चित्रबहादुर केसी ##
यहाँ यो उपद्रव हुनुमा निश्चित रूपले अमेरिकी साम्राज्यवादको भूमिका छ । प्राय: वक्ता साथीहरूले त्यसो भन्न बिर्सिनुभयो, अलि हिच्किचाउनु भयो ।
दलाई लामाले सुशीला कार्कीलाई बधाई दिन्छन् । दलाई लामा तिब्बतबाट त्यहाँ जनताले त्यहाँ लखेटेपछि अहिलेसम्म नेपालमा कति सरकार बन्यो ? कति बने प्रधानमन्त्री ? अहिलेसम्म बधाई आएको थियो त ? कतिपय टिओबी (तिब्बत ओरजिनल ब्लड) को बिल्ला लगाएर यो आन्दोलनमा भाग लिए अनि तिनै ब्लडले अहिले पनि यो सरकारलाई थ्रेट दिइरहेका छन् । हाम्रो देशको स्थिति के हो ? सत्तामा बस्ने साथीहरूले यो जिम्मेवार लिन्नौँ जस्तो कुरा गर्नुभएको छ । सत्तामा शक्तिमा बस्नेहरूले जिम्मेवारी लिनुपर्दैन ?
म त सँगै छु नि सदनमा, कैयौँपटक, कैयौँ वर्ष । नेपालमा राजनीति गर्ने भनेको पैसा कमाउन, घुस खान, भ्रष्टाचार गर्न हो । एक जना मित्रले भन्नुभयो, भ्रष्टाचार गर्न राजनीतिक पार्टी मात्रै होइन, कर्मचारीतन्त्र पनि दोषी हुन्छ । एकदम हो । कर्मचारीको मिलिभगत नभईकन नेताहरूले त एक्लै घुस खाने प्रबन्धन मिलाउनै सक्दैनन् । म त आफै उपप्रधानमन्त्री भएर १० महिना बसेको हो नि । कर्मचारीले कसरी सक्छन् घुस खान र खुवाउन ? त्यो दुइटैको मिलिभगत हो ।
तपाईंहरू भन्न सक्नुहुन्छ नि हामी कति वर्षदेखि संसद्मा छौँ । गत ३० वर्षदेखि राष्ट्रिय जनमोर्चा संसद्मा छ । राष्ट्रिय जनमोर्चाले घुस खायो, भ्रष्टाचार गर्यो भनेर मलाई सुनाउनुस् त । म आफै पनि उपप्रधानमन्त्री भएको हो त । लेखा समितिको सभापति भएको हो त । त्यसो हुनाले पार्टी भ्रष्ट छन् तर तिनै भ्रष्ट पार्टीलाई बारम्बार जनताले भोट हालिरहन्छन् । त्यसकारण यो अहिलेको परिस्थितिको जिम्मेवार राजनीतिक पार्टी पनि हुन्† कर्मचारी पनि हुन् र स्वयम् नेपाली मतदाता पनि हुन् ।
चुनावको अनुभव छ नि । के गर्छन् चुनाव आएपछि ? जितेर जाने, गइसकेपछि चुनावमा कति करोड खर्च भयो ? त्यसको लागि मन्त्री नभईकन, घुस नखाईकन चुनावमा लागेको खर्च असुल गर्नुपर्छ । त्यो कमजोरीबाट थाहा पाएर तुलसी राव भन्ने सिआइएको प्रमुख महिलाले भनिछन्– हामीले अहिलेसम्म ६५ देशमा सत्ता उलटपुलट गरियो । अब सिआइएको धेरै बदनाम पनि भएको छ । अब हामीले विचार गर्नुपर्छ ।
हाम्रो सत्तामा, शक्तिमा बस्ने साथीहरूले अमेरिकी साम्राज्यवादले बोकाएको एमसिसी बोक्नुभयो कि भएन ? अहिले पनि सात अर्ब थपेको छ अमेरिकी सरकारले एमसिसीको माध्यमबाट । अझ कहाँ पुग्छ नेपाल हेर्नुहोला ।
