मोहनविक्रम सिंह ##
‘कामरेड जलजला’ उपन्यासमा क्रान्ति र पार्टीप्रति पूरै समर्पित कैयौँ पात्रको सिर्जना गरिएको छ; जस्तै कि का. अजित, का. जलजला, का. सुनन्दा, का. गढवाली, हर्के, उजेली आदि । ती सबै उच्च क्रान्तिकारी, दार्शनिक वा क्रान्तिकारी विचारद्वारा ओतप्रोत हुन्छन् तर उपन्यासमा डा. जगदीशजस्तो एउटा पात्रको पनि सिर्जना गरिएको छ, जसको मुख्य चरित्र उपन्यासको मूल दृष्टिकोणका विरुद्ध केन्द्रित हुन्छ ।
उपन्यासको मूल दृष्टिकोण विद्यमान शोषणप्रधान र अन्यायपूर्ण सामाजिक व्यवस्थामा आमूल परिवर्तन, एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर संसार निर्माण र त्यो उद्देश्यको पूर्तिका लागि पूर्ण समर्पणको दृष्टिकोण नै हो । त्यस प्रकारको दृष्टिकोणका विपरीत डा. जगदीशमा ढुलमुल र अवसरवादी दृष्टिकोण पाइन्छ । उनी कम्युनिस्ट पार्टीका सदस्य, उच्चस्तरको बुद्धिजीवी र एउटा दार्शनिक पनि हुन् तर उनको कार्यशैली व्यक्तिवादी प्रकारको रहेको छ र उनका लागि माक्र्सवादी–लेनिनवादी सिद्धान्तका कम्युनिस्ट पार्टीको सदस्यता व्यक्तिगत स्वार्थपूर्तिको एउटा साधन मात्र रहन्छ र आफ्ना स्वार्थअनुसार उनी कुनै पनि बेला त्यो सोचाइलाई परिवर्तन गर्न, सौदाबाजी गर्न वा परित्याग गर्न पनि तयार हुन्छन् । त्यसरी उनले उपन्यासमा नकारात्मक प्रवृत्तिको प्रतिनिधित्व गर्छन् र त्यस अर्थमा उनी उपन्यासका प्रमुख खलनायक हुन् । उपन्यासमा उनलाई त्यसरी प्रस्तुत गर्नुको मुख्य उद्देश्य उपन्यासको क्रान्तिकारी पक्षलाई प्रभावशाली प्रकारले स्थापित गर्नु नै हो ।
जस्तै कि उपन्यासमा पहिले पनि चर्चा गरिएको छ, त्यसका दुईओटा मुख्य पात्रहरू का. अजित र का. जलजलाको भूमिका एकदम कम हुन्छ तर सुनन्दा र डा. जगदीश दुवै जना सुरुदेखि अन्तसम्म नै कुनै न कुनै रूपमा रहन्छन् । उपन्यासमा सुनन्दा र डा. जगदीशका बिचमा एक प्रकारले प्रेमको द्वन्द्व रहन्छ र त्यो द्वन्द्व उपन्यासको लगभग प्रारम्भदेखि नै अन्त्यसम्म रहन्छ र उपन्यासको उपसंहारमा गएर त्यो द्वन्द्वको समाधान हुन्छ । उनीहरू दुवै जनाका बिचको प्रेमको द्वन्द्वले उपन्यासको चरित्रलाई अगाडि बढाउन वा त्यसको मूल क्रान्तिकारी दृष्टिकोणलाई स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएको छ । डा. जगदीश भारतीय कम्युनिस्ट पार्टीका एउटा सदस्य थिए । उनी दर्शकका प्राध्यापक थिए र पछि दर्शनसम्बन्धी अनुसन्धानको एउटा प्रोजेक्टअन्तर्गत सोभियत रुस गएका थिए ।
सुनन्दा पहिले कौसानीको लक्ष्मी आश्रममा शिक्षिका थिइन् र बिएको प्राइभेट परीक्षा दिने बेलामा डा. जगदीशले उनलाई ट्युसन पढाएका थिए । त्यो बेलादेखि नै उनले सुनन्दालाई प्रेम गर्न थालेका थिए तर डा. जगदीश कम्युनिस्ट थिए र सुनन्दा गान्धीवादी । उनलाई डा. जगदीशले उनलाई प्रेम गर्दछन् भन्ने कुरा थाहा थियो तर उनी गान्धीवादी भएको हुनाले एउटा कम्युनिस्टसित प्रेम वा विवाह गर्नका लागि उनको मन कहिल्यै पनि तयार हुँदैनथ्यो ।
