काठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गरेर समाचार सम्प्रेषण गर्ने भारतीय सञ्चार माध्यमको कृत्यलाई आपत्तिजनक, निन्दनीय र अपराधिक बताएको छ । पार्टीले सञ्चार माध्यमको यस्तो कृत्यलाई भारत सरकारले नियन्त्रण नगरेकोमा प्रधानमन्त्री मोदीको संलग्नताबारे आशङ्कासमेत प्रकट गरेको छ ।
प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ असार २६ गते जारी प्रेसवक्तव्यमा पार्टीको सो अवधारणा सार्वजनिक भएको हो । वक्तव्यमा भारत, नेपाल र संसारभरिकै मिडियाले पीतपत्रकारिता गर्न नहुने स्मरण गराइएको छ । त्यसैगरी, राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डता विरोधी अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई सम्बन्धित पार्टीले गरेको कारबाही र बाढीपहिरोपीडितको उद्धार र राहतमा जुट्न सरकारसित अपिल पनि गरेको छ ।
वक्तव्यको पूर्ण पाठ यस्तो छ :
“भारतीय सञ्चार माध्यमहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गरेर समाचार सम्प्रेषण गरिरहेका छन् । संसारमा पत्रकारिताको पेशा सम्मानित छ र त्यस क्षेत्रले पालना गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन पनि निश्चित गरिएका छन् । भारतीय टेलिभिजनले पत्रकारितासम्बन्धी न्यूनतम मापदण्डको पनि हेक्का गर्न सकेका छैनन् र नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा स्वाधीनताको विरुद्ध अफवाहपूर्ण र तथ्यहीन समाचार सम्प्रेषण गरिरहेका छन् । त्यसरी चरित्रहत्या वा कुनै स्वतन्त्र मुलुकको सार्वभौमिकताका विरुद्ध समाचार सम्प्रेषण गर्नु आपत्तिजनक, निन्दनीय र अपराधिक छ । हामीले भारतीय टेलिभिजनको उक्त कार्यको निन्दा र भत्र्सना गर्दछौँ ।
आफ्ना देशको पत्रकारिताको स्थिति कसरी गुज्रिरहेको छ वा के गर्दै छ ? भन्ने प्रश्नमा मोदी सरकार बेखवर रहेको वा अहिलेसम्म ती टेलिभिजनको निन्दनीय कार्यमाथि कुनै नियन्त्रण नहुनुले स्वयम् मोदी सरकार पनि त्यो कार्यमा सामेल रहेको बुझिन्छ । भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या वा नेपालका विरुद्ध जुन समाचार सम्प्रेषण गरिरहेका छन्, त्यसले भारतीय मिडियाको स्तरमा पनि गम्भीर प्रश्न खडा गर्दछ । त्यस प्रकारको स्तरका लागि भारतीय मिडियाक्षेत्र मात्र जिम्मेवार छ वा स्वयम् भारत सरकारको प्रेसनीतिसमेत जिम्मेवार छ ? आउने दिनमा अन्तर्राष्ट्रिय रूपमा नै त्यो कुरा अरू प्रष्ट हुँदै जाने छ ।
भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकताका विरुद्ध षड्यन्त्रकारी कार्य गर्दै आएको छ र अहिले भारतीय टेलिभिजनले नेपालका विरुद्ध प्रसारण गरिरहेका कार्य त्यही षड्यन्त्रको सिलसिला भएको कुरा स्पष्ट छ । नेपालका भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रमा भएको भारतीय साम्राज्यवादी अतिक्रमणका विरुद्ध नेपाली जनताले सङ्घर्ष गर्दै आएका छन् । त्यस सन्दर्भमा नेपालको संसदले पनि नयाँ नक्सा जारी गरिसकेको छ । यस विषयमा भारतीय सञ्चार माध्यमले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताका विरुद्ध अभियान नै सञ्चालन गरेका छन् । उनीहरूको त्यो कार्यले भारतीय साम्राज्यवादको कुरूप र घिनलाग्दो तस्बिरलाई व्यक्त गर्दछ ।
