• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

नेपालको तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलन


  •   शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    २०८२ मङ्सिर ६ गते राष्ट्रिय जनमोर्चाका तर्फबाट काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत अवधारणापत्र ।

    १. नेपालको तात्कालिक राजनीतिक परिस्थिति पहिलेदेखि नै सङ्कटग्रस्त थियो । खास गरेर एकातिर, जनताको आन्दोलनद्वारा प्राप्त गणतन्त्र र धर्मनिरपेक्षताजस्ता महान उपलब्धिमा राजावादीको सङ्गठित अभियानद्वारा पुगेको खतरा तथा अर्कातिर, देशको राष्ट्रियता र सार्वभौमिकतामाथि साम्राज्यवादी शक्तिको हस्तक्षेप र अतिक्रमणबाट पुगेको खतरासमेतका कारणले पहिलेदेखि नै देश सङ्कटको मुखमा उभिएको थियो । जेनजी आन्दोलनले त्यो सङ्कटलाई अरू कैयौँ गुणा बढाइदिएको छ । त्यो अवस्थामा हामीले यो स्थितिको सही मूल्याङ्कन गरेर एकातिर, गणतन्त्रसहित जनताको आन्दोलनद्वारा प्राप्त महान् उपलब्धि र देशको राष्ट्रियता र सार्वभौमिकतासमेतको रक्षा तथा अर्कातिर, जनजीवनसित सम्बन्धित न्यायपूर्ण र प्रगतिशील समस्याको समाधानको लागि पनि जनआन्दोलनलाई उच्चस्तरमा उठाउनुपर्ने उत्तरदायित्व हाम्राअगाडि थियो । जेनजी आन्दोलनले त्यो स्थितिलाई अरू जटिल र गम्भीर बनाइदिएको छ । त्यो अवस्थामा त्यसको समेत सही मूल्याङ्कन गरेर देशको राजनीति र आन्दोलनलाई समेत सही दिशानिर्देशन गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । अब हाम्राअगाडि योबाहेक अन्य कुनै विकल्प छैन : या त हामीले उपर्युक्त परिस्थितिमा सही दिशानिर्देशन गरेर देशलाई अगाडि बढाउनपर्दछ अन्यथा देशमा गणतन्त्र र राष्ट्रियतासहित देश पूरै विनाशको बाटोमा जाने कुरा अवश्यम्भावी छ ।

    २. भदौ २३ र २४ गतेको आन्दोलनलाई हामीले दुई बेग्लाबेग्लै कोणबाट मूल्याङ्कन गरेर हेर्नुपर्ने आवश्यकता छ । पहिलो दिनको आन्दोलन भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धसमेतका विरुद्ध आन्दोलन थियो । त्यसकारण त्यो सही र न्यायपूर्ण दुबै थियो तर त्यो दिन जेनजी युवामाथि जुन भीषण नरसंहार गरियो, त्यसलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न । तत्कालीन प्रधानमन्त्री ओलीले यो दाबी गरिरहेका छन् कि त्यो दिन गरिएको नरसंहारको लागि उनी वा उनको सरकार जिम्मेवार छैन । त्यो दिनको गोलीकाण्डमा प्राप्त भएका गोली पनि प्रहरीका थिएनन् । यो कुरालाई हामीले स्वीकार गर्दछौँ कि संसारका कैयौँ देशका आन्दोलनमा घुसपैठियाद्वारा त्यस प्रकारका षड्यन्त्रमूलक कारबाही हुने गरेका छन् तर त्यस प्रकारको दाबीको पक्षमा ओलीले अहिलेसम्म कुनै आधार वा प्रमाण दिन सकेका छैनन् ।

