नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) करिब करिब फुटको संघारमा पुगेको छ । नेकपाको जारी स्थायी कमिटि बैठकको सन्दर्भका गतिविधि र नेताहरुका अभिव्यक्तिहरुले पार्टी फुटउन्मूख तिर गएको सहजै अनुमान गर्न सकिन्छ । जुन कुरा दुर्भाग्य हो ।
नेकपा भित्रको शक्ति संघर्षको अन्तरविरोध यही अबस्थामा समाधान हुने अबस्था न्यून हुँदै गएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजीनाम माग प्रकरण तिव्र बन्दै गएपनि ओली टस्मस् भएका छैनन् । यदी ओली टस्मस् नहुने र प्रचण्ड लगायत अन्य नेताहरु ओलीले ति पदबाट राजीनाम दिनूपर्ने अडान कायम हुँदै जाने हो भने स्थिति साम्य हुने देखिँदैन ।
ओलीले कुनैपनि पद नछोड्ने र प्रचण्ड लगायत स्थायी कमिटिका बहुमत सदस्यहरु आफ्नो अडान नछोडेको अहिलेको स्थिति छ । यो अबस्थामा कुनै एक तर्फबाट आफ्नो अडान नत्याग्ने स्थिति कायम रहे र अन्य कुनै एकता कायम राख्ने चमत्कारी उपाय नदेखिए निश्चित रुपमा नेकपामा दुर्घटना हुने प्रवल सम्भावना देखिन्छ ।
दिन प्रतिदिनका एकल वा सामूहिक वार्ताहरुले नेकपाका नेता कार्यकर्ताहरुमा सकारात्मक सन्देश दिन सकिरहेको छैन । बरु अरु असन्तुष्टी बढिरहेको छ । प्रधानमन्त्री ओली बरु पार्टी फुटतर्फ जाओस् तर आफूले दुवै पद त्याग्न तयार नभएको संकेत दिइरहेका छन् । नेताहरुले ओलीले पार्टी फुटाई सकेको तर पनि एकताको प्रयासमा आफूहरु लागिरहेको आरोप ओलीतिर सोझाएका छन् । त्यसो त जे मन लाग्दछ त्यही गर्न भन्दै आफूइतर पक्षलाई ओलीले टर्रोमुखे जवाफ पनि दिएको पाइन्छ । एमाले पार्टी दर्ता हुनु अधिवेशनको अन्त्य गर्नु ओलीको निर्धक्क अड्डिले अन्य नेताहरुमा थप संशकित पारेको छ । ओली पक्षीय कार्यकर्ताहरु सडकमा ‘विदेशीका दलालहरु सरकार ढाल्न पाईदैन’ भन्दै ताण्डव गरिरहेका छन् ।
केन्द्रीय सदस्य र अन्य युवा नेताहरु पार्टी कार्यालय धुम्वाराहीमा पार्टी एकता पक्षमा धर्ना बसिरहेका छन् । यसरी आ–आफ्ना गुटहरु सक्रियरुपमा लागिरहेका छन् । दृष्यहरु बढो विचित्र देखिरहेका छन् । आफूलाई कम्यूनिष्ट पार्टी दावी गर्ने पार्टी स्थायी समितिको बैठकका सन्दर्भमा भएका छलफल बहसहरु क्षणभरमा बाहिरिएका छन् र विदेशी मिडियाहरु समेतमा अध्यावधीक भएका छन् । यो भन्दा विडम्बना अरु के होला ?
सामान्य बुर्जुवा संस्थाहरुमा पाइने अनुशासन र गोपनियता पनि नेकपामा देखिएको छैन । सडकदेखि नेताहरुका घर घरमा गुट, उपगुट बैठकहरु आरोप प्रत्यारोप हुँदै आएका छन् । यस प्रकारका गतिविधिले पार्टीलाई कति मजबुद पार्ने होला ? त्यो पार्टीको संगठनात्मक प्रणाली अनुशासन कति कमजोर छ भन्ने बुझ्न गाह्रो पर्दैन । त्यहाँ कुनै सैद्धान्तिक र वैचारिक संघर्ष होइन, नत अहिलेको विषम परिस्थितिमा कोरोना भाइरसबाट राष्ट्र र जनताहरुको जीवन रक्षाको विषयमा बहस केन्द्रित छ वा नेपाली नागरिकहरु विदेशमा विचल्लीमा परेका छन्, त्यस बारेमा तिनीहरुको चिन्ता छ । यस्तो अबस्थामा नेकपा भित्रको किचलोले जनता, देश र अन्तर्राष्ट्रिय स्तरमा समेत कस्तो सन्देश सम्प्रेषण होला ?