अहिले जेनजी आन्दोलनमा सबैभन्दा भूमिका सिआइएकै हो । अमेरिकी दूताबासले नयाँ पिँढीलाई लगातार काउन्सिलिङ गरिरहेको छ । पढाइरहेको छ । यी देशका राजनीतिक पार्टी नालायक हुन्, घुस्याया हुन्, भ्रष्टाचारी हुन्, यिनको विरुद्धमा लड्नुपर्छ भनेर अमेरिकी दूतावासले लगातार युथ काउन्सिलमा पढाइरहेको छ । हाम्रा छोराछोरी, नातागोता ठुलो सङ्ख्यामा अमेरिका गइरहेका छन्, त्यहीँ बसिरहेका छन् ।
हामीले ६०–६५ वर्षसम्म पार्टी खोलेर पार्टी बढाउन नसकिने, पार्टी खोलेको चार महिनामा २१ सिट प्राप्त गर्छन् कतिले । अहिले पनि कैयौँको भनाइ छ, उही आउनुपर्छ । उही आयो भने मात्रै यो देश बच्छ ।
अहिले हामीले नेपालको जुन तस्बिर देखिरहेका छौँ, त्यो अत्यन्तै डरलाग्दो छ । २००७ साल, २०४६ साल, २०६२–६३ सालका आन्दोलनमा भूमिका खेल्ने रअ थियो । अहिले ऊ पनि अलमलियो । भन्यो रे रअले, सबै नेपाल हाम्रो नियन्त्रणमा छ, हामीले खेलाउँछौँ’ भनेको त सिआइएले उछिनेछ हामीलाई । यो त थाहा हुनुपर्यो नि हामीलाई ।
यहाँ कुरा ल्याउनुभयो एक जना मित्रले, चुनाव भए भाग लिने, चुनाव नभए नलिने । चुनावमा हार्नेजस्तो भए बहिष्कार गर्ने, जित्ने जस्तो भए भाग लिने । हामी त्यसो गर्दैनौँ । हामीले हारे पनि/जिते पनि भाग लिने हो ।
संसदीय चुनावबाट आम जनताको समस्या समाधान हुन्छ भनेर हामी मान्दैनौँ । त्यसका लागि नयाँ जनवादी क्रान्ति हुनैपर्छ तर नयाँ जनवादी क्रान्ति हुनुभन्दा पहिले यो संसदीय व्यवस्था केही पनि होइन, यो अहिलेको संविधान केही पनि होइन, यसलाई सिध्याउनुपर्छ भनेको पनि त सुन्नुहुन्छ नि । यो अहिलेको जुन संसदीय व्यवस्था छ, यसलाई २०१७ सालमा स्वयम् राजा महेन्द्रले सिध्याइदिए । २०५९ मा ज्ञानेन्द्रले सिध्याए । स्वयम् एमालेका नेता ओलीले त दुईदुई चोटी विघटन गर्नुभयो ।
यो लोकतन्त्र, संसदीय व्यवस्थाले जनताका यावत समस्या समाधान गर्छ भन्ने कुरा होइन । साम्राज्यवाद र सामन्तवादको अन्त्य गर्ने हो नि नयाँ जनवादी व्यवस्था भनेको त । त्यहाँसम्म नपुगुञ्जेल चुनावलाई बहिष्कार गरेर हिँडेर अथवा जित्नेजस्तो भए भाग लिने, हार्नेजस्तो भए बहिष्कार गर्नु त हुन्न । राष्ट्रिय जनमोर्चाले स्पष्ट भनेको छ, जुन सरकार बनेको छ, यो एनजिओ–आइएनजिओको हो । चोर भए नि, चन्डाल भए नि जनताले चुनेको सरकारलाई हटाएर, लखेटेर एनजिओ–आइएनजिओ बारबराको सरकार छ । कति सङ्कटमा छ यो देश ? को हो बारबरा ? थाहा होला तपाईंहरूलाई । हामीले जसलाई उज्यालोको देवता भनेको थियौँ, आखिर उनले पार्टी खोले ।
