागि हाँसी हाँसी अमूल्य जीवन बलिदान दिए । स्वतन्त्रताको निम्ति नेल्सन मन्डेला २९ वर्ष जेल बसे तर हाम्रो देशमा के हुँदैछ ? लाभको पदमा बसेका, मन्त्री बनेका, प्रदेशका सांसद रहेका, स्थानीय निकायका प्रमुख बनेका, कर्मचारीतन्त्र र सुरक्षा निकायको उच्च ओहदामा रहेका बहालवाला वा पूर्वहरू किन त्यो पदबाट रातारात राजीनामा दिएर वा त्यो सुविधा छोडेर सांसद बन्न खोज्दैछन् । यो आशक्ति साँच्चिकै देश र जनताकै सेवा गर्ने तीव्र भोक नै लागेर यस्तो भएको होला र ? राजनीति विशुद्ध समाजसेवा हो वा पदसोपान बुझ्न कठिन बनाइयो ? झन् बनाइँदैछ । राजनीतिमा निष्ठा भन्ने शब्द पनि हुन्छ कि ? यसमा सचेत जनताले गम्भीर भएर सोच्न जरुरी छ ।
नेपाल स्वतन्त्र रह्यो भनियो, बाह्य रूपले हेर्दा अहिलेसम्म हामी स्वतन्त्र नै जस्ता देखिन्छौँ पनि तर विदेशी उपनिवेशवादीले अप्रत्यक्ष रूपमा हामीलाई कहिल्यै स्वतन्त्र हुन दिएनन् । स्वतन्त्र ढङ्गले पढ्न दिएनन्, सोच्न दिएनन्, विचार निर्माण गर्न दिएनन्, हाम्रो ज्ञानको हत्या गरियो । संसारबाट दासप्रथा उहिल्यै उन्मूलन भयो तर हामी अहिले पनि विदेशीको दास बन्न पाए स्वर्ग पुगेको अनुभूति गर्छौं । अझै विदेशीका बधुवा मजदुर बन्न लालायित छौँ । यस्तो किन ? यसको पछाडिको कारण खोज्नुनपर्ने हो ?
हाम्रो देश भूगोल र जनसङ्ख्यामा सानो छ तर जहान परिवार पाल्न घर छोडेर विदेशिनेमा विश्वमै पहिलो/दोस्रो नम्बरतिर पर्छ । यो औपनिवेशिक प्रताडना र चिन्तन नभएर के हो ? पश्चिमाले लादेको जातिवाद, क्षेत्रीयतावाद, “फुटाउ र राज गर”, दमन र उत्पीदन गर, जति सक्छौ शोषण गर, एकआपसमा झगडा गरेकोगर्यै गर, केही सक्दैनौँ भने पश्चिमाको चाकरी गर । यिनै कुराहरू नै अहिले उपनिवेशवादीका दर्शन र शिक्षा हुन जुन नेपाली समाजले भोगिरहेको, व्यहोरिरहेको छ । आक्रान्त र पीडित छ । पीडक को हो ? अदृश्य छ । यही हो, उपनिवेशवाद भनेको ।
विगतमा यसभन्दा पनि कठिन पीडाबाट अफ्रिका, एसिया, उत्तर अमेरिका वा भनौँ, सारा संसार गुज्रिएको थियो तर आज उनीहरू यसबाट मुक्त भएका छन् तर हामी मुक्त नहुने भन्ने हो वा नसक्ने हो ? के हामी औपनिवेशिक चिन्तनबाट मुक्ति पाउँदैनौँ होला । यसमा बहस छलफल र सङ्घर्ष गरेर देश र जनतालाई मुक्त बनाउनुपर्दैन । किन चुनावमा दलका एजेन्डा नबनेका यी कुरा । हाम्रो देशका युवाले आफ्नै घर आगनमा बसेर आफ्नै माटो सिँगार्न पाउदैनन् । स्वदेशमै रोजगारी कहिल्यै पाउँदैनन हो ? किनकि हाम्रो राज्यव्यवस्था औपनिवेशिक चिन्तनले ग्रस्त छ । यसमा सुधार हुनुपर्छ भन्ने दलको चुनावी एजेन्डा किन नबनेको ? नेपाललाई यो अर्धऔपनिवेशिक पीडाबाट मुक्त गराउनुपर्छ भन्ने दलको आवाज नेपाली जनताले किन नसुनेको ? यी एजेन्डा बोकेका दलको आवाज जनताले नसुन्ने किन बनाइएको ?
