• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिकी साम्राज्यवादका विरुद्ध सम्झौताहीन सङ्घर्षको प्रश्न


  •   शनिबार, मङि्सर १३, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    २०८२ मङ्सिर १३ गते चितवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणापत्र

    (क)

    लेनिनले साम्राज्यवादलाई पुँजीवादको सर्वाेच्च अवस्था र मरणशील अवस्था पनि बताएका छन् । वास्तवमा साम्राज्यवाद पुँजीवादको मात्र होइन, अहिलेसम्म मानवजातिको इतिहासमा देखा परेका सबै शोषणप्रधान व्यवस्थाको सर्वोच्च रूप हो र त्यसको अन्त्यका साथै शोषणप्रधान व्यवस्था सम्पूर्ण रूपले समाप्त हुनेछ । त्यो कार्य समाजवादी क्रान्तिले पूरा गर्नेछ ।

    लेनिनले भनेजस्तै अहिलेको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । अहिले पनि विश्व त्यही युगमा छ । आज एकातिर साम्राज्यवाद अत्यन्त शक्तिशाली रूपमा देखा परेको छ भने समाजवाद अत्यन्त कमजोर अवस्थामा देखा परेको छ । केही समय पहिलेसम्म विश्वको पाँच खण्डको एक भागमा समाजवादी व्यवस्था कायम भएको थियो र समाजवादी आन्दोलन सम्पूर्ण विश्वमा उभारको अवस्थामा थियो तर अब विश्व समाजवादी व्यवस्थाको पतन भएको छ र त्यसले गर्दा विश्व समाजवादी आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ । त्यही स्थितिलाई कतिपय पक्षले समाजवादको अन्त्य भएको पनि बताएका छन् तर समाजवादको त्यस प्रकारको पतन अस्थायी अवस्था हो । अन्तमा विश्वमा पुँजीवादका साथै सम्पूर्ण रूपले शोषणप्रधान व्यवस्थाको अन्त्य हुनेछ र विश्वव्यापी रूपमा नै समाजवादी व्यवस्था निर्माण हुनेछ । अहिले सम्पूर्ण विश्व त्यही दिशामा बढिरहेको छ ।

    माक्र्सले आफ्नो महान् ग्रन्थ ‘पुँजी’ मा पुँजीवादी उत्पादन प्रणालीको विहङ्गम अध्ययन र विश्लेषण गर्दै यो निष्कर्ष निकालेका थिए, समाजमा कुन बेला कुन प्रकारको व्यवस्था कायम हुन्छ ? त्यो कुराको निर्धारण मानिसका इच्छाले भन्दा बढी उत्पादन प्रणालीको विकासको प्रक्रियाले निर्धारित गर्दछ । निश्चय नै समाजको आत्मगत पक्षले पनि त्यस प्रकारको परिवर्तनमाथि केही असर पार्दछ र गौण रूपले समाजको विकासको प्रक्रियालाई केही अगाडि वा पछाडि लैजान्छ तर सामाजिक संरचनाको निर्माणमा प्रधान र निर्णयात्मक भूमिका भौतिक पक्ष वा उत्पादन प्रणालीको नै हुन्छ । माक्र्सले समाजको विकासको लामो प्रक्रियाको वैज्ञानिक विश्लेषण गरेर त्यस प्रकारको निष्कर्ष निकालेका थिए ।
    ‘पँुजी’ स्वयम्मा कुनै दार्शनिक कृति नभएर राजनीतिक अर्थशास्त्रको विषयमा लेखिएको किताब थियो तैपनि त्यो पुस्तकमा पुँजीवादी व्यवस्थाको अध्ययनलाई माक्र्सले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दृष्टिकोणले नै विश्लेषण गरेका छन् । त्यो पुस्तक तयार पार्ने क्रममा ती सिद्धान्तको पनि निरूपण गरेका छन् । त्यसरी माक्र्सको पुस्तक ‘पुँजी’ ले आर्थिक दृष्टिकोणले मात्र होइन, दार्शनिक दृष्टिकोणले पनि ठुलो महत्त्व राख्दछ ।

    हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई मिलाएर माक्र्सले द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको प्रतिपादन गरेका थिए । हेगेलको द्वन्द्ववाद आदर्शवादी प्रकारको थियो भने फायरवाखको भौतिकवाद यान्त्रिक प्रकारको थियो । माक्र्सले हेगेलको द्वन्द्ववादबाट आदर्शवादलाई हटाएर भौतिवादी रूप दिए भने फायरवाखको भौतिकवादबाट यान्त्रिकतालाई हटाएर त्यसलाई द्वन्द्वात्मक रूप दिए । त्यसरी माक्र्सको हातमा हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवाद मिलेर द्वन्द्वात्मक भौतिकवाद सिद्धान्त निर्माण भयो तर त्यो उनको मौलिक सिद्धान्त थिएन किनभने उनले हेगेल र फायरवाखका सिद्धान्तलाई मिलाएर नै त्यो सिद्धान्तको निर्माण गरेका थिए ।

    द्वन्द्वात्मक भौतिकवादको त्यो सिद्धान्तलाई उनले समाजको विकास वा इतिहासको क्षेत्रमा प्रयोग गरे । त्यसैलाई ऐतिहासिक भौतिकवादको सिद्धान्त भनिन्छ र त्यो उनको मौलिक सिद्धान्त थियो । त्यो सिद्धान्तलाई उनले ‘पुँजी’ को अध्ययनको क्रममा विकसित गरेका थिए । पहिले कम्युनिस्ट घोषणापत्र रचना गर्ने बेलामा पनि केही द्वन्द्वात्मक ऐतिहासिक पद्धति अपनाइएको थियो भने ‘पुँजी’ को रचनाको सिलसिलामा त्यसलाई अरू उच्च तहमा विकसित गरिएको थियो ।

    इतिहासको विकास कसरी हुन्छ वा सामाजिक परिवर्तन कसरी हुन्छन् ? त्यसबारे कैयौँ सिद्धान्तको प्रतिपादन गरिएको छ तर तीमध्ये सबैभन्दा यथार्थवादी वा वैज्ञानिक सिद्धान्त ऐतिहासिक भौतिकवादी सिद्धान्त नै हो । त्यो सिद्धान्तले यो कुरामा जोड दिन्छ, समाजको विकासमा मुख्य भूमिका भौतिक पक्ष वा उत्पादन प्रणालीको नै हुन्छ यद्यपि मानव चेतनाको पक्षले पनि त्यस प्रकारको विकास क्रममा केही न केही असर अवश्य पार्दछ ।

    अहिले रुस, चीनसहित विश्व समाजवादी व्यवस्थाको पतन भएको हुनाले कैयौँ मानिसले समाजवादको सधैँका लागि अन्त्य भएको पनि बताउने गर्दछन् तर त्यसो गर्ने बेलामा उनीहरूको ध्यान भौतिक पक्ष वा उत्पादन प्रणालीले समाजवादको आधार तयार पार्दै लगिरहेको कुराप्रति गएको पाइँदैन । समाजको विकाससम्बन्धी उनीहरूको सोचाइ बढी आदर्शवादी वा अधिभूतवादी भएको हुनाले उनीहरूका लागि विश्वस्तरमा नै समाजवादको आधार झन्पछि झन् मजबुत हुँदै गएको र त्यसरी विश्वस्तरमा नै समाजवादको विजय सुनिश्चित भएको कुरालाई बुझ्नु सम्भव हुन गएको छैन । त्योबाहेक उनीहरूको चिन्तनमा भएको पुँजीवादी असरले पनि पुँजीवादको अन्त्य भएर समाजवादको विजय हुनेछ भनेर सोच्नु उनीहरूका लागि सम्भव छैन तर वास्तविकता यो हो, उत्पादक शक्ति वा उत्पादन प्रणालीले विश्वस्तरमा नै सामाजिक रूप लिँदै गइरहेको छ ।

    पुँजीपति वर्गको मुख्य उद्देश्य बढीभन्दा बढी नाफा प्राप्त गर्नु हो । उनीहरूको अस्तित्व नै त्यही कुरामाथि टिकेको हुन्छ तर त्यसो गर्ने बेलामा उनीहरूको यो कुराप्रति ध्यान गएको हुँदैन, त्यसरी उनीहरूले आफ्नो विनाशका लागि आधार तयार पार्दै गइरहेका हुन्छन् । बढी नाफा प्राप्त गर्नका लागि उत्पादन प्रणालीलाई झन्पछि झन् ठुलो आकार दिँदै जानुपर्ने आवश्यकता हुन्छ र त्यसले गर्दा उत्पादन प्रणालीले बढी सामाजिक रूप लिँदै जान्छ ।