भारतीय सञ्चार माध्यमको पीतपत्रकारिता र चरित्रहत्याको कार्यका विरुद्ध नेपालमा प्रेस काउन्सिल र पत्रकार महासङ्घले गरेको विरोध तथा प्रतिवादलाई हाम्रो पार्टीले स्वागत गर्दछ । त्यसैगरी नेपाल र नेपालीको अस्मिताका विरुद्ध पीतपत्रकारिता गरिरहेका भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न मल्टिसिस्टम अपरेटर (एमएसओ) को निर्णय तथा नेपाल केबुल टेलिभिजन महासङ्घका निर्णयको पनि हाम्रो पार्टीले सराहना गर्दछ । यसका साथै भारतीय मिडियाको नेपाल विरुद्धको षड्यन्त्र, चरित्रहत्या, तथ्यहीन तथा पीतपत्रकारिताका विरुद्ध एकजुट हुन हामी सम्पूर्ण जनतालाई एकताबद्ध हुन अपिल गर्दछौँ ।
चरित्रहत्या गरेर समाचार सम्प्रेषण गर्ने कार्य सम्पूर्ण पत्रकारिता जगत्का लागि निन्दनीय र भत्र्सनीय छ । त्यस प्रकारको पीतपत्रकारिताको अवस्था नेपालमा पनि कायम छ । त्यो कुरा स्वयम् हाम्रा पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहका विरुद्ध सम्प्रेषण गरिएका विभिन्न पत्रपत्रिका, अनलाइन पत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित लेख तथा समाचारले पुष्टि गर्दछन् । का. सिंहका विरुद्ध श्रीमतीलाई मन्त्री बनाउनका लागि दौडधुप गरेको भन्नेजस्ता कपोलकल्पित समाचार तथा बिभिन्न छद्म नामधारीका सिआइए शैलीका लेख पटक–पटक प्रकाशित हुने गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीका विरुद्ध पनि त्यस प्रकारका लेख प्रकाशित भएका छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष तथा सांसद का. दुर्गा पौडेलका विरुद्ध पनि त्यस प्रकारका लेख प्रकाशित भएका छन् । त्यसरी नै अन्य कैयौँ कामरेडका विरुद्ध पनि अफवाहपूर्ण समाचार सम्प्रेषण गर्ने कार्य हुँदै आएका छन् । त्यस प्रकारको पीतपत्रकारिताका विरुद्ध हाम्रो पार्टीले कानुनी सङ्घर्ष पनि गरेको छ । पीतपत्रकारिता सत्यतथ्यका विरुद्ध अपनाइने कार्यशैली हो । यसले समाजलाई भ्रमित बनाई भ्रष्ट आचरणमा भड्काउँछ । त्यसैले त्यस प्रकारको प्रवृत्तिमाथि नियन्त्रण कायम राख्नका लागि नेपाल सरकारले पनि ध्यान पु¥याउनुपर्ने आवश्यकता छ ।
सङ्घीय समाजवादी पार्टीले आफ्नो पार्टीका सांसद सरिता गिरीलाई पार्टी तथा सांसदबाट नै निष्काशित गर्ने कार्यलाई हाम्रो पार्टीले स्वागत गर्दछ । सांसद गिरीले नेपालको नयाँ नक्सा संसदबाट पारित गर्ने कार्यको विरोध गरी भारतीय साम्राज्यवादको दलाली गरेकी थिइन् । त्यस प्रकारको कार्य गर्ने व्यक्तिलाई कारबाही गरेर सङ्घीय समाजवादी पार्टीले सराहनीय कार्य गरेको छ । आगामी दिनमा पनि सबै मधेशवादी सङ्गठनले त्यसरी नै नेपालको राष्ट्रियता र सार्वभौमिकताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउन सके धेरै राम्रो हुने थियो र हामीले त्यस प्रकारको आशा पनि गर्दछौँ ।
देशका विभिन्न भागमा बाढीपहिरोको कारण ठुलो धनजनको क्षति भएको छ । यसतर्फ सतर्कता अपनाएर नागरिकको जिउधनको रक्षा गर्नका लागि नेपाल सरकारले खास ध्यान दिएको देखिँदैन । बाढीपहिरोको सम्भावना रहेका देशका सबै भागमा आवश्यक सतर्कता र पूर्वतयारीका साथ कार्य गर्नका लागि हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ । यसका साथै बाढीपहिरोको कारणले भएको क्षतिका लागि पीडितको उद्धार गर्दै राहतको उचित व्यवस्था गर्नका लागि पनि हामीले सरकारसित माग गर्दछौँ ।”