    आउने दिनमा त्यस प्रकारको कुनै आधार प्राप्त भएमा त्यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकतालाई हामीले अस्वीकार गर्दैनौँ । त्यस प्रकारको कुनै आधिकारिक जानकारीको अभावमा ओलीले जे भनेका छन्, त्यसलाई जस्ताको तस्तै लिनु सही हुने छैन । त्यो अवस्थामा त्यो दिन गरिएको गोलीकाण्डको लागि ओलीको सरकार नै जिम्मेवार भएको कुरालाई कुनै पनि अवस्थामा अस्वीकार गर्न सकिन्न र त्यसबारे उच्च र निष्पक्ष छानबिन भएर दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । निश्चय नै पछि त्यस प्रकारको गोलीकाण्ड घुसपैठियाद्वारा गरिएको कुरा प्रमाणित भएमा उनीहरूमाथि पनि कारबाही हुनुपर्ने कुरालाई पन्छाउनु सही हुने छैन ।

    ३. भदौ २४ गते जुन घटना घटे, तिनीहरूको प्रकृति भदौ २३ गतेको आन्दोलनको प्रकृतिभन्दा बिल्कुल बेग्लै छ । त्यसबाट राजनीतिक महत्त्वका कैयौँ गम्भीर तथ्य अगाडि आउँछन् । प्रथमत: भदौ २४ गतेको आन्दोलन जेनजीको आन्दोलन नै थिएन र त्यो दिनका सबै गतिविधिलाई घुसपैठियाले आफ्नो हातमा लिएको कुरा घटनाक्रमबाट प्रष्ट हुन्छ । त्यो दिनका सबै घटनाक्रममाथि विचार गर्दा त्यो दिन पूरै नै घुसपैठियाको नियन्त्रण भएको कुरामा कुनै शङ्का रहन्न । त्यो दिन देशव्यापी रूपमा तोडफोड, आगजनी वा ध्वंसात्मक कार्य पनि भएका छन् । सिंहदरबार र सर्वोच्च अदालतजस्ता महत्त्वपूर्ण सरकारी अड्डा जलाइएका छन् भने पुलिसका पनि करिब ४५० जति पुलिस स्टेसनमा तोडफोड गरिएको छ । विभिन्न जिल्लामा पनि विभिन्न सरकारी वा अड्डाअदालतमा तोडफोड गरिएको छ । विभिन्न राजनीतिक पार्टीका कैयौँ कार्यालयमा देशव्यापी रूपमा नै तोडफोड गरिएको छ, जसमध्ये राष्ट्रिय जनमोर्चाका, बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतका कार्यालयमा तोडफोड गरिएको छ वा आग लगाइएको छ । विभिन्न राजनीतिक पार्टीका कार्यालयमा पनि आगो लगाउने वा तोडफोड गर्ने कार्य गरिएका छन् । कैयौँ पार्टीका शीर्षस्थ नेतामाथि शारीरिक रूपले हिंसात्मक हमला गर्ने कार्य गरिएको छ, जसमध्ये एक जना शीर्षस्थ नेताको पत्नीलाई जलाउने प्रयत्न गरिएको छ । कैयौँ व्यावसायिक प्रतिष्ठानमा पनि तोडफोड वा आगजनी वा लुटपाट गर्ने कार्य गरिएका छन् । जेनजीको आन्दोलनको त्यस प्रकारको कुनै नीति वा कार्यक्रम थिएन । त्यसकारण त्यो दिनको गतिविधिका लागि उनीहरू जिम्मेवार नभएको कुरा प्रष्ट छ ।

    ४. अब यो प्रश्न अगाडि आउँछ : आखिर त्यो दिनको त्यस प्रकारको अवाञ्छित कारबाहीको लागि को जिम्मेवार थियो ? यो कुरा पनि प्रष्ट छ कि त्यो दिनको त्यस प्रकारको कारबाही अकस्मात् र स्वत:स्फूर्त रूपले भएको कारबाही थिएन । स्वत:स्फूर्त रूपले केही घण्टाभित्र देशभरि व्यापक रूपमा त्यस प्रकारका ध्वंसात्मक कार्य हुनु सम्भव पनि थिएन र लामो तयारीपछि नै त्यस प्रकारका कारबाही भएको कुरा प्रष्ट छ । त्यो लामो छानबिन र अनुसन्धानपछि नै प्रष्ट हुने कुरा हो । के सरकारले त्यस प्रकारको कारबाही गरेका दोषीलाई सजाय दिन सक्ला अन्यथा देशमा त्यस प्रकारका घटनाको बारम्बार पुनरावृत्ति भइरहनेछ ।