देश बनाउन र विकास गर्न आवश्यक आधारभूत चिज के हुन् ? जनताले थाहा पाउनु पर्दैन । कि उपनिवेशिक दिमाग बोकेर देश बन्ने हो, अरू केही चाहिँदैन ।
राजनीति भनेको के हो ? बुझ्ने कोसिससम्म किन गरिन्न/गराइन्न ? अहिले देश युद्धविहीन शरणार्थी निर्यात गर्ने अवस्थाबाट गुज्रिएको छ । हाम्रो शरीर स्वतन्त्रजस्तो देखिन्छ तर दिमाग बाह्य कब्जामा छ । यस्ता कुरा जनताले बुझ्नुपर्छ । यसबारेमा छलफल खै ? बहस खै ? विनाअर्थका साम्राज्यवादी एजेन्डामा मात्रै राजनैतिक दल र जनतालाई कति लडाइँ राख्ने हो । सिद्धान्तविहीनले म विकास गर्छु, म देश बनाउँछु भन्न जान्नु मात्रै नेता हुनु हो । यो कसलाई भन्न आउँदैन । देश बनाउन र विकास गर्न आवश्यक आधारभूत चिज के हुन् ? जनताले थाहा पाउनु पर्दैन । कि उपनिवेशिक दिमाग बोकेर देश बन्ने हो, अरू केही चाहिँदैन । गान्धीको भनाइ छ– म मेरो दिमागमा विदेशीको बुट बजार्न दिन्न । हो, हामीले हाम्रो दिमागमा विदेशीलाई कहिलेसम्म बुट बजार्न दिने ?
औपनिवेशवादीको अर्को हतियार राजनीतिमा अवसरवाद हो । नेपाली राजनीतिमा अवसरवाद अहिले मात्रै देखिएको होइन, नेपाली राजनीतिमा अवसरवादका विरुद्ध कम्युनिस्ट पार्टीले २०१८ सालदेखि लगातार रूपमा सङ्घर्ष गर्दै आयो । तत्कालीन कम्युनिस्ट पार्टीका थुप्रै नेता दरबार पसे । यो संसारले देखेको, देखिने अवसरवाद थियो त्यो तर सिद्धान्त, राजनीति र विचारमा भएको राजनीतिक अवसरवाद सामान्य आखाले आम जनताले देख्न र बुझ्न सक्दैनन् । यसकै सिकार बन्यो नेपाली कम्युनिस्ट आन्दोलन । पछिल्लो भदौ २३/२४ गतेको युवाका आक्रोश र विद्रोहले अवसरवादीको अहङ्कार तोड्ने एउटा प्रयास गरे तर विडम्बना ! हाम्रा युवाले आन्दोलनमा ज्यान गुमाए, घाइते भए तर आन्दोलनले सफलता पाउन सकेन र त्यो आन्दोलनको फाइदा अवसरवादीभन्दा पनि धेरै परका साम्राज्यवादी र तिनका दलालले लिए । सुशासनको मुद्दा कता बिलायो कता ? जनता हेरेकोहेर्यै भए । देशले खर्बौंको क्षति व्यहोर्यो । राजनीतिलाई राजनीतिक ढङ्गले नै हेर्ने चक्षु चाहिन्छ । त्यही हो, क्रान्तिकारी विचार भनेको यसैले राजनीति गर्न सही विचार चाहिन्छ भनिएको हो । राजनीतिलाई सानो अंशमा हेरेर होइन, समग्रमा हेर्न सक्नुपर्छ ।
अहिलेको वैश्विक राजनीति शीतयुद्धकालीन छद्म रूपले अगाडि बढिरहेको छैन । पहिलो र दोस्रो विश्वयुद्धताकाको बहुधुव्र्रीय विश्व बन्ने चरणबाट विश्व राजनीति गुज्रिरहेको छ । विश्व राजनीतिमा नै तीव्र उथलपुथल आउन सक्ने आँकलन भइरहेको बेला हामीले हाम्रो देशमा त्यसको बाछिटा मात्रै पर्न दियौ भने के होला ? अनुमानसम्म गर्न सकिन्न । यसबाट हामीले जोगिने प्रयास गर्नुपर्छ । विश्व राजनीतिका र हाम्रा आफ्ना बेग्लाबेग्लै प्राथमिकता छन । शक्तिराष्ट्रका बेग्लाबेग्लै प्राथमिकता छन् ।
एकातिर अहिले हामीले वैचारिक रूपले राष्ट्र र राष्ट्रियतामाथि भइरहेको बाह्य आक्रमणका विरुद्ध लड्नु परिरहेको छ र यसमा विजयी बन्नुछ । अर्कातिर, हाम्रो देशको सीमा मिचिएको छ । असमान सन्धिसम्झौताले देशको जलस्रोतलगायतका अन्य क्षेत्र आक्रान्त छन । हामीले यी कठिनाइँसँग जुध्नु परिरहेको छ । यो कठिन युद्ध जित्नुछ । यसैले यस्ता यावत् अदृश्य कठिनाइसँग जुध्नुपरेको छ । हाम्रो आफ्नै आन्तरिक राजनीतिक चिन्तन विरुद्ध सङ्घर्ष एकातिर छ भने अर्कोतिर, देश बनाउन के औपनिवेशिक सोचबाट देशले मुक्ति पाउनुनपर्ने हो ? त्यत्तिकै सेलिब्रिटी स्टाइलले देश बन्ने हो । देशलाई अर्धऔपनिवेशिक अवस्थाबाट मुक्ति पाउने उपाय खोज्नुपर्छ, खोजेको खै ? जनताले आफ्नो मत दिने बेला खोजुन् ।
नेपाली राजनीतिमा अवसरवादको साम्राज्य छ र पुँजीवादी राजनीतिक विचारधारा जुन अर्को उपनिवेशकै निरन्तरता हो, यसैले नेपाली राजनीति यति धेरै भ्रष्ट हुन पुगेको हो ।
देश बनाउन हाम्रो आफ्नै ज्ञान नचाहिने हो ? खै ? देशलाई माया गर्ने, देशलाई विश्व मानचित्रमा समृद्ध नेपाल बनाउने खाले हाम्रो आफ्नै ज्ञान उत्पादनमा रातदिन खटिएका हाम्रा बुद्धिजीवी । देश बनाउन आफ्नो उत्पादन प्रणाली नचाहिने हो ? खै ! हाम्रा आफ्ना औद्योगिक ग्राम ? देश बनाउन निशुल्क स्वास्थ्य अनि शिक्षामा उत्कृष्टता नचाहिने हो । खै हाम्रो यस्तो शिक्षा र स्वास्थ्यनीति ? भौतिक पूर्वाधार विकास पुगिसरे भएको हो ? अब गर्नुपर्दैन, पर्छ भने खै विकास निर्माणमा जनतालाई लामबद्ध गर्ने हाम्रो नीति ?