    उत्पादन प्रणालीको जुन प्रकारको स्वरूप हुन्छ, सामाजिक संरचना पनि त्यहीअनुरूप बन्ने गर्दछ । त्यसले गर्दा पुँजीवादमा एउटा गम्भीर प्रकारको अन्तर्विरोध देखा पर्दछ, जो पुँजीवादभित्रको आधारभूत अन्तर्विरोध हो । त्यो अन्तर्विरोध हो– उत्पादनको सामाजिक स्वरूप र उत्पादनका साधन वा उत्पादनबाट प्राप्त हुने फलमाथि व्यक्तिगत स्वामित्वका बिचको अन्तर्विरोधका कारणले पुँजीवादभित्र सधैँ सङ्कटको स्थिति उत्पन्न हुन्छ । अर्का शब्दमा पुँजीवादी उत्पादनमा कहिल्यै पनि स्थिरता आउँदैन र त्यहाँ लगातार आर्थिक मन्दी अति उत्पादन, बेरोजगारीजस्ता समस्या लगातार पैदा भइरहन्छन् । कुनै कुनै बेला त्यस प्रकारका समस्याले गम्भीर रूप लिन्छन् र आर्थिक सङ्कटको स्थिति पनि उत्पन्न हुन्छ । माक्र्सले बताएका छन्, करिब १०–१० वर्षको बिचमा पुँजीवादभित्र त्यस प्रकारका सङ्कट देखा पर्ने गर्दछन् तर माक्र्सको समयमा भन्दा अहिले त्यस प्रकारका सङ्कट छिटोछिटो देखा पर्न थालेका छन् ।

    पुँजीवादले त्यस प्रकारका सङ्कट समाधानका लागि कैयौँ तरिका अपनाउने गर्दछ तर त्यसमा पुँजीवाद कहिल्यै पनि सफल हुँदैन किनभने त्यस प्रकारको सङ्कटको मूल पुँजीवादी उत्पादन प्रणाली वा त्यसभित्रको आधारभूत अन्तर्विरोधमा नै अन्तर्निहित छ । त्यो अन्तर्विरोधको मूल कारण स्वयम् पुँजीवादको चरित्रमा नै अन्तरनिहित छ । त्यो अन्तरविरोधको समाधान पुँजीवादी उत्पादन प्रणालीको सामाजिक स्वरूपअनुसार त्यसका उत्पादनका साधन वा उत्पादनका परिणाममाथिको सामाजिक स्वामित्व कायम हुने व्यवस्थाको स्थापनापछि नै सम्भव छ । त्यस प्रकारको व्यवस्था भनेको समाजवाद नै हो । त्यसरी पुँजीवादी उत्पादन प्रणालीको स्वरूपले नै सामाजिक संरचनालाई समाजवादतिर लगिरहेको छ र त्यसलाई रोक्नु पुँजीवादका लागि कहिल्यै पनि सम्भव हुने कुरा होइन ।

    पहिले दास युग वा सामन्ती युगभित्र देखा परेका अन्तरविरोधका कारणले नै ती व्यवस्थाको अन्त्य भएको थियो यद्यपि ती बेग्लाबेग्लै व्यवस्थाका सत्ताधारीले पनि आफ्नो समयमा ती व्यवस्थालाई बचाइराख्न धेरै मदत गरेका थिए र त्यसका लागि पूरा शक्ति लगाइरहेका थिए । उनीहरूलाई यो विश्वास थियो, उनीहरूका त्यो बेलाका दास युग, सामन्ती युग वा राजतन्त्र निर्विकल्प व्यवस्था थिए र तिनीहरूको कहिल्यै पनि अन्त्य हुने छैन तर इतिहास विकासको क्रममा ती दुबै व्यवस्थाको अन्त्य हुँदै गयो । उनीहरूले आफ्नो समयमा उठेका कैयौँ विद्रोहलाई दबाउन पनि सफलता प्राप्त गरेका थिए तर अन्तमा उनीहरू पराजित हुनुपरेको थियो ।

    अहिले पुँजीवादले पनि आफूलाई अजय र निर्विकल्प व्यवस्था ठान्दछ र यो कुरामाथि विश्वास गर्दछ, उनीहरूले समाजवादी क्रान्तिलाई सधैँको लागि रोक्न सक्नेछन् । यो स्पष्ट, निश्चित र अवश्यम्भावी छ : इतिहासको द्वन्द्वात्मक भौतिकवादी प्रक्रियालाई उनीहरूले रोक्न सक्ने छैनन् र दास युग र सामन्ती युगजस्तै पुँजीवादको पनि अन्त्यमा इतिहासको विषय बन्नेछ । त्यसको ठाउँमा विश्वभरमा नै समाजवादी व्यवस्था कायम हुनेछ । त्यसले पुन: साम्राज्यवादी समाजका लागि मार्गप्रशस्त गर्नेछ ।