    अहिले जुन तत्त्वले त्यस प्रकारका कार्य गरे, उनीहरूद्वारा भविष्यमा पनि त्यस प्रकारका कार्यको पुनरावृत्ति भइरहनेछ र त्यसबाट दीर्घकालीन रूपले नै धेरै क्षति पुग्नेछ । त्यसैले त्यसप्रति जनताको गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा यो पनि गम्भीर प्रश्न अगाडि आएको छ : त्यस दिनको त्यस प्रकारको आगलागी, तोडफोड वा हिंसात्मक कार्यलाई रोक्नका लागि प्रहरी र मुख्यत: सेनाद्वारा किन कुनै कारबाही गरिएन ? सेना सक्रिय भएपछि भदौ २५ देखि त्यस प्रकारका कारबाही बन्द भए । यदि सेनाले ध्यान दिएको भए २४ गते सिंहदरबार र सर्वोच्च अदालतलाई समेत बचाउन सकिन्थ्यो ।

    सिंहदरबारमा आगलागी हुँदा कैयौँ ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्त्वका दस्तावेज ध्वस्त हुन गएका छन् भने सर्वोच्च अदालत र अन्य जिल्लाका अदालतका मिसिल जलाइदा विभिन्न गम्भीर प्रकारका अपराधसम्बन्धी मुद्दाका मिसिलसमेत नष्ट भएका छन् । त्यसबाट यो कुराको अनुमान गर्न गाह्रो पर्दैन, विभिन्न प्रकारका अपराधमा संलग्न वा थुनामा परेका व्यक्तिसित सम्बन्धित कागजपत्र नष्ट गर्नका लागि योजनाबद्ध प्रकारले सर्वोच्च अदालत वा विभिन्न जिल्लाका कागजपत्र जलाउने काम गरिएको थियो । त्यस प्रकारको गतिविधिसँग जेनजीको कुनै संलग्नता नभएको कुरा प्रष्ट छ । त्यो अवस्थामा त्यस प्रकारका अपराधजन्य कारबाहीबारे छानबिन गरेर दोषी व्यक्तिलाई सजाय दिनु कति धेरै आवश्यक छ ? त्यो कुरा प्रष्ट छ ।

    ५. सामान्यत: वा प्रकट र बाह्य रूपले जेनजी आन्दोलन नयाँ युवाको स्वत:स्फूर्त आन्दोलन हो तर त्यो त्यसको एउटा पक्ष मात्र हो । त्यो आन्दोलनका पछाडि कैयौँ गलत तŒवले सुनियोजित प्रकारले काम गरिरहेका थिए । तिनीहरूमध्ये मुख्य भूमिका अमेरिकी साम्राज्यवादको नै रहेको छ । इन्डोप्यासिफिक क्षेत्रमा चीनका विरुद्ध घेराबन्दीका लागि त्यसले इन्डोप्यासिफिक रणनीति वा घेराबन्दीअन्तर्गत योजनाबद्ध प्रकारले काम गरिरहेको छ । त्यही रणनीति पूरा गर्न नै त्यसले एमसिसीलाई पनि अगाडि ल्याएको छ र त्यसमा नेपाललाई पनि सामेल गरिएको छ । तिब्बतलाई अमेरिकाले चीनको नै अङ्ग भएको स्वीकार गर्दछ तर त्यहाँ दलाई लामालाई पुनस्र्थापना गर्नु पनि त्यसको रणनीतिको उद्देश्य हो । त्यो उद्देश्य पूरा गर्न तिब्बतमाथि आक्रमण गर्नु आवश्यक हुनेछ र त्यसका लागि अमेरिकालाई नेपाललाई युद्धभूमि बनाउनु आवश्यक हुनेछ । त्यो कार्य पूरा गर्न त्यसलाई नेपालमा पूरै नै अमेरिकाको निर्देशनमा चल्ने सरकारको आवश्यकता हुनेछ । नेपालका अहिलेसम्मका सरकारले एमसिसीसमेतलाई पारित गरेर अमेरिकापरस्त नीति अपनाएका भए पनि उनीहरूले अर्कातिर चीनसित पनि मैत्रीपूर्ण नीति अपनाउने गरेका छन् । त्यसैले अमेरिकाले पुराना सरकारलाई अपदस्त गराएर पूरै नै अमेरिकाको निर्देशनमा चल्ने सरकार कायम गर्न चाहन्छ । त्यसैको लागि पहिले कथित स्वतन्त्र पार्टी गठन गरिएको थियो । त्यही उद्देश्य पूरा गर्न अहिले जेनजी आन्दोलनलाई पनि उपयोग गर्ने प्रयत्न गरिएको छ । त्यसरी मूल रूपमा अहिलेको जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित आन्दोलन हो ।