कहाँबाट सञ्चालित भएछन् ? हामीलाई कति बेबकुफ बनाएका रहेछन् । त्यो जान्न त हामीले राजनीति पढ्नुपर्यो । बुझ्नुपर्यो नि । अहिलेको स्थितिमा देश रहन्छ कि रहन्न भन्ने प्रश्न हो ।
अमेरिकाले त्यसै लगानी गरेको छैन ठुलो रकम । एमसिसी स्वीकार गर्ने बेलामा सत्तामा बसेकै साथीहरूले सुरुमा केही महिना त्यसबाट नेपाललाई अमेरिकाले यो ठाउँमा पुर्याउन खोजेको छ भनेर पढाए, तिनैले उफ्रेर गएर एमसिसी स्वीकार गरे ।
नेपालमा के देखियो भने राजनीति गर्ने भनेको विशुद्ध कमाउन हो । कमाउने, कमाउने र कमाउने जुनसुकै हालतमा । पार्टी, जनवर्गीय सङ्गठन एनजिओ/आइएनजिओको पैसाले चल्छ भने त्यो कति सबल हुन्छ ? हामी गौरवसाथ भन्छौँ, नेपालमा संसदीय व्यवस्था सुरु भएदेखि राष्ट्रिय जनमोर्चा संसद्मा छ । म आफै उपप्रधानमन्त्री भएँ । म लेखा समितिको सभापति भएँ ।
जनताले भोट किन नदिने अरे राष्ट्रिय जनमोर्चालाई भने यो सत्तामा जान सक्दैन, इत्रुको छ पार्टी । त्यो पो भन्छन् त ।
देशमा विकृति–विसङ्गति छ । राजनीतिक पार्टी भ्रष्ट छन् । मैले २०७९ सालको चुनावपछि पुस २५ गते भनेको थिएँ– पहिलेदेखि सत्तामा, शक्तिमा बसेर रसास्वादन गरिरहेकाबाट लोकतन्त्र, गणतन्त्र सिध्याउन खोज्छन्, खोज्छन् तर तिनीहरू बाहिरबाट पनि अरू खतरा पनि आउँछन् । यी ठुला पार्टीलाई औँला नै देखाएर भन्छु । मैले त भनेकोभन्यै छु ।
त्यति मात्रै होइन, बङ्गलादेशको घटना हुनुभन्दा पहिले मैले भनेको थिएँ, तिमीहरूको काम, घुसै खाने हो, भ्रष्टाचार मात्रै गर्ने हो, रकम लुकाउने हो र जनताको बास्ता गर्ने होइन भने बङ्गलादेशको बाढी यहाँ पनि आउँछ है । नभन्दै बाढी आयो कि आएन ? बङ्गलादेशको बाढी कसरी आयो ? तपाईंहरूले देख्नुभयो नि ।
अमेरिकी सेनालाई चाहिएको बङ्गलादेशको एउटा टापु । त्यहाँको प्रधानमन्त्रीलाई दिन मानिनन् । उनलाई अहिले मृत्युदण्डको फैसला गरेको छ त्यहाँको अदालतले । साम्राज्यवादीले हाम्रोजस्तो देशका नेता, कर्मचारीलाई भाडामा खेलाउँछन्, पैसा दिएर । पैसा पाएपछि जे पनि गर्न तयार हुन्छन् यहाँका । मैले कसैलाई आरोप लगाउँदिनँ, म त बसेर हेरेको छु