नेकपा भित्रको खिचातानी ओली पक्ष सत्ताबाट बहिर्गमन हुँदा आफ्नो भविष्य नै समाप्त हुने, देश र जनताहरुको आफूले मात्र ठेक्का लिएको जस्तो गुटि हाँकेको छ । आफू भन्दा सक्षम वा राष्ट्र र जनताप्रति उत्तरदायी अरु देख्दैन । त्यो अंहकार र ओलीको कार्यशैली गलत र स्वेच्छाचारी छ । उनले स्थायी कमिटीको बैठक सामना गर्न सकिरहेका छैनन् । अन्य विभिन्न षडयन्त्र तर्फ लागिरहेका छन् । त्यो तिकडमको एउटै उद्देश्य हो, सत्तामा रहन र अध्यक्ष पनि कायम रहिरहन । ओलीले पार्टी पनि आफैँ, सरकार पनि आफैँ अरु कसैलाई देखेका छैनन् । शक्ति दम्भले उनलाई नराम्रोसँग ग्रसित बनाएको छ ।
संसदबाट थुप्रै विधेयकहरु अनुमोदन गर्नुपर्ने परिस्थितिमा पार्टी वा विपक्ष दल र सभामूख कसैलाई जानकारी नदिई संसद अधिवेशन अन्त्य गरेका छन् । त्यसो त पार्टी फुटाउने अध्यादेश जारी गर्न ओलीले संसद अधिवेशन भंग गरेको अनुमान गर्दै ओली इतर पक्षहरु शंसकित भएका छन् ।
यो सन्दर्भमा ओलीले राष्ट्रपति र आफूलाई हटाउने षडयन्त्र भएको भन्दै आफू पक्षीय नेताहरुलाई व्रिफिङ गरिरहेका छन् । यद्यपि उनी इतर नेताहरुले त्यो आरोपको खण्डन गरिसकेका छन् । एउटा कुरा अस्वीकार गर्न सकिन्न कि कतै ओलीले आफू अनुकूल अध्यादेश ल्याउन त्यसो गरेका त छैनन् ? संसद चलिरहेको सन्दर्भमा अध्यादेश ल्याउन पाईंदैन । त्यसैले ओलीका अघिल्ला गतिविधि र पार्टी दर्ता प्रकरण सहित अहिले नेकपा भित्रको किचलोले आशंका उत्पन्न भएको छ ।
ओलीको स्वेच्छाचारी प्रवृतिले हिनताबोध महसुस गर्दै आजित हुँदै आएका अन्य नेताहरु उनको शेखी झार्ने अनूकुल परिस्थितिको जोखनामा रहेका थिए । ति पक्षहरुलाई पछिल्लो समयमा ओलीले नै त्यो आधार तयार पारिदिएका छन् । जुन ओलीले आफू इतर नेताहरुलाई अनर्गल आरोप लगाएका थिए । ति आरोपहरु नै मसला बनिरहेका छन् । ओली कमजोर बनाउन ठुलो मद्दत पुगेको छ । त्यसो त ओलीको राजीनामा माग अहिले उठेको होइन । त्यो यस भन्दा अघि बसेका बैठकहरुमा नै उठ्दै आएको विषय हो । उनले दाबी गरेजस्तो नेपालको अतिक्रमित भु–भाग समेट्दै नक्शा प्रकाशित हुनु र अहिलेको राजीनामा एक अर्कासँग सम्बन्धित छैनन् । परन्तु केही बल पुग्न सक्दछ ।