    कैयौँ ठोस प्रमाणद्वारा त्यो कुरा पुष्टि पनि भएको छ । त्यसको सबैभन्दा पहिलो र ठोस प्रमाण त यो हो कि दलाई लामाले अहिलेको अन्तरिम सरकारलाई शुभकामना दिएका छन्, जबकि यसभन्दा पहिले कुनै सरकारलाई उनले त्यसरी शुभकामना दिएका थिएनन् । खुला प्रकारले नै ‘स्वतन्त्र तिब्बत’ को आन्दोलनलाई समर्थन गरिरहेका कतिपय तत्त्वले जेनजी आन्दोलनलाई आफूले नै नेतृत्व गरेको दाबी गरिरहेका छन् । त्यो जेनजी आन्दोलनको दौरानमा ‘टिओबी’ बिल्ला लगाएका कतिपय ग्रुप पनि खुला प्रकारले नै सक्रिय भएका थिए । अमेरिकी एम्बेसीद्वारा सञ्चालित हजारौँ नेपाली युवा पनि त्यो आन्दोलनमा सक्रिय भएका थिए । त्यसरी अहिलेको जेनजी आन्दोलन मुख्य रूपले अमेरिकी साम्राज्यवादद्वारा नै सञ्चालित भएको कुरा दिनको उज्यालोझँै प्रष्ट छ । अमेरिकाले कैयौँ देशमा त्यसरी जेनजीलाई सञ्चालन गर्ने गरेको छ र त्यही सिलसिला अहिले नेपालमा पनि देखा परेको छ ।

    ६. नेपालको जेनजी आन्दोलनमा मुख्य भूमिका अमेरिकाको नै रहेको छ तर त्यसका साथै अन्य कतिपय देशी वा विदेशी पक्षले पनि त्यसलाई आफ्ना स्वार्थका पक्षमा उपयोग गर्ने प्रयत्न गरेका छन्, जसमा भारतीय साम्राज्यवाद, नेपालका राजावादी र अन्य कतिपय राजनीतिक पक्ष पनि आउँछन् । त्योबाहेक असामाजिक र अपराधिक तत्त्वको पनि त्यो आन्दोलनमा ठुलो पैमानामा घुसपैठ भएको पाइन्छ ।

    भारतले बल्लभभाइ पटेलको समयदेखि नै नेपाललाई भारतमा सामेल गराउने नीति अपनाउँदै आएको छ र अहिले मोदी सरकारले पनि पटेलको त्यही नीतिलाई अगाडि बढाउन प्रयत्न गरिरहेको छ । त्यसले राजावादीलाई अगाडि सारेर नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहन्छ र त्यसका लागि नेपालका राजावादीलाई अगाडि बढाउने प्रयत्न गरिरहेको छ । पूर्वराजा ज्ञानेन्द्रको गोरखपुरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथसितको भेटघाट, त्यसपछि उनको बढेको सक्रियता र उनको स्वागत कार्यक्रममा आदित्य नाथको फोटाको प्रदर्शन समेतबाट अहिलेको राजावादीको आन्दोलनका पछाडि भारतका कट्टर हिन्दुवादीको हात रहेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसरी नेपालको गणतन्त्र वा धर्मनिरपेक्षताका विरुद्ध भारतका कट्टर हिन्दुवादी शासक वर्ग र नेपालका राजावादी एउटै पङ्क्तिमा उभिएको कुरामा कुनै शङ्का रहन्न । उनीहरूको त्यस प्रकारको खुला र छद्म गठबन्धन नेपालको गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियतासमेतका लागि गम्भीर प्रकारको खतरा हो । नेपालका अन्य कतिपय राजनीतिक शक्तिले पनि जेनजी आन्दोलनबाट फाइदा उठाउन खुला वा छद्म प्रकारले त्यसमा सामेल भएको कुराका कैयौँ उदाहरण पनि अगाडि आएका छन् ।

