काठमाडौँ । नेपाल पत्रकार महासङ्घले ‘पत्रकार आपतकालीन राहतकोष’ स्थापना गरेको छ । महासङ्घ केन्द्रीय समितिबाट ३० लाख रुपैयाँ जम्मा गरेर कोषको स्थापना गरिएको हो ।
कोषमा नेपाल पत्रकार महासङ्घका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार सङ्घ नेजा र नेपालिज जर्नालिस्ट एससिएसन अस्ट्रलियाबाट एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका महासङ्घले जनाएको छ । साथै, महासङ्घका प्रदेश र जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गरिने छ ।
कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षयकोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारहरूलाई राहत उपलब्ध गराउने गरी कोष सञ्चालन निर्देशिका र मापदण्ड तयार गर्ने निर्णय गरिएको महासङ्घले जनाएको छ ।
यस्तै, महासङ्घले श्रमजीवी पत्रकार नियमावलीको व्यवस्थानुसार सञ्चार माध्यमले विज्ञापनको १० प्रतिशत रकमबाट पत्रकार कल्याणकोष स्थापना गर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गरेको छ ।