सुनन्दा र विद्या लखनऊबाट कौसानी जाँदै थिए । उनीहरू हल्द्वानीको स्टेसनमा उत्रिँदा डा. जगदीश सुनन्दाको स्वागत गर्न हल्द्वानी स्टेसनमा उभिएका थिए । त्यो बेला उनी एउटा रसियन प्रोजेक्टमा रुस जान थालेको कुरा थाहा पाएर विद्याले उनलाई सोभियत संशोधनवादी बताएकी थिइन् । सुनन्दा एउटा गान्धीवादी युवती थिइन् र कम्युनिस्टका दक्षिणपन्थी, उग्रवामपन्थी, संशोधनवादी आदि जस्ता शब्दावलीसित उनको कुनै सरोकार थिएन र त्यसैले त्यो बेला उनले विद्याको त्यो कुराप्रति उनको कुनै ध्यान गएको थिएन ।
सुनन्दाले पिएचडीको लागि सिनोप्सिस तयार पार्दै थिइन् र उनी जेनयूको पुस्तकालयमा बसेकी थिइन् । त्यही बेला डा. जगदीश अकस्मात् उनका अगाडि आइपुगे । वास्तवमा उनी सुनन्दालाई उनको सिनोप्सिस तयार पार्न उनलाई मदत गर्न नै रुसबाट दिल्ली आइपुगेका थिए । त्यसबाट उनले सुनन्दालाई कति धेरै माया गर्दथे ? त्यो बुझ्न गाह्रो पर्दैनथ्यो । सुनन्दाले पनि त्यो कुरा मनमनै महसुस गरिन् तर उनी कम्युनिस्ट थिइन् । त्यसकारण उनले उनलाई प्रेम गर्न सक्दैनथिन् ।
सुनन्दाको सिनोप्सिसका विषयबारे छलफल गर्ने सिलसिलामा दुवैको छलफल छिट्टै नै दर्शनमा केन्द्रित भयो । डा. जगदीशले माक्र्सवादी दर्शनबारे आफ्ना विचार प्रकट गर्न थालेका थिए भने सुनन्दाले गान्धीवादी दृष्टिकोणले आफ्ना विचार प्रकट गरिरहेकी थिइन् । उनीहरूले हिमालयको विषयमा कुरा गर्दै थिए । कुनै दिन टेथिस महासागर भएको ठाउँमा हिमाल उत्पन्न भएको थियो । कुनै दिन दक्षिण अमेरिकाको एउटा शिखर संसारको सबैभनदा अग्लो शिखर मानिन्थ्यो तर पछि सगरमाथा नै संसारको सर्वोच्च शिखर साबित भयो । त्यसबाट सत्य स्थिर हुन्न र त्यो सापेक्ष हुन्छ भन्ने कुरा प्रमाणित हुन्छ ।
डा. जगदीशले उक्त कुरा बताउने बेलामा उनले यो पनि बताए, ज्ञानको विकास द्वन्द्वात्मक प्रकारले हुन्छ । द्वन्द्ववादको कुरा सुनेर सुनन्दाले उनलाई हेगेलको भाषा बोल्न थालेको बताइन् । डा. जगदीशले भने– उनले हेगेलको होइन, माक्र्सको भाषा बोलिरहेका थिए । त्यस सिलसिलामा उनले भने : ‘हेगेलको द्वन्द्ववाद आदर्शवादी थियो, तर माक्र्सले त्यसलाई भौतिकवादी रूप दिए–सामान्य प्रकारको भौतिकवादी होइन, द्वन्द्वात्मक भौतिकवादी । त्यस सिद्धान्तलाई उनले इतिहास र समाजको विकासको क्षेत्रमा प्रयोग गरे । त्यो ऐतिहासिक भौतिकवाद हो । ऐतिहासिक भौतिकवादले समाज र इतिहासको विकासलाई गतिशील र द्वन्द्वात्मक अर्थमा बुझ्छ, अनि समाजका सबै मूल्य र मान्यतालाई पनि ।’

सुनन्दाले भनिन्– ‘तपाईंले फेरि माक्र्सवादको भाषण दिन थाल्नुभयो ।’
‘मैले तिमी गान्धीवादी भएको कुरा फेरि बिर्सेछु तर सत्य सापेक्ष र गतिशील हुन्छ भन्ने कुरा तिमीले मानिसकेकी छ्यौ ।’
‘त्यसको अर्थ कम्युनिस्ट भएँ भन्ने होइन । सबै कुरा परिवर्तनशील हुन्छन् । त्यस कुरामा तिम्रो चित्त बुझिसकेको छ । त्यस नियमअनुसार कुनै दिन गान्धीवादीबाट तिमी कम्युनिस्ट पनि बन्न सक्छ्यौ ।’
