काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) लाई हेलचेक्राईं गर्ने एक ३० वर्षीय युवकको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
अमेरिकाको टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोनाभाइरसलाई मिथ्या ठान्ने ति व्यक्ति अर्का संक्रमित व्यक्तिले आयोजना गरेको ‘कोभिड–१९’ पार्टीमा सहभागी भएका थिए ।
एउटा भिडिओमार्फत् मेथडिस्ट अस्पतालका प्रमुख स्वास्थ्य अधिकारी जेन एपलबाइले त्यस्तो विशेष कोभिड जमघटको कथा बताएकी थिइन् । ती व्यक्तिले बताएअनुसार त्यस जमघटमा को पहिले संक्रमित हुने र को त्यसबाट जोगिन सक्ने भन्ने प्रतिस्पर्धा चलेको थियो ।
ती बिरामीले ज्यान गुमाउनुभन्दा केही बेरअघि सघन उपचार कक्षकी नर्सलाई आफूले त्यस्तो पार्टीमा सहभागी भएर गल्ती गरेको बताएका थिए ।
कोरोनाभाइरस महामारीले विश्वभरि त्रास सिर्जना गरिरहेको भए पनि विभिन्न देशमा यसलाई मिथ्या ठान्ने र हलुका रूपमा लिने प्रवृत्ति विद्यमान छ ।
अमेरिकामा विश्वकै सबभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यहाँ ३० लाखभन्दा धेरै मानिसलाई कोरोनाभाइरस संक्रमण भइसकेको छ । साथै त्यहाँ उक्त संक्रमणका कारण सवा लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।
तर अझैपनि त्यहाँ कतिपय मानिसहरूमाझ कोरोनाभाइरसको यथार्थलाई लिएर भ्रम व्याप्त रहेको बताइन्छ । अनुहार ढाक्ने मास्क लगाउने विषय पनि त्यहाँ राजनीतिको सिकार भइरहेको बताइन्छ ।
कतिपयले मास्क लगाउने विषयलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेका छन् । हालैका दिनमा राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक सार्वजनिक स्थलमा मास्क प्रयोग गरेका थिए । बीबीसी