    अहिले विश्वस्तरमा नै पुँजीवादको उच्च रूपमा विकास हुँदै गइरहेको छ वा उत्पादन प्रणालीले झन् ठुलो पैमानामा सामाजिक रूप लिँदै गइरहेको छ । त्यसरी एकातिर पुँजीवादले समाजवादलाई रोक्नका लागि पूरै शक्ति लगाउँछ भने अर्कातिर त्यसले नै समाजवादको विजयका लागि जग खन्ने काम पनि गरिरहेको छ । त्यसरी आज विश्व समाजवादी क्रान्तिका लागि वस्तुगत आधार तयार भएको छ तैपनि किन समाजवादी क्रान्ति हुन सकिरहेको छैन र त्यो पहिलेको तुलनामा किन बढी कमजोर भएको छ ? त्यसको कारण हो– वस्तुगत प्रकारले समाजवादको आधार मजबुत हुनुका बाबजुद त्यसका लागि आवश्यक आत्मगत पक्ष तयार भएको छैन वा पहिलेको तुलनामा पनि त्यो अरू कमजोर भएको छ । त्यसका लागि पुँजीवादी शक्तिभन्दा बढी जिम्मेवार स्वयम् वामपन्थी वा समाजवाद पक्षधर शक्ति नै छन् ।

    अहिले विश्व समाजवादी व्यवस्थाको पतन र विश्वमा समाजवादी आन्दोलन कमजोर हुनुका पछाडि स्वयम् कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्रमा भएको ह्रास नै हो । विश्वमा समाजवादी आन्दोलन विकासको मूल कारण माक्र्सवादी–लेनिनवादी दर्शन नै हो तर माक्र्सवादी दर्शनमाथि दक्षिणपन्थी संशोधनवादी विचारको जोड बढ्दै जानुको परिणामस्वरूप कम्युनिस्टमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुँदै गएको छ । त्यसको परिणामस्वरूप क्रान्तिकारी वामपन्थी आन्दोलन कमजोर भयो र त्यही कारणले विश्व समाजवादी व्यवस्थाको पतन हुनुका साथै विश्व कम्युनिस्ट आन्दोलन पनि कमजोर भएर गएको छ । त्यही स्थितिले नै समाजवादी आन्दोलनको तुलनामा पुँजीवादलाई आफ्नो स्थिति मजबुत पार्ने बढी अवसर प्राप्त हुन गयो । त्यो समस्याको एउटै समाधान छ– माक्र्सवादी–लेनिनवादी दर्शनअनुरूप कम्युनिस्ट क्रान्तिकारी चरित्रको निर्माण । त्यो कुरा विश्वस्तरमा पनि सत्य हो र कुनै खास देशको कम्युनिस्ट आन्दोलनबारे पनि, जसमा नेपाल पनि आउँछ ।

    अहिले नेपालमा कम्युनिस्ट आन्दोलनको पतन चरम रूपमा पुगेको छ । बाह्य रूपले नेपालमा कम्युनिस्ट आन्दोलन धेरै शक्तिशाली भएजस्तो देखिन्थ्यो किनभने यहाँ सत्ताका वरिपरि धेरै समयदेखि कम्युनिस्ट नै रहने गरेका छन् यद्यपि यो बेग्लै विचारणीय प्रश्न हो, जसले आफूलाई सच्चा कम्युनिस्ट बताउँछन्, उनीहरू कहाँसम्म सच्चा कम्युनिस्ट हुन् ? यदि त्यो कुरालाई हामीले माक्र्सवादी–लेनिनवादी मापदण्डका आधारमा मूल्याङ्कन गर्‍यौँ भने त्यो कुरा स्पष्ट हुनेछ तर त्यसका लागि यो आवश्यक छ, माक्र्सवादी–लेनिनवादी चेतनाको उच्च रूपमा विकास होस् ।

    (ख)