‘त्यसअनुसार ता कुनै दिन तपाईं पनि कम्युनिस्टबाट पुँजीवादी बन्न सक्नुहुन्छ ।’
‘तिम्रो कुरा सिद्धान्तत: सही छ तर त्यससित जोडिएको त्योभन्दा महत्त्वपूर्ण सिद्धान्त हो : विपरीत तत्त्वका बिचमा एकता । यसरी नै प्रकृति, समाज कुनै व्यक्तिको विचार वा व्यक्तित्वको पनि परिवर्तन वा विकास हुँदै जान्छ । तिमी कुनै दिन पर्वतारोही थियौ तर त्यस बाटोलाई छाडेर तिमी गान्धीवादी भयौ । पर्वतारोहण तिम्रा लागि अतीतको कुरा भएको छ । वास्तविक कुरा यो हो कि अन्य सबै कुरामा जस्तै मानिसको विचारमा हुने परिवर्तन वा विकासमा पनि परिस्थिति वा वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ तर त्यसको अर्थ त्यस प्रकारको परिवर्तनमा आत्मगत पक्ष वा चेतनाको कुनै भूमिका हुन्न भन्ने होइन । त्यसरी तिमीले वा मैले थाहा नपाईकन हाम्रो दृष्टिकोण विपरीत दिशामा परिवर्तन भयो भने त्यो कुनै आश्चर्यको कुरा हुने छैन ।
डा. जगदीशको कुरालाई सुनन्दाले सिधै खण्डन गर्न सकिनन् । उनको तर्क धेरै बलियो थियो । त्यसमा काफी आधार थियो । अब साँझ पर्न थालेको थियो र दुवै जना पार्कबाट बाहिर निस्के ।
पार्कबाट बाहिर निस्कने बेलामा सुनन्दाको मनमनै डा. जगदीशले भनेको एउटा कुराप्रति बारम्बार ध्यान गइरहेको थियो । उनले भनेका थिए, कुनै दिन उनको (सुनन्दाको) विचारमा परिवर्तन भएर उनी कम्युनिस्ट पनि बन्न सक्नेछिन् । त्यो कुरा सोचेर उनलाई आफ्नो मनमा धेरै नै हाँसो लागिरहेको थियो । के त्यस्तो पनि हुन सक्छ ? त्यो कहिल्यै पनि सम्भव नहुने कुरा थियो । कम्युनिस्ट बन्ने कुरा उनले कहिल्यै पनि कल्पना गर्न सक्दिनथिन् ।
उनले कल्पना गर्न सक्दैनथिन् कि त्यो बेला उनले जुन कुरालाई ‘कहिल्यै पनि सम्भव नहुने कुरा’ वा ‘कहिल्यै पनि कल्पना गर्न नसक्ने’ कुरा ठान्दथिन्, उनको जीवन त्यही दिशामा बढ्दै जानेछ । त्यो कार्य वातावरण वा परिस्थितिका कारणले हुनेछ वा आत्मगत चेतनाको कारणले ? त्यो कुरा भविष्यमा नै थाहा हुने कुरा थियो ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “त्यो बेला डा. जगदीशका मनमा अर्कै कुरा खेलिरहेको थियो । वास्तवमा उनले सुनन्दालाई धेरै नै माया गर्दथे । प्रेम नै गर्दथे तर त्यो कुरा सुनन्दाका अगाडि कसरी प्रकट गर्ने ? त्यसबारे उनले केही सोच्न सकिरहेका थिएनन् । उनी कम्युनिस्ट, सुनन्दा गान्धीवादी । उनीहरूका बिचमा विचार र दर्शनको ठुलो पर्खाल थियो ।”
त्यो नै उनीहरूको बिचमा विवाहका लागि ठुलो बाधा वा समस्या थियो । उनलाई (डा. जगदीशलाई) सुन्दरलाल बहुगुणा र विमला बहुगुणाको विवाहको प्रसङ्ग थाहा थियो । विमला गान्धीवादी र विनोवा भावेकी भक्त थिइन् । सुन्दरलाल भारतीय काङ्ग्रेसका नेता । गान्धीको मृत्युपछि विनोवा भावे राजनीतिबाट अलग भएर पूरै सामाजिक सेवामा लागेकी थिइन् । विमलाले पनि त्यही सिद्धान्तलाई अपनाएकी थिइन् । अन्तमा सुन्दरलालले काङ्ग्रेस वा राजनीति छाडेर पूरै समाज सेवामा लाग्ने निर्णय गरेपछि नै उनीहरू दुवै जनाका बिचमा विवाह भएको थियो । डा. जगदीशलाई लागेको थियो, सुनन्दा पनि एउटा कम्युनिस्टसँग विवाह गर्न पक्कै पनि तयार हुने छैनिन् ।”
