काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री शेख हसिना सरकार ढाल्ने जेनजी आन्दोलनका प्रमुख मानिएका उस्मान हादी मारिएका छन् । उक्त घटना पछि देशभरि नै हिंसात्मक घटना फैलिएको छ ।
बिहीबार राति प्रदर्शनकारीहरूले देशका ठूला दुई पत्रिका डेली स्टार र प्रोथोम आलोका कार्यालयमा जबरजस्ती प्रवेश गरी तोडफोड तथा आगजनी गरेका छन् ।
यसै क्रममा बंगलादेशका राष्ट्रपति शेख मुजीबुर रहमानको आवासमा पनि तोडफोड गरेको समाचार छ । साथै प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको कार्यालयमा आगजनी गरेको बताइएको छ।
उस्मान हादी जुलाई २०२४ मा भएको शेख हसिनाविरुद्धको विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक थिए । उनीमाथि १२ डिसेम्बरमा चुनावी प्रचारका क्रममा टाउकोमा गोली प्रहार गरिएको थियो । गम्भीर अवस्थामा उपचारका लागि उनलाई सिंगापुर लगिएको थियो, तर छ दिनपछि उनको मृत्यु भएको थियो ।
बीबीसी बंगलाको रिपोर्टअनुसार, बंगलादेशमा धर्मको अपमान गरेको आरोपमा एक हिन्दू युवकलाई भीडले कुटपिट गरी हत्या समेत गरेको छ । मृत्युपछि उनको शव निर्वस्त्र पारेर रूखमा झुन्ड्याइ आगो लगाइएको बताइएको छ ।
प्रहरीका अनुसार मृतकको पहिचान दीपू चन्द्र दासका रूपमा भएको छ । घटना बिहीबार राती भालुका क्षेत्रमा भएको हो । यस घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा केही मानिसहरू ‘अल्लाहु अकबर’का नारा लगाइरहेको देखिन्छ ।
घटनापछि देशमा धार्मिक तथा राजनीतिक तनाव झनै बढेको छ । एजेन्सीबाट