कल्पना पौडेल ’जिज्ञासु’ ##
देश फेरि चुनावको मोडमा उभिएको छ ।
नारा धेरै छन्, अनुहार परिचित छन्, तर प्रश्न उही छ ।
के यसपटक राज्यले नागरिकलाई देख्छ ?
शहरका मञ्चबाट बोलेका शब्दभन्दा टाढा
गाउँका भत्केका घर, बेरोजगार युवाका हात,
आमाको आँखामा जमेको आँसु
अझै उत्तर खोजिरहेका छन् ।
यो देशलाई अब भाषण सुन्ने धैर्य छैन ।
घाउमा मल्हम चाहिएको छ,
आँकडामा होइन ।
जीवनमा देखिने परिवर्तन चाहिएको छ ।
हिंसा, अस्थिरता र विभाजनले
हाम्रो भरोसा थकित बनाइसकेको छ ।
जात, धर्म र भूगोलका नाममा
नागरिकलाई टुक्र्याउने राजनीति
अब अस्वीकार्य छ ।
राज्य भनेको सिंहदरबार मात्र होइन,
राज्य भनेको त्यो आमाको आशा हो
जसले सन्तानको भविष्य
भोटपेटिकामा खोजिरहेकी छन् ।
त्यो युवा हो,
जो देशमै पसिना बगाएर बाँच्न चाहन्छ ।
हिमाल, पहाड र तराई
नारा होइनन् ।
यी साझा भविष्य हुन् ।
एकताको कुरा भाषणमा होइन,
नीतिमा देखिनुपर्छ।
चुनाव कुनै उत्सव मात्र होइन,
यो विवेकको परीक्षा हो ।
मतदान अधिकार केवल अधिकार होइन,
जिम्मेवारी पनि हो ।
अब नागरिक चुप छैनन् ।
न वाचा चाहियो, न दया ।
चाहिएको छ ।
न्याय, समानता र उत्तरदायित्व ।
प्रश्न सरल छ, तर गम्भीर ।
अब सरकार नागरिकका लागि बन्छ कि ?
नागरिक फेरि सरकारका लागि पर्खिरहन्छ ?
निर्णय हाम्रो हातमा छ ।
मतपत्र सानो हुन्छ,
तर त्यसले देशको भविष्य लेख्छ ।