डा. जगदीश ठुलो असमञ्जसमा थिए । त्यही असमञ्जसका बिचबाट नै उनी रुसबाट भारतमा सुनन्दालाई भेट्न आएका थिए । त्यो असहज स्थिति अहिले पनि विद्यमान थियो । त्यो बाधा फुकाउने उपाय के थियो ? त्यो समस्याको समाधान कसरी सम्भव थियो ? उनले केही सोच्न सकिरहेका थिएनन् । उनले न त्यो बाधा हटाउने कुनै उपाय देख्दथे, न त्यो समस्याको कुनै समाधान नै फेला पार्न सकेका थिए ।
उनले मनमनै सोच्थे, सुनन्दा आफ्नो विचार बदल्न तयार नभए उनले पनि आफ्नो विचार बदल्न सक्दैनथे । गान्धीवादभन्दा माक्र्सवादी दर्शन कैयौँ गुणा बढी उच्च, वैज्ञानिक र क्रान्तिकारी सिद्धान्त थियो । कसैसित विवाह गर्नका लागि उनले कसरी आफ्नो विचार बदल्न सक्दथे ? त्यसको परिणाम के हुन्थ्यो ? उनीहरूको विवाह हुन सक्दैनथ्यो । त्यस सच्चाइले उनलाई धेरै दु:ख र पीडा दियो ।
उपन्यासमा अगाडि लेखिएको छ– “उनका मनमा अकस्मात् एउटा विचार आयो, शान्तिपूर्ण सहअस्तित्वको विचार । त्यस सिद्धान्तअनुसार जब समाजवादी देश वा साम्राज्यवादी देशका बिचमा शान्तिपूर्ण सहअस्तित्व कायम हुन सक्दथ्यो भने आफ्नो आफ्नो सिद्धान्त वा आस्थालाई कायम राखेर पनि उनीहरूका बिचमा मैत्रीपूर्ण सम्बन्ध कायम हुन सक्दथ्यो भने उनीहरू दुवै जनाका सिद्धान्त बेग्लाबेग्लै भए पनि एउटा कम्युनिस्ट र अर्को गान्धीवादी भए पनि उनीहरूका बिचमा विवाह हुन किन सम्भव हुन सक्दैनथ्यो ?
डा. जगदीशले सुनन्दा र उनका बिचको समस्याको हल निकालेका थिए । उनी मनमनै धेरै खुसी भए । उनको मुख उज्यालो भयो । डा. जगदीशको चेहरामा अकस्मात् आएको त्यो परिवर्तन सुनन्दाबाट लुकेन ।
उनले भनिन्– ‘तपाईंलाई के भयो अकस्मात् ? अकस्मात् तपाईंको चेहरा उज्यालो देखियो ।’
डा. जगदीशले भने– ‘केही होइन ।’
त्यो बेला उनले यो कुरा खोलेर भन्न सक्दैनथे : उनको त्यो प्रसन्नता वा हाँसो सुनन्दासित सम्बन्धित थियो । दुवै जनाको जीवन र भविष्यसित सम्बन्धित थियो । दुवै जनाको सुखी दाम्पत्य जीवनसित । उनको मनको त्यो भाव उनको ओठको हाँसोमा प्रकट भएको थियो । उनले सुनन्दातिर हेरेर हाँसे । सुनन्दा पनि डा. जगदीशको मुखमा हेरेर हाँसिन् ।
डा. जगदीशको मुखमा देखा परेको हाँसोको अर्थ के थियो ? उनले केही बुझेकी थिइनन् । उनी केही नबुझीकन हाँसेकी थिइन् । डा. जगदीशले सुनन्दाको हाँसोलाई सकारात्मक अर्थमा लिए । उनले सुनन्दाको त्यो हाँसोलाई मनमनै जे कुरा सोचेका थिए, त्यसका पक्षमा शुभसङ्केतको अर्थमा लिए र उनी धेरै नै प्रफुल्ल भए ।
सुनन्दा विद्याले आग्रह गरेपछि कामरेड जलजलालाई खोज्न नेपालतिर लागेकी थिइन् । सुनौलीबाट भैरहवा गएपछि उनी गिरफ्तार भएकी थिइन् । पछि उनलाई काठमाडौँ जेलचलान गरिएको थियो र त्यहीँबाट जेलमुक्त पनि भएकी थिइन् । भैरहवा जेलमा संयोगवश उनलाई माक्र्सवादी–लेनिनवादी पुस्तक प्राप्त भएका थिए र त्यो अध्ययनको परिणामस्वरूप उनको माक्र्सवादी–लेनिनवादी दर्शन र कम्युनिस्ट आन्दोलनप्रति आस्था बढेको थियो ।