नि । क्याबिनेटमा बसेर मैले हेरेको छु नि, राजनीतिमा कस्तो हुन्छ ? राजनीति गर्ने भनेको आफू बन्न, आफ्ना परिवारलाई बनाउन किन भयो भने तिनीहरूले घुस खाएर, भ्रष्टाचार गरेको पैसा लगेर निर्वाचन क्षेत्रमा गएपछि जनताले आँखा चिम्लेर भोट हाल्ने उनीहरूलाई नै । त्यसो भएको हुनाले नेताले मात्रै बदमासी गरे भन्ने होइन ।
सङ्घीयताको कुरा आयो नि । राष्ट्रिय जनमोर्चाले दुइटै संविधानसभामा यो प्रदेश चाहिँदैन, सङ्घीयता चाहिँदैन भन्या हो । सङ्घीयता त उता चाहिएर आएको हो नि । यहाँ ओली, शेरबहादुर, तपाईंहामीलाई चाहिएर हो र ? उता दक्षिणतिर चाहिएर हो । अस्ति सिके राउतले के भने, हामीलाई यस्तो व्यवहार गर्ने हो भने हामीलाई स्वतन्त्र मधेस चाहिन्छ । बनाउँछन् पनि स्वतन्त्र मधेस ।
यहाँ एकथरी भन्छन्, राजा नआए देश बच्दैन । सिक्किम भारतले लाँदाखेरि राजा थिएनन् सिक्किममा ? अहिले भुटानलाई कठपुतली बनाएको छ इन्डियाले । त्यहाँ राजा छैनन् ? अनि यहाँ राजा ल्याएपछि नेपाल जोगाउँछन् ? छ खुबी ? त्यसकारण चोर भए पनि, चण्डाल भए पनि राजनीतिक पार्टीबाटै देश चल्नुपर्छ ।
पछिल्लो काङ्ग्रेसह–एमालेको सरकार एक वर्षभन्दा बढी चलेको थियो तर सम्पत्ति विवरण बुझाएन । तपाईंहरूलाई सुन्दा नै आश्चर्य लाग्ला । हामीले सम्पत्ति विवरण जति बेला माग्यो, दिन्छौँ । “घर पनि छैन दाइ मेरो, डर पनि लाग्दैन कसैको” । हामीले घुस खाएका छैनौँ । भ्रष्टाचार गरेका छैनौँ । हामीलाई सम्पत्ति विवरण बुझाउन केको डर ? यी ठुला पार्टीका नेताले सम्पत्तिको विवरण किन दिन सकेनन् भने डढेको घरमा त पैसा छ । त्यस्तो गरेपछि देश रहन्छ ? साम्राज्यवादीले खोजेकै त्यही हो । यिनी जति भ्रष्ट हुन्छन्, तिनै भ्रष्टले कमाएको पैसाका पछाडि कार्यकर्ता, मतदाता लाग्छन् । यो दु:खको कुरा हो ।
मैले यो छोटो कार्यक्रम भन्छु, तपाईंको प्रश्न नेपाल धनी हुन्छ कि गरिब, औद्योगीकरण हुन्छ कि के हुन्छ भन्ने भन्दा पनि नेपाल रहने हो कि होइन ? समस्या यो पो भयो । नेपाल रहन्छ कि रहन्न ? सिक्किम भारतमा जानुभन्दा पहिले सिक्किमका जनतामा भारतले सिक्किमलाई विलय गराउला भन्ने थियो ? भुटानलाई त्यो अवस्थामा राख्ला भन्ने अहिलेका भुटानका जनतालाई छ ? नेपाललाई अमेरिकाले चीन विरोधी प्लेग्राउन्ड गराउन चाहन्छ । त्यो अवस्थामा चीनले पनि बाटो हेरेर बस्दैन । त्यो दिन हाम्रो स्थिति के होला ?
