काठमाडौँ । भारतीय न्युज च्यानलहरूमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्युज च्यानलमाथिको बन्देज परिस्थितिअनुकूल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।
मिडिया सोसाइटीका प्रतिनिधिसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थितिअनुकूल भएर ती मिडिया नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकलाई आग्रह गरिएको बताउनुभयो । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकले राष्ट्रियताप्रतिको जिम्मेवारीबोध गर्दै बन्द गरेका भारतीय न्युज च्यानलमाथिको बन्देज तत्काल नखोलिने बताउनुभयो । नेपालीको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढङ्गले जान नसुहाउने भए पनि भारतीय न्युज च्यानल दूरासयपूर्ण ढङ्गले अगाडि बढेकाले तत्काल प्रतिबन्ध नहट्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीको एकताबाट तर्सेको पनि हुन सक्छन । एकताबाट तर्सेर, चित्त नबुझेर भए पनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढङ्गले जुनकुनै पनि मिडियाले सुहाउँदैन । भारतीय मिडियाको कदमलाई हामीले दूरासयपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकले स्वतःस्फूर्त रूपमा राष्ट्रियताप्रतिको जिम्मेवारीबोध गरेर प्रतिबन्ध लगाउनुभयो । परिस्थितिअनुकूल भएर ती मिडिया नसुध्रिँदासम्म प्रतिबन्ध कायम राख्न म आग्रह गर्दछु ।’
नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन÷प्रशारण भएपछि नेपालमा भारतीय न्युज च्यानल बन्द गरिएको छ ।

