काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय मिडियाको हर्कतका विरुद्ध देशव्यापी रुपमा नागरिक तहबाट प्रतिकार गर्न आह्वान गरेको छ । नेपालको सार्वभौमिकता र अस्मितामाथि लगातार प्रहार गरिरहेका भारतीय मिडियाको हर्कत नेपालका लागि असैह्य भएको भन्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरेको हो ।
राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबीच नक्कली कुराकानी गरेको देखाएर भारतीय मिडियाले ‘पत्रकारिताको नाममा अपराधिक तहको दुरुपयोग’ गरेको बताउनुभएको छ ।
यस्तै, राजमोले देशका विभिन्न भागमा लगातारको वर्षा र बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ ।
यस्तो छ वक्तव्यः
भारतीय टेलिभिजनहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध भ्रामक, अतिरञ्जित, अनर्गल र आपत्तिजनक सामग्री प्रशारण गरेका छन् । केपी शर्मा ओली र चिनियाँ राजदूतको बीचमा नक्कली कुराकानी भएको देखाइएको छ । नक्कली कुराकानीको रचना र प्रशारण गरिनु पत्रकारिताको नाममा अपराधिक तहको दुरुपयोग हो । मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको छ र भारतीय मिडियाले मोदीको त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेका छन्।
भारतीय टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीहरुको अस्मितामाथि प्रहार गरेका छन् । एउटा सार्वभौमसत्तासम्पन्न मुलुक र जनताको लागि यो असह्य कुरा हो । नेपालका विरुद्ध मोदीसत्ताको वास्तविक स्वरुप भारतीय मिडियाबाट छताछुल्ल भएको छ । नेपालका विरुद्ध मोदीसत्ताको वास्तविक स्वरुप भारतीय मिडियाबाट छताछुल्ल भएको छ ।
भारतीय टेलिभिजन च्यानलहरुले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको विषयमा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विरुद्ध भारतव्यापी रुपमा ठूलो अभियान चलाएका छन् । चीनलाई समेत मुछेर लगातार गलत सामग्री दिएका छन् । नेपालको संसदले जारी गरेको नक्साका विषयमा छिमेकी मुलुक चीनलाई समेत मुछ्नु गम्भीर आपत्तिको विषय हो । भारतीय मिडियाको चरित्रहत्या, पितपत्रकारिता र नेपालविरुद्धको षड्यन्त्रका विरुद्ध एकजुट हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा देशभक्त नेपालीहरुमा अनुरोध गर्दछौं । भारतीय मिडियाको हर्कतका विरुद्ध देशव्यापी रुपमा नागरिक तहबाट प्रतिकार हुन जरुरी छ ।
बाढीपहिरोको कारण देशमा ठूलो जनधनको क्षति भएको छ । सिन्धुपाल्चोक, गुल्मी, कास्की, पश्चिम रुकुम, म्याग्दीलगायतका जिल्लाहरुमा बाढीले कैयौं घरहरु बगाएको छ भने दर्जनौं व्यक्तिहरुको ज्यान गइसकेको छ । सरकारले बाढीपहिरो पीडितहरुलाई तत्काल उद्धार गरेर सुरक्षित गर्नु र राहत उपलब्ध गराउनुपर्ने आवश्यकता छ । बाढीको जोखिम लगातार बढिरहेको छ । बाढीबाट बच्नको लागि देशव्यापी रुपमा पूर्व सतर्कता अपनाउन र उद्धारको लागि पूर्वतयारी गर्नको लागि सरकारसँग अनुरोध गर्दछौं ।’
यो पनिः भारतीय च्यानलको ‘गालिकारिता’ रोक्न प्रेस काउन्सिलद्वारा ध्यानाकर्षण
वकवास बन्द गर्न भारतीय मिडियालाई पत्रकार महासंघको चेतावनी
नेपालमा भारतीय च्यानलमाथि रोक लगाइयो