ओली इतर पक्ष यो अवसर गुमाउन चाहन्न । यि सबै कारणहरु सहित ओलीका गलत कार्य प्रणाली, कार्यशैली र आत्मकेन्द्रित चिन्तन नै उनी निम्छरो बन्नुमा मुख्य जिम्मेवार छन् । पार्टी सञ्चालनमा स्थापित विधि पद्धति स्वम् नेतृत्व तहबाट उल्लंघन हुँदै शक्तिको दुरुपयोग गर्दा नेतृत्वमा अधिनायकबादी मोह उब्जने सम्भावना हुन्छ । पार्टीको निर्णयबाट नेता बन्ने हो । पार्टी निर्णयले नै चुनावमा उम्मेदबार बन्ने हो । र सरकारको नेतृत्व पनि पार्टीको निर्णयबाट गर्ने हो । पार्टीकै समन्वयमा सरकार सञ्चालन गर्ने हो । नेतृत्वको कार्यकूशलताले प्रभाव पार्ने कुरा आफ्नो ठाउँमा छ । तर प्रमूख पार्टी निर्णय नै हो । जिम्मेवारी र भूमिका फरक रहे पनि अन्ततः पार्टीको नजरबाट हेर्दा सबै समान हुन्छन् । ओली यि विषयलाई मान्न तयार नभएका कारणले समस्या विकराल बन्दै नेकपामा तिब्र असन्तुष्टि पैदा भएको हो ।
ओली प्रधानमन्त्री मात्र होइनन् पार्टी अध्यक्ष पनि हुन् । तर प्रधानमन्त्रीको हिसावले मात्र चल्न खोज्नु ओलीको अंहकार हो । मल्टिपार्टी सिस्टम भनेको पार्टीले सरकार चलाउने हो, नकि सरकारले पार्टी । जब पार्टी निर्णय र समन्वयलाई बाईपास गर्दै मनोमानी ढंगबाट चल्ने प्रवृति हावी हुँदै जान्छ, अनि यसप्रकारका अराजक गतिविधिहरु बढ्दै जान्छन् । पार्टी कमजोर हुने मात्र होइन दुर्घटना हुनेछ ।
नेकपाको सरकारले विगतका सरकारहरुले भन्दा तुलनात्मक रुपमा केही राष्ट्रियताको पक्षमा राम्रा कार्यहरु गरेको छ । राम्रा काम गर्न नेकपालाई परिस्थिति अनुकूल पनि छ । संघीय संसद वा प्रदेश सरकारहरुमा नेकपाको झण्डै बहुमत छ । यद्यपि सामान्य जन अपेक्षित र सम्भावित कामहरु गर्न असफल हुँदै आएको छ । त्यो नेकपा सरकारको असफलता नै हो । तथापि नेकपाको सरकार विघटन र नेकपामा आउन सक्ने सम्भावित फुटले निश्चितरुपमा देशलाई घाटा हुनेछ । पार्टी एकता बचाउन स्वम् ओलीले त्याग गर्नुपर्ने हुन्छ तर एकता कायम राख्न उनको तत्परता देखिन्न ।
प्रधानमन्त्री र अध्यक्ष पद मध्ये एउटा छोड्दा र संस्थागत निर्णय स्वीकार गर्दा सायद पार्टी दुर्घटना तर्फ जाने थिएन भन्ने अनुमान पनि भएका छन् । तर अहिलेसम्म ति दुवै पदबाट ओली टस्मस् हुने सम्भावना देखिएको छैन । बरु कित्ता क्लियर गर्न सरकारका मन्त्री र आफ्ना गुटतर्फ दवाव दिइरहेका छन् । आफूइतर पक्षका केही नेताहरुलाई नयाँ कार्ड फाल्दै छन् । त्यसको सिधा अर्थ ओली आफ्नो मनोमानी र स्वेछाचारी ढंगबाट चल्न चाहन्छन् । सबैलाई समेटेर पार्टी एकता कायम राख्न ईच्छाशक्ति देखाएका छैनन् भन्ने पुष्टि हुन्छ र पार्टी विघटन तिर नै उद्धत देखिन्छन् ।
अर्को तर्फ ओलीले आफूइतर पक्षलाई जसरी आरोप लगाउँदै आएका छन्, त्यो भन्दा माथी ओली नै पदलोलुपता देखिन्छन् । उनी न कुनै पद छाड्न तयार छन् वा पार्टीका युवा नेताहरु माथि सम्भावना देखेका छन् । त्यसको अर्थ उनै सर्वविज्ञ हुन् अरु सबै असक्षम । यही अहँकारले ओली अहिले कमजोर बन्ने परिस्थिति सिर्जना भएको हो ।