अहिले पनि २०७२ सालको संविधान काम लाग्दैन भन्या छन् दरबारियाले । यसलाई च्यात्नैपर्छ, फाल्नैपर्छ भन्या छन् । ६०–६५ वर्ष लाएर हामी लडेर ल्याएको हो यो अहिलेको संविधान । त्यहाँ गणतन्त्र छ, धर्मनिरपेक्षता छ, बहुदलीय व्यवस्था छ । त्यसलाई यी निरङ्कुश तत्त्वले देख्नै चाहेका छैनन् । उनीहरूले त तर मारेका छन् ।
अब अहिले पनि जति पनि घर डढे विभिन्न पार्टीका नेता तथा कार्यकर्ताका, अरूले त भ्रष्टाचार गरेका थिए र उनीहरूका घर डढाले, कङ्ग्रेस, एमाले, माओवादीका घर । तपाईंहरूले भन्न सक्नुहुन्छ, राष्ट्रिय जनमोर्चाले कहाँ भ्रष्टाचार गरेको थियो भनेर ? हाम्रा विरोधीले भन्न सकुन त तैपनि राष्ट्रिय जनमोर्चाका चारओटा कार्यालय पोले त ¤ सुर्खेतमा पोले, अर्घाखाँचीमा पोले, प्युठानमा पोले, यहीँ बुटवलमा हाम्रो क्षत्विक्षत् पारे । जेनजीले भनेको भ्रष्टाचारीको पो त हो । किन भन्दा राष्ट्रिय जनमोर्चाले भन्दै आएको छ, अहिलेको मानवजातिको समस्या भनेको साम्राज्यवाद हो । साम्राज्यवादको अगुवाइ अमेरिकाले गर्दछ । जबसम्म संसारबाट अमेरिकी साम्राज्यवादलाई पराजित गरिँदैन, तबसम्म मानवजातिको अस्तित्वमाथि प्रश्नचिह्न उभिन्छ ।
प्यालेस्टाइनी जनताको स्थिति हेर्नुहोस् त, कति ठुलो सङ्ख्यामा मान्छे मरिरहेका छन् ? हामीले पनि कुन पार्टी ठिक हो, कुन पार्टीको नीति गलत हो भन्ने कुरा बुझ्दैनौँ । विशुद्ध एनजिओ/आइएनजिओबाट आएको पैसा गुल्छर्रा उडाएर पार्टी बनाएको छ । पैसा उडाएको छ । जनतालाई किनेको छ । त्यसपछि सत्ता र शक्तिमा गएपछि फेरि भ्रष्टाचार गरेको छ । यस्तो कमजोरीबाट साम्राज्यवादले फाइदा उठाउँछन् ।
बङ्गलादेशकै कुरा गर्नुस् । श्रीलङ्काकै कुरा गर्नुस् । भनिहालेँ नि तुल्सी रावतले भनेका कुरा । नब्बे हजार आठ सय नेपाली युवाले अमेरिकी दूताबासबाट तालिम लिए । अर्काे नयाँ पिँढीले त्यहाँ गएर पढ्छन् ।
एक जना साथीले भन्नुभयो– हाम्रा छोराछोरीलाई कहाँ पढाउने ? देशभरका छोराछोरीलाई त्यहाँ लग्छन् र पढाउँछन् । चारै बजेदेखि जम्मा गर्दछन् केटाकेटी । उनीहरूलाई पढाउने के हो भने नेपालमा केही हुन्न । तिमी १२ पढेपछि कि जाने अमेरिका हो कि जाने अस्ट्रेलिया । हाम्रा छोराछोरी उनीहरूका पो बन्छन् त । बेसारे रङमा बस्छन् । देशभरी एउटा बस्दैनन्, हामीलाई उल्लु बनाउँछन् । यति राम्रो प्रकृति, यति राम्रो वनजङ्गल, यति राम्रो हावापानी भएको देश आज उजाड बनाए विदेशका र देशका सत्ताधारीले ।
२००७ सालमा आन्दोलन भयो । २०४६ सालमा आन्दोलन भयो । २०६२–६३ सालमा आन्दोलन भयो । अहिले सिंहदरबार जल्यो, सर्वाेच्च अदालत जल्यो । साँच्चै भन्ने हो भने जेनजीलाई हाइज्याक गर्ने साम्राज्यवादी हुन् । उनका एजेन्ट हुन् । दलाई लामाको आशीर्वाद पाएकाले सरकारलाई उठ भने उठ बस भने बनाएको छ । अब यो सरकारले के गर्छ ?