    आज विश्वमा साम्राज्यवादी खतरा अत्यन्त गम्भीर रूपमा देखा परिरहेको छ । त्यो खतरा मुख्य रूपले युद्धको रूपमा देखा परिरहेको छ । अहिले विश्वव्यापी रूपमा नै युद्धको वातावरण तयार भएको छ । त्यस प्रकारको युद्धको स्थितिबाट विश्वयुद्ध हुन सक्ने र त्यसले आणविक युद्धको रूप लिन सक्ने सम्भावना बढ्दै गइरहेको छ । आणविक युद्धको अर्थ हुनेछ– सम्पूर्ण मानवजातिको विनाश । अमेरिकाका राष्ट्रपति ट्रम्पले बढो गर्वपूर्वक यो घोषणा गर्ने गरेका छन्, उनीहरूसित भएका हतियारबाट पृथ्वीलाई पचासपटक नष्ट गर्न सकिनेछ । त्यसबाट प्रस्ट हुन्छ, अहिले विश्वमा देखा परिरहेको युद्धको खतरा कति गम्भीर प्रकारको छ । त्यो अवस्थामा युद्धको विरोध र शान्तिको रक्षा अहिलेको महŒवपूर्ण अन्तर्राष्ट्रिय जिम्मेवारी बन्न गएको छ ।

    युद्धको स्रोत साम्राज्यवाद नै हो । त्यो अवस्थामा शान्तिको रक्षाका लागि युद्धको विरोध गर्नुपर्दछ र युद्धको विरोधका लागि साम्राज्यवादको विरोध गर्नुपर्दछ । त्यसरी साम्राज्यवादको विरोध अहिलेको विश्वको जीवनमरणको नै प्रश्न बन्न गएको छ ।

    अहिलेको विश्वमा साम्राज्यवादको नेतृत्व अमेरिकाले गरिरहेको छ र अमेरिकाको नेतृत्व ट्रम्पले गरिरहेका छन् । ट्रम्प अमेरिकाको राष्ट्रपतिमा चुनिएपछि साम्राज्यवाद संसारमा चरम भद्दा र फासिस्ट रूपमा देखा परेको छ । ट्रम्प सत्तामा आएपछि साम्राज्यवादको फासिस्ट प्रकृति चौतर्फी रूपमा प्रकट भएको छ । उनले ग्रिनल्यान्ड, क्यानडा वा पनामासहितका भूमिमा अमेरिकी प्रभुत्व कायम गर्ने कुरा गरिरहेका छन् । उनले संसारभरि नै एक प्रकारले युद्ध नै चलाइरहेका छन् । उनका फासिस्ट नीतिबाट उत्पीडित राष्ट्र मात्र होइन, स्वयम् अमेरिकी जनता पनि धेरै नै पीडित भएका छन् । अमेरिकामा ट्रम्प शासनका विरुद्ध भइरहेको व्यापक जनप्रदर्शनले त्यो कुरा बताउँछ ।

    अहिले उत्पीडित राष्ट्रसित अमेरिकाको विरोध बढ्दै जानुका साथै स्वयम् साम्राज्यवादी देशका बिचको अन्तर्विरोध पनि धेरै नै तीव्र भएर गएको छ । उनले एकातिर नोबेल शान्ति पुरस्कारको लागि दाबी गरिरहेका छन् भने अर्कातिर संसारका विभिन्न भागमा युद्धपिपासु नीति अपनाउँदै गइरहेका छन् । इजरायलसँग मिलेर इरानमाथि गरेको हमला त्यसको एउटा नाङ्गो उदाहरण हो । उनले गाजामा शान्तिस्थापनाका लागि पहल गरिरहेको दाबी गरिरहेका छन् तर अर्कातिर गाजामाथि इजरायलको लगातार हमला भइरहेको छ । यो कुनै लुकेको कुरा होइन, इजरायलको मध्यएसियामा र खास गरेर प्यालेस्टाइनी जनतामाथि इजरायलको त्यस प्रकारको आक्रामक क्षमता अमेरिकाको समर्थनमाथि निर्भर छ । अमेरिकाले गाजाबाट सबै प्यालेस्टिनी जनतालाई विस्थापित गरेर त्यहाँ अमेरिकाको प्रभुत्व कायम गर्ने कुरा पनि गरिरहेका छन् । उनले इरानमाथि पनि पुन: हमला गर्ने धम्की दिइरहेका छन् । उनले युक्रेनका दुर्लभ खानीमाथि कब्जा गर्नका लागि युक्रेनमाथि दबाब दिइरहेका छन् । त्यसरी उनको नेतृत्वमा साम्राज्यवाद नाङ्गो प्रकारले अगाडि आएको छ ।