एक दिन बिहान विद्या काठमाडौँको एक जना परिचित व्यापारीकहाँ गएर फर्कंदा सुनन्दा नामको डा. जगदीशको पत्र ल्याएर आएकी थिइन् । त्यो पत्र डा. जगदीशले रुसबाट पठाएका थिए । त्यो पत्रमा उनले सुनन्दालाई सम्बोधन गर्दै लेखेका थिए :
“प्रिय सुनन्दा, मैले तिमीलाई प्रेम गर्दछु र विवाहका लागि प्रस्ताव गर्दछु । मैले उत्सुकतापूर्वक तिम्रो जबाफको प्रतीक्षा गर्दैछु ।”
विद्याले डा. साहेबले चिठीमा के लेख्नुभएको थियो भनेर सोधिन् । उनले चिठीमा डा. जगदीशले विवाहको प्रस्ताव राखेको कुरा बताइदिइन् ।
त्यस सन्दर्भमा उनले यो पनि बताएकी थिइन्, उनले उनलाई प्रेम गर्दछन् भन्ने कुरा उनलाई पहिलेदेखि नै थाहा थियो । उनको मनमा उनीप्रति प्रेमको कुनै भावना थिएन भन्न पनि मिल्दैनथ्यो । उनले पनि उनीप्रति आकर्षण महसुस गर्दथिन् । उनले उनीप्रति गहिरो प्रकारको आत्मीयता र स्नेह अनुभव गर्दथिन् तर उनीहरूको विवाहमा एउटा गम्भीर समस्या थियो । उनी गान्धीवादी थिइन् र डा. जगदीश कम्युनिस्ट । एउटा गान्धीवादीले कम्युनिस्टसित विवाह गर्नु सम्भव थिएन ।
सुनन्दा पनि अब पहिलेजस्तो गान्धीवादी थिइनन् र उनको माक्र्सवादी–लेनिनवादी दर्शनमाथि विश्वास बढेको थियो । त्यसरी उनीहरूका बिचमा विवाहका लागि जुन वैचारिक मतभेद एउटा बाधा बनेर उभिएको थियो, त्यो समस्याको अब काफी हदसम्म समाधान भएको थियो । उनले त्यो सबै कुरा खोलेर ता विद्यालाई बताइनन् तर उनले यो कुरा अवश्य बताइन् । अब उनको मनमा डा. जगदीशप्रति पहिलेजस्तो पूरै नकारात्मक दृष्टिकोण थिएन । कुनै निष्कर्षमा पुग्न उनलाई केही समय लाग्न सक्दथ्यो तर सायद त्यसबारे उनको जबाफ काफी हदसम्म सकारात्मक हुन सक्दथ्यो ।
दिल्लीमा एउटा बस दुर्घटनामा कामरेड जलजलाको मृत्युबाट सुनन्दालाई ठुलो आघात पुगेको थियो । त्यो शोकका कारणले उनलाई दिल्लीमा बस्न नै मन लागेको थिएन । उनी त्यहाँबाट कतै टाढा जान चाहन्थिन् । त्यही बेला रुसबाट डा. जगदीशको पत्र आयो । त्यसमा उनले विवाहको प्रस्ताव राखेका थिए । उनले यो पनि लेखेका थिए, उनको त्यो प्रस्ताव उनले स्वीकार गरेमा उनी विवाहको लागि भारतमा आउन पनि तयार थिए वा उनले चाहेमा उनी नै रुस आएर पनि त्यो विवाह हुन सक्दथ्यो । त्यसपछि उनले विवाहको त्यो प्रस्तावलाई स्वीकार गरेर तुरुन्तै रुस जाने निर्णय गरिन् । डा. जगदीशले उनका लागि पेरिसको प्लेनको टिकट पठाइदिए र उनी त्यसतर्फ लागिन् ।
अब प्लेन छिटै पेरिसको एयरपोर्टमा उत्रिँदै थियो । डा. जगदीश उनलाई लिन त्यहाँ आउने कुरा थियो । उनी उनीसित विवाह गर्न रुस जाँदै थिइन् । दिल्लीबाट टाढा आउन पाएकोमा उनलाई केही सन्तोष लागिरहेको थियो तर बारम्बार उनको मनमा यो प्रश्न उठिरहन्थ्यो : के उनले जलजलाको मृत्युको कारणले दिल्लीबाट टाढा जानको लागि नै त्यो विवाहको प्रस्तावलाई स्वीकार गरेकी थिइन् वा के उनले डा. जगदीशलाई साँच्चिकै प्रेम गर्दथिन् ?