यी यावत् समस्याको समाधानका लागि राजनीतिले बोल्नुपर्छ, तब बन्छ देश तर यस मानेमा सबैभन्दा बढी पीडित छ नेपाली राजनीति । किन यस्तो भयो ? किनकि राजनीतिमा विचारविहीनता हावी छ । सङ्गठनमा अनुशासनहीनता छ । नेपाली राजनीतिमा अवसरवादको साम्राज्य छ र पुँजीवादी राजनीतिक विचारधारा जुन अर्को उपनिवेशकै निरन्तरता हो, यसैले नेपाली राजनीति यति धेरै भ्रष्ट हुन पुगेको हो ।
पुँजीवादकै अभिन्न अङ्ग हो भ्रष्टाचार । यसको विकल्प मात्रै समाजवाद हो, तब बन्छ देश । यसका लागि नेपाली राजनीति सही समाजवादी विचारले ओतप्रोत भएको हुनुपर्छ ।
फागुन २१ गते हुने चुनावको उम्मेदवारी दर्ता सम्पन्न भएको छ । जनताले यी सबै कुराको गहिरो अध्ययन गरुन् । गलत राजनैतिक विचारका विरुद्ध गान्धी र माओ (शान्ति र युद्ध) जस्तै लड्न सक्ने विचार बोकेको राजनीतिक दल को छ ? भनेर खोजुन् र त्यो दलका उम्मेदवारलाई खोजी खोजी यो चुनावमा आफ्नो अमूल्य मत प्रदान गरुन्, तब मात्रै यो देशको राष्ट्रियहित हुनेछ । होइन भने फेरि पनि गलत तत्त्वले राजनीति कब्जा गर्नेछन् । देशमा गलत राजनीतिक दल हावी भए भने अब सुखका होइन, झन् दु:खका दिन नआउलान कसरी नभन्ने । होइन भने २०७९ मङ्सिरमा चुनाव २०८२ भदौमा आन्दोलन, ७ घन्टामा सत्ता परिवर्तन । समयअगावै चुनाव, राजनैतिक अस्थिरता, बेरोजगारी, गरिबी, भ्रष्टाचार, कुशासन, युवा पलायन, नातावाद, कृपावाद, अराजकतावाद चली नै रहन्छ ।
अन्तमा, जबसम्म नेपाली समाजले उल्लेखित कुरा बुझ्दैन । आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण गर्नपट्टि लाग्दैन । आफ्नै अर्थतन्त्र निर्माण गर्दैन । आफ्नै विचार र ज्ञान निर्माण गर्नपट्टि मिहिनेत र दु:ख गर्दैन । आफ्नो देशलाई माया गर्न सक्दैन, तबसम्म दुख पाइरहन्छ । अर्धऔपनिवेशिक अवस्थामा यस्तो भई नै रहन्छ ।
जनता नेताभन्दा बढी जान्ने हुनैपर्छ । नेताले स्वदेशी भाषा बोलेर विदेशी एजेन्डा भित्र्याइरहेको छ कि नेपाली भन्ने कुरा त्यो नेताको बोलाइ, बसाइ, हिँडाइबाटै थाहा पाउन सक्ने सचेत मतदाता/जनता छिट्टै बनुन् । आगामी निर्वाचनमार्फत नेपाली जनताले आफू र देशलाई माया गर्ने सही प्रतिनिधि छान्न सकुन । जनता सचेत हुनुको अर्को कुनै बिकल्प छैन । देश शान्त र समृद्ध बनोस् ।
Email: joshibhism20@gmail.com