    नेपालको सन्दर्भमा पनि अमेरिकाको साम्राज्यवादी नीति अत्यन्त खतरनाक रूपमा अगाडि आएको छ । त्यसले नेपालका विभिन्न राजनीतिक पार्टीमाथि दबाब दिएर संसद्लाई एमसिसी पारित गर्न बाध्य पारेको थियो । त्यसले नेपालमाथि एसपिपी सम्झौता पारित गर्न पनि दबाब दिइरहेको छ । यदि त्यो सम्झौता नेपालले स्वीकार गर्‍यो भने अमेरिकी सेनालाई चीनको सीमासम्म पुग्ने अवसर प्राप्त हुनेछ ।

    ट्रम्पले संसारलाई दिएका आफ्ना कैयौँ अनुदानलाई बन्द गर्ने सिलसिलामा नेपालमा एमसिसीको कार्यक्रमलाई पनि स्थगित गर्ने घोषणा गरेका थिए तर पछि त्यसलाई पुन: चालु गरे । त्यसबाट अमेरिकाको नेपालप्रतिको गम्भीर प्रकारको साम्राज्यवादी नीतिमा कुनै शङ्का रहन्न । एमसिसीको उद्देश्य इन्डोप्यासिफिक रणनीतिअन्तर्गत चीनका विरुद्ध नेपाल वा नेपालको भूमिलाई पनि उपयोग गर्नु हो । त्यही प्रकारले अमेरिकाले चीनको अङ्ग भएको कुरालाई औपचारिक रूपले नै स्वीकार गरेको छ तर त्यसले पुन: तिब्बतमाथि आक्रमण गरेर त्यहाँ दलाई लामालाई पुन: स्थापित गर्ने रणनीति अपनाएको छ । त्यसका लागि त्यसले नेपालमा पूरै नै अमेरिकाको निर्देशनमा चल्ने सरकार स्थापना गर्न चाहन्छ ।

    माओवादी, एमाले वा नेपाली कङ्ग्रेसले अमेरिकी साम्राज्यवादपरस्त नीति नै अपनाउँछन् । उनीहरूको त्यही प्रकारको नीतिका कारणले उनीहरूले संसद्मा एमसिसी पारित गरेका थिए तर उनीहरूको त्यस प्रकारको साम्राज्यवादपरस्त नीतिलाई पनि अमेरिकाले पर्याप्त ठानेको छैन किनभने उनीहरूले चीनप्रति पनि मैत्रीपूर्ण नीति अपनाउने गर्दछन् । उनीहरूले एमसिसी पारित गरेका थिए तर एसपिपी स्वीकार गर्न उनीहरू तयार भएका थिएनन् । अमेरिकाको दृष्टिकोणमा नेपालका स्वयम् अमेरिकापरस्त राजनीतिक पार्टीको त्यस प्रकारको नीति अमेरिकाले खोजेजस्तो प्रयाप्त थिएन । यसैले अमेरिकाले तिनीहरूको सत्तालाई समाप्त गरेर पूरै नै अमेरिकाको नीतिमा चल्ने सरकार स्थापना गर्न चाहन्छ । त्यही उद्देश्य पूरा गर्न त्यसले पहिले कठित स्वतन्त्र पार्टी गठन गरेको थियो ।

    विश्व राजनीतिको सर्सरी अध्ययनबाट यो कुरा प्रस्ट हुन्छ, त्यसले कुनै देशका आफ्ना पात्रलाई बारम्बार परिवर्तन गर्ने गर्दछ भने कतिपय अवस्थामा एकैसाथ कैयौँ पात्रलाई पनि उपयोग गर्ने गरेको हुन्छ । त्यसरी त्यसले नेपालमा अगाडि सारेको कथित स्वतन्त्र पार्टीमा नेपालमा त्यसले अगाडि सारेका कैयौँ पात्रमध्ये एउटा थियो । त्यसले एउटै पार्टीभित्र पनि कैयौँ पात्रलाई घुसपैठ गर्ने नीति अपनाएको हुन्छ । त्यही क्रममा नेपालमा आफ्नो नीतिलाई अरू प्रभावशाली प्रकारले अगाडि बढाउन जेनजी ओन्दोलन सञ्चालन गरेको हो ।