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “पहिले उनले डा. जगदीशलाई आफ्नो एउटा गुरु वा पथप्रदर्शकका रूपमा मात्र हेर्थिन् । त्यो बेला पनि उनका मनमा उनीप्रति धेरै नै सम्मान र आत्मीयताको भावना हुन्थ्यो तर अब उनीहरूको सम्बन्धमा एउटा गुणात्मक फड्को आएको थियो ।
पहिले डा. जगदीशप्रतिको उनको भावनामा उनका मनमा भएको ‘मात्रात्मक प्रकारले’ परिवर्तन हुँदै गयो र अब एउटा विन्दुमा पुगेपछि त्यसमा गुणात्मक परिवर्तन भएको थियो । त्यो सम्बन्धमा गुणात्मक फड्को थियो– विवाह ।
अब उनी आफूलाई आफ्नो जीवनलाई सम्पूर्ण रूपले डा. जगदीशलाई समर्पण गर्न गइरहेकी थिइन् तर सायद होइन । त्यो कुरा सत्य थियो ।
सायद पूरा सत्य थिएन । उनले आफूलाई सम्पूर्ण रूपले डा. जगदीशलाई होइन, पार्टी र क्रान्तिलाई समर्पण गरेकी थिइन् ।
उनले आफ्ना अगाडि उभिएका डा. जगदीशलाई हेरिन् । अब उनी पहिलेका डा. जगदीश थिएनन् । अब उनीहरूका बिचको सम्बन्धमा वैचारिक र भावनात्मक दुवै प्रकारले नयाँ आयाम थपिएको थियो । अब उनले उनीसित (डा. जगदीशसित) विवाह गर्ने निर्णय गरेकी थिइन् ।
दुईओटा विन्दु एकै ठाउँमा मिलेका थिए । त्यसरी एउटा रेखा निर्माण भएको थियो तर सीधा वा वक्ररेखा ? सायद ती दुवैको बिचमा विभाजन गर्नु सरल थिएन । सायद दुवै एकअर्कामा अन्तर्निहित हुन्छन् ।
सरल रेखा वक्ररेखामा बदलिन सक्दछ । वक्ररेखा सरल रेखामा । सायद जीवन पनि त्यस्तै हुन्छ । त्यो सधैँ सरल रेखामा अगाडि बढ्दैन । त्यसमा कैयौँ उतारचढाव, घुम्ती वा वक्ररेखा हुन्छन् । सायद उनीहरूको जीवन पनि सधैँ र पूरै सरल रेखामा अगाडि बढ्ने छैन ।
त्यसमा कतिपय उतारचढाव हुन सक्नेछन् । घुम्ती हुनेछन् । वक्ररेखा हुने छन् । ती कहिले, कहाँ र कसरी हुनेछन् ? अहिले नै अन्दाज गर्नु सम्भव थिएन । ती भविष्यका कुरा थिए तर अहिलेको कुरा यो थियो : अब उनीहरू दुवै जनाको जीवन, भविष्य एउटै बन्न गइरहेको थियो ।
सबैभन्दा बढी उनलाई यो कुराको खुसी लाग्यो, उनीहरू दुवै जना पार्टीका कार्यकर्ता बन्नेछन् । सँगसँगै पार्टी र क्रान्तिका लागि काम गर्नेछन् । विद्यमान शोषणप्रधान समाजमा आमूल क्रान्तिकारी परिवर्तन ल्याउनका लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्नेछन् । उनीहरूको त्यस प्रकारको जीवन हर्के र उजेली वा अजित र जलजलाको जस्तो हुनेछ ।”
उपन्यासमा त्यस सिलसिलामा अगाडि लेखिएको छ– हर्के र उजेली “कुनै बेला उनीहरू जेलमा हुन्थे, कुनै बेला भूमिगत तर जहाँ भए पनि उनीहरू एउटै दिशा र लक्ष्यतिर अगाडि बढिरहेका हुन्थे । त्यसैले जस्तोसुकै कठिन अवस्थामा पनि उनीहरू प्रसन्न हुन्थे । उनको अगाडि एउटा दृश्य घुम्यो, उनी र डा. जगदीश त्यही प्रकारको जोडी बन्नेछन् ।”
डा. जगदीशको योग्यता, क्षमता र विद्वता, मुख्यत: माक्र्सवादी–लेनिनवादी दर्शनमाथिको उनको उच्चस्तरको ज्ञान र विश्वासबारे उनलाई राम्ररी ज्ञान थियो । त्यसकारण उनलाई यस कुरामा कुनै द्विविधा लागिरहेको थिएन कि उनको योग्य पथप्रदर्शन र साथ पाएर उनी लगातार क्रान्तिको दिशामा अगाडि बढिरहन सक्नेछन् । त्यसरी उनी जलजला दिदीको योग्य उत्तराधिकारी बन्न सक्नेछिन् । उनले मनमनै प्रतिज्ञा गरिन्, दिदी, म तपाईंले देखाएको बाटोमा सधैँ अगाडि बढिरहनेछु ।