पार्टीले निर्णय गरेका राम्रा कामको श्रेय आफैँ लिन्छन् । आफ्ना कमजोरीहरु अरुलाई भिराईदिने चतुर्याई ओलीमा छ । जस्तै लिम्पियाधुरा सहितका नक्शा प्रकाशित गर्ने विषय पार्टीको निर्णय र दवावले सरकारको नीति कार्यक्रम राखेका थिए । अहिले त्यही कारण आफूलाई हटाउन भारतसँग मिले भन्दै आफ्नै नेताहरुलाई आरोप लगाई हौवा फिँजाएका छन् र आफू ईतरहरुलाई विदेशी दलालको जबरजस्ती विल्ला भिराई दिने कोशिस गर्दै जनतामा ब्यापक भ्रम पैदा भएको छ । त्यो ओलीको कुटिल चाल मात्र हो । ओलीको राष्ट्रियता पक्षको हित हेर्न महाकाली सन्धि काफी छ । अर्को पक्ष अहिलेको एमसीसी संसदबाट अनुमोदन गर्न मोरिहत्ते गर्नुले पनि ओलीको राष्ट्रभक्ति स्पष्ट हुन्छ ।
अहिलेको राष्टबादको हुँकार सत्य होइन । बरु कहिले काँही परिस्थितिले ओलीलाई जबरजस्ती राष्ट्रबादी बनाउन मद्दत गरेको सत्य हो । यद्यपि छिमेकी ओलिप्रति सन्तुष्ट छैन, त्यो पनि सत्य हो । पछिल्लो समयमा अतिक्रमित भूभाग नक्सामा प्रकाशित गर्ने प्रकृयाप्रति सिंगो नेपाल नै ओली सरकारको साथ छ । तर ओलीले त्यो श्रेय आफूले मात्र लिन्छन् । पार्टी निर्णय मान्ने र सबैलाई सम्मान गर्न सके सरकार ढलाउने दक्षिणी छिमेकीको प्रयास गौण हुनेछ । भारत जहिले पनि नेपालले आफ्नो हितको पक्षमा गरिने निर्णयले सधैँ छट्पटाउने गदैछ । अहिले पनि भएको त्यही हो ।
ओली स्वयंले बिग्रँदै गएको पार्टी एक ढिक्का राख्न सके र पार्टी निर्ण अनुरुप चले कसैले पनि उनलाई सरकारबाट हटाउन सक्दैन । तर यि सबै अवाञ्छित गतिविधि रोक्न ओली गम्भीर देखिन्नन् । बरु आफू पक्षीय कार्यकर्ता सडकमा उतार्न निर्देशन दिएका छन् । जिम्मेवार नेतृत्व पक्षबाटै यस प्रकारका क्रियाकलापले पार्टी एकतालाई मजबुद कायम राख्न असम्भव हुन्छ । न ओलीलाई नै फाइदा हुनेछ । यदि नेकपा फुट्यो भने देश नै अस्थिरता तर्फ जानेछ । अन्य प्रतिक्रियाबादी शक्तिहरु आउने छन् । आन्दोलनका उपलब्धिहरु जस्तै गणतन्त्र धर्मनिपेक्षता समेत धरापमा पर्ने छन् । प्रतिगामी तत्वहरुलाई टेवा पुग्ने छ ।
अतः ओलीले पार्टी एकता र सरकार कायम राख्न र अरु मजबुद पार्न आफ्नो हठ त्याग्दै पार्टी निर्णय मान्नु नै वुद्धिमता हुनेछ । त्यसबाट देश र जनताहरु वा पछिल्लो समयमा सरकारबाट हुँदै आएका निर्णयले सार्थकता पाउने छ । एमसीसी मातहत दिइने कथित अनुदान खारेज गर्दै नेकपा फुटेर होइन, नयाँ रुपान्तरण सहितको एकताले नै नेकपालाई हित गर्नेछ ।