    प्रकट र बाह्य रूपमा जेनजी आन्दोलन खास गरेर भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका विरुद्धको जेनजीका स्वत:स्फूर्त आन्दोलन थियो तर वास्तविक रूपमा त्यो आन्दोलनको सञ्चालन सिआइएले नै गरेको थियो । दलाई लामाले जेनजी आन्दोलनपछि बनेको सरकारलाई दिएको समर्थन, अमेरिकी एम्बेसीद्वारा सञ्चालित युवा काउन्सिलद्वारा सङ्गठित हजारौँ युवकको जेनजी आन्दोलनमा सक्रियता, कतिपय टिओबी ग्रुपको जेन्जी आन्दोलनमा प्रत्यक्ष सहभागिता तथा कतिपय फ्री तिब्बत पक्षधर व्यक्तिको जेनजी आन्दोलनलाई उनीहरूले नै नेतृत्व गरेको दाबी आदिबाट त्यो आन्दोलनमा अमेरिकाको प्रत्यक्ष भूमिका भएको कुरामा कुनै शङ्का रहन्न । निश्चय नै त्यो जेनजी आन्दोलनलाई राजावादी, कथित स्वतन्त्र पार्टीसहित अन्य कतिपय राजनीतिक शक्तिले पनि आफ्ना निहित स्वार्थको पक्षमा उपयोग गर्न प्रयत्न गरेको वास्तविकतालाई पनि अस्वीकार गर्न सकिन्न ।

    जेनजी आन्दोलनको चर्चा गर्ने सिलसिलामा भदौ २३ गते उनीहरूको शान्तिपूर्ण आन्दोलनमाथि गरिएको भीषण दमन र नरसंहारलाई कुनै पनि अवस्थामा हल्का रूपमा लिनु सही हुनेछैन । ओलीको यो दाबी रहेको छ, त्यस प्रकारको दमन र नरसंहारको लागि उनी वा उनको सरकार जिम्मेवार थिएन र त्यो कार्य घुसपैठियाद्वारा गरिएको थियो । ओलीको त्यो भनाइलाई पनि हल्का रूपमा लिनु सही हुनेछैन । यदि ओलीको भनाइमा थोरै मात्र पनि सत्यता छ भने त्यसले त्यो दिनको कारबाहीको गम्भीरतालाई गम्भीर रूपमा बढाइदिन्छ । यदि त्यस्तो भएको छ भने त्यसबारे गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि ओलीले त्यससम्बन्धी तथ्य र आधार प्रस्तुत गर्नु पर्दछ तर ओलीले अहिलेसम्म त्यस प्रकारको कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् । त्यसबाट उनले जे दाबी गरिरहेका छन्, त्यसमाथि पूरै विश्वास गर्न मुस्किल पर्दछ । त्यो अवस्थामा भदौ २३ गतेको दमन वा नरसंहारका लागि ओली नै जिम्मेवार भएको निष्कर्षमा पुग्नुबाहेक अन्य कुनै विकल्प देखिँदैन र त्यो दिनका दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवश्यकता भएको कुरा प्रष्ट छ अन्यथा त्यस प्रकारका कारबाहीको पुनरावृत्ति भइरहनेछ र त्यस प्रकारका कारबाहीद्वारा जनता बारम्बार पीडित भइरहनु पर्नेछ ।

    संसारका कैयाँै देशमा त्यस प्रकारका गैरजिम्मेवार, भ्रष्ट वा जनविरोधी कार्यको लागि राष्ट्रपति र प्रधामन्त्रीमाथि कारबाही भएका कैयौँ उदाहरण छन् । यदि भदौ २३ गतेको जस्तो गम्भीर र जनविरोधी कार्य हुन्छ भने त्यसका लागि दोषीमाथि न्यायोचित कारबाही गर्नुपर्ने कुरामा कुनै मतभेद नरहने कुरा प्रस्ट छ ।

    अर्काे विचारणीय प्रश्न भदौ २४ गतेको घटनासँग सम्बन्धित छ । यो कुराको अनुमान गर्न सकिन्छ, भदौ २४ गते भएको तोडफोड, आगलागी वा देशव्यापी रूपमा भएका ध्वंसात्मक कार्य जेनजीका नीति र कार्यक्रमअनुसार भएका थिएनन् र त्यस प्रकारका कार्यका लागि उनीहरू जिम्मेवार भएका थिए भन्न मुस्किल पर्दछ । त्यस प्रकारका कार्य त्यो आन्दोलनमा घुसपैठ गरेमा गलत तत्त्वले नै गरेका थिए । त्यस प्रकारका गलत तत्त्वमा रअसहित नेपालका कतिपय राजनीतिक तत्त्व पनि थिए, जसमा राजावादी, कथित स्वतन्त्र पार्टीका कार्यकर्ताको भूमिका उल्लेखनीय रूपमा रहेको थियो तर त्यस प्रकारको गतिविधिका पछाडि मुख्य रूपले अमेरिकी साम्राज्यवाद नै रहेको थियो ।