उपन्यासमा अगाडि लेखिएको छ– “उनी भारतीय नागरिक थिइन् तर उनले नेपालको कम्युनिस्ट पार्टीमा सदस्यताका लागि दर्खास्त दिएकी थिइन् । त्यो कुराले केही फरक पर्दैनथ्यो । कम्युनिस्ट अन्तर्राष्ट्रवादी हुन्छन् । त्यसैले उनी जुनसुकै देशको नागरिक भएता पनि उनले जुनसुकै देशको पार्टीकी सदस्य भएर काम गर्न सक्दथिन् । उनी कम्युनिस्ट पार्टीमा सामेल भएकी थिइन् । त्यो कुराले उनलाई धेरै सन्तोष दिएको थियो ।
उनले त्यसबारे डा. जगदीशलाई केही बताएकी थिइनन् । उनीहरूको भर्खर मात्र भेट भएको थियो । बताउने मौका पनि मिलेको थिएन । उनले उपयुक्त समयमा त्यसबारे डा. जगदीशलाई बताउने छिन् । उनले सोचेकी थिइन्, विवाहको पहिलो रातमा नै उनले त्यो कुरा डा. जगदीशलाई बताउने छिन् । त्यो उनको उनलाई (डा. जगदीशलाई) विवाहको पहिलो उपहार हुनेछ । उनी कम्युनिस्ट भएको थाहा पाएर उनी (डा. जगदीश) कति धेरै खुसी हुनेछन् ? त्यो उनका लागि एउटा ‘सरप्राइज’ नै हुनेछ ।
डा. जगदीश पनि चुपचाप थिए तर उनको मन शान्त थिएन । उनको मनमा कैयौँ कुरा खेलिरहेका थिए र उनले मनमनै कैयौँ योजना बनाइरहेका थिए । ती सबै योजना सुनन्दासितको उनको विवाह र उनीहरू दुवै जनाको भावी जीवनसित नै सम्बन्धित थिए ।
उनको आर्थिक स्थिति राम्रो थियो । दिल्लीमा उनको आफ्नै घर थियो । गढवालमा पनि उनको पैत्रिक घर थियो । अब उनले मस्कोमा पनि एउटा घर वा कमसेकम एउटा फ्ल्याट किन्ने योनजा बनाइरहेका थिए । उनले रुसको जुन प्रोजेक्टमा काम गरिरहेका थिए, त्यसबाट पनि उनलाई राम्रै आम्दानी भएको थियो । त्यसकारण मस्कोमा घर वा फ्ल्याट किन्नु उनका लागि कुनै कठिन कुरा थिएन ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनले आफ्ना ती सबै योजनाबारे सुनन्दासित कुरा गर्न चाहन्थे । ती सबै कुरा थाहा पाएर उनी कति धेरै खुसी हुनेछिन् ? सुनन्दाका सुझावका आधारमा उनले आफ्नो घरको नक्सामा परिवर्तन गर्न सक्थे । आखिर उनी एउटा माक्र्सवादी–लेनिनवादी थिए । उनले नारीलाई पनि पुरुषसरह अधिकार दिनुपर्दछ भन्ने कुरामा विश्वास गर्दथे । त्यसैले उनले सुनन्दाका सुझाव लिएर आफ्नो योजनामा संशोधन वा परिवर्तन पनि गर्न चाहन्थे ।
अब उनी पहिलेजस्तो कट्टर कम्युनिस्ट थिएनन् । उनको विचारमा धेरै परिवर्तन भएको थियो । उनको सोचाइ पहिलेको तुलनामा धेरै बदलिएको थियो । अब उनी बढी व्यावहारिक भएका थिए । एउटा कम्युनिस्टले खालि पार्टी र क्रान्तिबारे मात्र सोचेर पुग्दैन, उसले आफ्नो व्यक्तिगत जीवनबारे पनि सोच्नुपर्छ । आफ्नो व्यक्तिगत भविष्य पनि बनाउनुपर्दछ ।
रुस समाजवादको उच्च शिखरमा पुगेको थियो तर अब त्यहाँको कम्युनिस्ट पार्टीले पनि माक्र्सवादी–लेनिनवादी सिद्धान्त र समाजवादी व्यवस्थामा सिर्जनात्मक विकास गर्न थालेको थियो । त्यसले पहिलेका जडवादी विचारलाई छाड्दै गइरहेको थियो । अब रुसका कम्युनिस्ट पनि सर्वहारा थिएनन् । उनीहरू धनी र सम्पन्न हुँदै गइरहेका थिए ।
अब उनको विचारमा पनि सिर्जनात्मक विकास भएको थियो । त्यसअनुसार उनका लागि पनि माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा कम्युनिस्ट पार्टी मुख्य कुरा थिएन । उनको जीवन र भविष्य उनका लागि मुख्य कुरा थिए । यदि सुनन्दाले चाहेमा उनी आफ्नो माक्र्सवादी–लेनिनवादी सोचाइमा परिवर्तन गर्न वा कम्युनिस्ट पार्टी छाड्न पनि तयार थिए ।