हामीले बुझ्नपर्ने कुरा हो, कुन राजनीतिक पार्टी ठिक हो ? कसको चरित्र ठिक छ ? यी कुरा रातारात बदलिने होइन । त्यसकारण मैले बारम्बार संसद्मा भन्ने गरेको छु, सबै ठुला पार्टीका बिचमा, तिमीहरू कि सच्चिनुपर्दछ कि बदलिनुपर्दछ । तिमीहरू नसुध्रिने हो भने राष्ट्र नै सिद्धिन्छ । चीनका विरुद्ध अमेरिका यहाँ आएर जुन गतिविधि गर्छ, सेना यहाँ ध्वंसात्मक गतिविधि गर्छ । त्यति बेला चीनले रमिता हेरेर बस्छ ? धुलोपिठो हुनेछ नेपाली जनता ।
देशमा अहिलेको यो सामान्य जस्तो घटना देखिन्छ । यो सामान्य घटना होइन । नेपालको इतिहासमा यसरी साम्राज्यवाद सोझै आएको छ । एनजिओ/आइएनजिओको माध्यमबाट नेता र पार्टीको पर्दाफास भएको छ । त्यसकारण देशको राष्ट्रियता, सार्वभौमिकता र देशको अखण्डतालाई आँखाको नानीजस्तो बनाएर देश जोगाउनका लागि हामी मर्न तयार हुनुपर्दछ ।
हामी त बुढा भयौँ । अहिले पुस्तान्तरणको कुरा पनि आयो । पुस्तान्तरणको कुरा के हो ? त्यो खालि तन्नेरीलाई राख्ने भन्ने कुरा हो ? २०५४ सालतिर म राष्ट्रिय जनमोर्चाको अध्यक्ष भएको हुँ । मलाई बनाउनुपर्छ भन्ने हाम्रा साथीहरू हुनुहुन्छ । पार्टीमा बसेपछि निर्णय मान्नुपर्छ ।
मोहनजीकै कुरा गरौँ । ९१ नब्बे वर्षको हुनुभयो । आँखा देख्नुहुन्न तर पढ्नुहुन्छ १५–१६ घण्टा । अरूलाई पढाउनुहुन्छ । लेख्न हात चल्दैन तर आफूले भन्नुहुन्छ, अरूलाई लेखाउनुहुन्छ । तँ अहिले बुढो भइस त्यसकारण जा, हामीले पन्ध्र/सोह्र वर्षको ठिटा ल्याउँछौँ भन्न तपाईंले । उनलाई खाँचो भएर हो, हामीले उनलाई मानेको ? संसारमा कहाँ छ, यो बुढो भएछ, विस्थावित गर्नुपर्छ भन्ने ? यो नयाँ हल्ला हो ।
बुढेसकालमा त यसै पनि स्वास्थ्य कमजोर हुन्छ । छोड्नु स्वाभाविक हुन्छ । म १७ वर्षमा हो पार्टीको सदस्य भएको । त्यति बेलासम्म म जेनजी नै थिए । म सडक आन्दोलनमा हिँड्थे । त्यसकारण पुस्तातरण भनेको हौवा हो । अहिले सत्तामा भएका कतिपय साथीहरू तन्नेरी नै हुनुहुन्छ त ? तन्नेरी साथीहरूले नेतृत्व गरिराख्नु भएको छ देश । किन यस्तो भयो ? किन अमेरिकी साम्राज्यवाद यस्तो खुलेआम आक्रमण गर्यो । हस्तक्षेप गर्यो त ? किन एनजिओ/आइएनजिओले यस्तो गरे ?