    नेपालमा अमेरिकाले आफ्नो चौतर्फी प्रकारको सञ्जाल तयार पार्दै लगिरहेको छ । त्यसले नेपालमा एनजिओ, आइएनजिओसहित कैयौँ एजेन्सी तयार पारेको छ । समाजका विभिन्न सामाजिक, प्रशासनिक वा भौतिक क्षेत्रमा पनि त्यसले आफ्नो घुसपैठ बढाएर लगेको छ । अमेरिकामा शिक्षित बुद्धिजीवीलाई पनि ठुलो सङ्ख्यामा नेपालमा उपयोग गर्ने प्रयत्न गरेको छ । त्यसले तिनीहरूलाई नेपालका विभिन्न राजनतिक वा सामाजिक क्षेत्रमा सक्रिय बनाएर आफ्ना साम्राज्यवादी नीतिका पक्षमा आधार तयार पार्ने काम गरिरहेको छ ।

    पहिले अमेरिकाले नेपालका विभिन्न राजनीतिक पार्टी वा भारतीय साम्राज्यवादको माध्यमद्वारा नै नेपालप्रतिका आफ्ना साम्राज्यवादी नीति पूरा गर्ने प्रयत्न गर्दथ्यो तर पछि त्यसले नेपालमा तराईमा भारतले आफ्नै निर्देशनमा चल्ने राजनीतिक सङ्गठन बनाएजस्तै सिधै सिआइएको निर्देशनमा चल्ने राजनीतिक सङ्गठन गठन गर्ने नीति अपनायो । त्यही सिलसिलामा कथित स्वतन्त्र पार्टी गठन गरेको थियो । त्यही सिलसिलामा अहिले त्यसले जेनजी आन्दोलनको सञ्चालन गरेर आफ्नो उद्देश्य पूरा गर्ने प्रयत्न गरेको छ ।

    जेनजी आन्दोलनपछाडिको रणनीतिको मुख्य उद्देश्य हो : पुराना राजनीतिक पार्टीलाई फालेर आफ्नै निर्देशनमा चल्ने सरकार गठन, जसद्वारा अमेरिकाको एमसिसी, एसपिपीसहित “स्वतन्त्र तिब्बत” सहितको रणनीतिलाई निर्विघ्नपूर्वक अगाडि बढाउन सकियोस् । त्यसरी जेनजी आन्दोलनपछि नेपाल गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको छ ।

    अमेरिकी साम्राज्यवादका तर्फबाट नेपालका लागि देखा परेको त्यो सङ्कटका पछाडि मुख्य भूमिका अमेरिकाको नै भएको कुरा त स्वत: सिद्ध नै छ तर त्यसका लागि अमेरिकाको पक्षमा नेपालमा काम गर्ने राजनीतिक पार्टी वा विभिन्न प्रकारका सामाजिक सञ्जाल पनि काफी हदसम्म जिम्मेवार छन् । जनतामा अमेरिकी साम्राज्यवाद विरुद्ध उच्च प्रकारको चेतना उठाएर नै हामीले त्यस प्रकारका खतराको सामना गर्न सक्दछौँ र गर्नु पनि पर्दछ । त्यसो गर्ने बेलामा अमेरिकी साम्राज्यवादका साथै अन्य साम्राज्यवादी देशको गतिविधिलाई उपेक्षा गर्नु पनि सही हुनेछैन ।

    नेपालमा अमेरिकी साम्राज्यवादको बढिरहेको त्यस प्रकारको खतराका विरुद्ध नेकपा (मसाल) ले दृढ र सम्झौताहीन सङ्घर्षको नीति अपनाउँदै आएको छ । अमेरिकी साम्राज्यवादका विरुद्ध देशव्यापी रूपमा राजनीतिक सन्देश दिन नै हामीले चितवनको उपचुनावलाई उपयोग गरेर अमेरिकी साम्राज्यवादको भण्डाफोर गर्ने नीति अपनाएका थियौँ । पछि हामीले अमेरिकी साम्राज्यवादका विरुद्ध मेची महाकाली अभियान पनि सञ्चालन गरेका थियौँ । त्यसरी विश्वस्तरका साथै नेपालमा पनि अमेरिकी साम्राज्यवादको गम्भीर प्रकारको खतरा भएको र त्यसको एमसिसी वा तिब्बतनीतिका कारणले नेपाल युद्धभूमि बन्न सक्ने सम्भावना पनि भएको हुनाले त्यसका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्नुपर्ने र जनचेतना उठाउनका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।

    शनिबार, मङि्सर १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.