आखिरमा उनले एक प्रकारले कम्युनिस्ट पार्टीलाई छाडेका नै थिए । उनी धेरै पहिले कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए । त्यसबाट उनलाई धेरै फाइदा पनि भएको थियो । पार्टीको सदस्य भएको नाताले नै उनलाई रुसको प्रोजेक्टमा आउने अवसर प्राप्त भएको थियो तर अब उनलाई माक्र्सवाद–लेनिनवाद वा पार्टीको कुनै मतलब थिएन ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– डा. जगदीशका मनमा यो कुरा पनि आएको थियो, “सुनन्दा गान्धीवादी थिइन् । माक्र्सवादको उनले विरोध गर्थिन् । उनका लागि उनको प्रेमका लागि उनी औपचारिक रूपले नै माक्र्सवाद वा कम्युनिस्ट पार्टीलाई छाड्न तयार थिए । त्यो कुरा थाहा पाएर सुनन्दा पनि कति खुसी हुनेछन् ? तर अहिले होइन, रुसमा पुगेर नै उनले सुनन्दालाई त्यो कुरा बताउनेछन् ।
उनीहरूको ट्याक्सी अपेरानजिकैको एउटा होटलका अगाडि गएर रोकियो । त्यहाँ डा. जगदीशले पहिले नै एउटा कोठा बुक गरेका थिए । त्यो कोठामा पुगेपछि उनले आफ्नो एउटा मित्र डा. जोसेफलाई फोन गरे । उनकी साली जुलियटले सुनन्दा र डा. जगदीशलाई पेरिस सहरको भ्रमणमा गाइड गर्ने सल्लाह थियो । जुलियट पनि वामपन्थी विचार राख्ने युवती थिइन् । त्यो थाहा पाएर डा. जगदीशले मनमनै सोचे, त्यो कुरा उनलाई पक्कै पनि राम्रो लागेको थिएन । गान्धीवादी विचार राख्ने व्यक्तिलाई त्यो राम्रो लाग्ने कुरा पनि थिएन तर जुलियटको माक्र्सवादप्रति झुकाव भए पनि त्यसले केही फरक पार्दैनथ्यो, कुरा खालि पेरिसका ऐतिहासिक स्थान वा म्युजियमको अध्ययनको मात्र थियो । माक्र्सवादले त्यस विषयमा कुनै अन्तर ल्याउँदैनथ्यो । डा. जगदीशले सोचे, जुलियट माक्र्सवादी भएको कुरा सुनेर सुनन्दालाई केही नराम्रो लागेको भए पनि उनले (डा. जगदीशले) आफ्नो विचारमा परिवर्तन गर्न तयार भएको वा पार्टी पनि छाड्न तयार भएको थाहा भए उनी धेरै खुसी हुनेछिन् । त्यसरी मस्को पुगेपछि उनका मनको अप्रशन्नता वा दु:खको कैयौँ गुणा बढी क्षतिपूर्ति हुनेछ ।
जुलियटले भनिन्, तपाईंहरूले विनाहिचकिचाहट आफ्नो विचार बताउन सक्नुहुन्छ । मैले भारतको भ्रमण गरेर आएकी छु । भारतीय जनताप्रति मेरो मनमा अगाध प्रेम छ । फेरि तपाईंहरूको र मेरो विचार पनि मिल्छ । माक्र्सवादीले राष्ट्रियताबाटमाथि उठेर अन्तर्राष्ट्रवादमाथि विश्वास गर्दछन् । यसकारण हाम्रो अगाडि राष्ट्र, जाति, धर्म, भाषा, सम्प्रदायको कुनै सीमा हुन्न । त्यसकारण तपाईंहरू भारतीय र म फ्रेन्च भए पनि हामी एउटै हौँ । त्यसकारण तपाईंहरूले विनाहिचकिचाहट आफ्नो सबै इच्छा बताउन सक्नुहुन्छ । तपाईंहरूलाई मदत गर्न पाउँदा मलाई धेरै खुसी लाग्नेछ ।
अब जुलियट सामान्य युवतीभन्दा बढी फ्रान्सका मिहिनेतकश जनता र क्रान्तिकारी आन्दोलनको प्रतिनिधिजस्ती देखिएकी थिइन् । त्यो सोचेर उनीप्रति सुनन्दाका मनमा गहिरो आत्मीयता र आदरको भाव पैदा भयो । त्यो सर्वहारा अन्तर्राष्ट्रवादको भाव थियो तर जुलियटको कुरा सुनेर डा. जगदीशलाई झर्को लागेको थियो । उनी मनमनै अप्रसन्न पनि भएका थिए । उनले सुनन्दालाई पेरिसका सुन्दर दृश्य देखाउन खोजेका थिए तर जुलियटले सुरुमा नै राजनीतिक भाषण गरेर माक्र्सवाद र साम्राज्यवादका कुरा गरेर पेरिसको दृश्यावलोकनलाई एक प्रकारले खल्लो बनाइदिएकी थिइन् । जुलियटको भाषण सुनेर सुनन्दालाई कति धेरै नमज्जा लागेको थियो होला । स्वयम् डा. जगदीशलाई पनि जुलियटको भाषण राम्रो लागेको थिएन तर उनले प्रकट रूपमा केही भनेनन् ।”