राजा महेन्द्र र वीरेन्द्रले लखेटेको बार्बरा एडम्सलाई २०६५ सालमा प्रचण्डले नेपाली नागरिकता दिनुभयो । हजुरलाई पत्याउन गाह्रो पर्ला । मैले रिसले भन्या हैन । नेपालमा मेरो तितो अनुभव छ, सत्ता र शक्तिमा जान पाइन्छ भने जे पनि गर्न तयार हुने, साम्राज्यवादीका जस्ता एजेन्डा पनि बोक्न तयार हुने अनि देश बच्छ ?
मानवजातिको मुख्य दुस्मन अमेरिकी साम्राज्यवादले नेपालको भूभाग प्रयोग गरेर धुलोपिठो पार्ने योजना बनाएको छ । ढिलोचाँडो नेपाली जनताले यो ध्वंस बेहोर्नुपर्नेछ । बार्बरा एडम्स फाउन्डेसनको अध्यक्ष को रहेछ ? महासचिव को रहेछ ? त्यो कसरी चल्दो रहेछ ?्र कसरी खाँदा रहेछन् ? यो कुरासँग के मतलब ? नेताहरूले कसरी देश डुबाएका रहेछन् ?
अहिले कुरा आएको छ, प्रत्यक्ष कार्यकारी भनेको, प्रधानमन्त्री राष्ट्रपति जनताले भोट हालेर जितेको हुनुपर्ने । संसद्भित्रका सांसदले चुनेर, भोट हालेर पठाएको प्रधानमन्त्री अधिनायकवादी हुन्छ । राष्ट्रपति त अधिनायकवादी हुन्छ । भनेपछि त्यो पनि साम्राज्यवादी एजेन्डा हो ।
नेपाली कङ्ग्रेस र एमाले ठुला पार्टी हुन् अहिले । त्यसलाई जिताउन साम्राज्यवादीले पैसा खर्च गरेको छ । बहुमत पुर्याउनुपर्दछ । प्रत्यक्ष कार्यकारी व्यवस्था हुँदा साम्राज्यवादले उसलाई किनिदिन्छ । उसलाई मात्र हात लिइदिन्छ । हाम्रोजस्तो प्रजातन्त्रको छोटो अभ्यास भएको देशमा समस्या आउँछ ।
अमेरिकामा प्रत्यक्ष राष्ट्रपति छ । त्यहाँ पनि राष्ट्रपति डिक्टेटर भयो भनेर विरोध आइरहेको छ । त्यसैले नेपालका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति बेकारको विचार हो ।
अहिलेको संविधान खारेज गर्नुपर्दछ भन्ने कुरा आएको छ । प्रतिगामीबाट यो कुरा आएको छ । दरबारियाबाट आएको छ किनभने यहाँ गणतन्त्र छ, धर्मनिरपेक्षता छ, समानुपातिक समावेशिता छ । त्यसकारण यो संसद्, संविधानलाई च्यात्नुपर्दछ भन्ने जुन कुरा आइरहेको छ, त्यसबारे हामी सतर्क हुनुपर्दछ ।
अहिले देशमा बहुदल छ र यति कुरा गर्न पाइएको छ । पञ्चायत कालमा पनि भ्रष्टाचार हुन्थ्यो तर त्यति बेला बोल्न पाउनुहुन्थेन । तपाईंहरू अहिले कसले घुस खान्छन्, कसले खान्छन् ? नामै किटेर भन्न पाउनुहुन्छ । यही व्यवस्थाबाट नेपालका समस्या समाधान हुन्छ भन्ने होइन । त्यसका लागि नयाँ जनवादी क्रान्ति ल्याउनुपर्दछ । त्यसको लागि संसद्लाई उपयोग गर्नुपर्दछ । बहुदलीय व्यवस्थाको उपयोग गर्नुपर्दछ । नयाँ जनवादी व्यवस्था भनेको साम्राज्यवादको अन्य हो । साम्राज्यवादी शोषणको देशबाट अन्त्य हो ।
(२०८२ मङ्सिर ६ गते रुपन्देहीको बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्र्रस्तुत मन्तव्यको सम्पादित अंश)