    ७. नेपालको राजनीतिक इतिहासमा जेनजीको लामो र गौरवपूर्ण भूमिका रहेको छ । जेनजी भन्नाले सामान्यत: १३ देखि २८ वर्षसम्मका युवालाई नै भन्ने गरिन्छ । पहिले त्यो शब्दको प्रयोग नगरिएको भए पनि त्यो शब्दले सबै युवा वा विद्यार्थीलाई बताउँछ । नेपालमा निरङ्कुश राणाशासन, पञ्चायती तानाशाही शासन, राजतन्त्र, बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै प्रकारले देखा परेका प्रतिगमन, देशमा बेग्लाबेग्लै समयमा हुने विदेशी हस्तक्षेप र अतिक्रमणसमेत विरुद्धको आन्दोलनमा युवाको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । नेपालको वामपन्थी वा प्रजातान्त्रिक आन्दोलनका कैयौँ शीर्षस्थ नेताहरूले पनि जेनजी उमेरमा नै विभिन्न पार्टी र आन्दोलनमा प्रवेश गरेका थिए र जीवनभरि नै कैयौँ जेलनेल, भूमिगत जीवनसमेतको सामना गर्दै आएका थिए । नेपालका धेरैजसो सहिद पनि त्यही कालमा नै सहिद भएका थिए ।

    नेपालको भविष्य पनि अन्तत: जेनजीमाथि नै निर्भर छ तर उनीहरूले त्यस प्रकारको सकारात्मक भूमिका त्यो बेला नै खेल्न सक्छन्, जब उनीहरू उच्च प्रकारको दर्शन, सिद्धान्त, नीति, कार्यक्रम वा देश र जनताको सेवाको भावनाद्वारा निर्देशित हुन्छन् । त्यसको लागि उनीहरू लामो अनुभव र परीक्षाका बिचबाट खारिनुपर्ने आवश्यकता हुन्छ । त्यसपछि नै आफ्नो सिद्धान्त वा देश र जनताको सेवाको लागि उनीहरू कहाँसम्म इमान्दार, दृढ र टिकाउ छन् भन्ने कुरा थाहा हुन्छ । एकाध दिन, एकाध महिना, एकाध वर्ष वा एकाध दशकको कार्यद्वारा नै कसैको विषयमा ऊ कहाँसम्म देश र जनताको नेतृत्वका लागि योग्य वा विश्वासी छ भन्ने कुराको निक्र्याेल गर्न मुस्किल पर्दछ । खालि जेनजी उमेरले नै सबै कुराको फैसला गर्दैन । विभिन्न प्रकारका असामाजिक, अपराधजन्य वा भ्रष्ट कार्यमा लगाएका लाखौँ युवकका उदाहरण पनि हाम्राअगाडि छन् । खालि जेनजी उमेरका कारणले नै कुनै व्यक्ति वा समूह महत्त्वपूर्ण राजनीतिक आन्दोलन वा देशको नेतृत्व गर्न समर्थ हुँदैन भन्ने कुरा अहिलेको जेनजी आन्दोलनको अनुभवबाट पनि प्रष्ट भएको छ । उनीहरूमा हुने सिद्धान्त, नीति, कार्यक्रम, सङ्गठन नहुनुको परिणाम नै थियो कि उनीहरूको आन्दोलनभित्र गलत तत्त्व ठुलो पैमानामा घुसपैठ गर्न सफल भए र उनीहरू त्यस प्रकारको घुसपैठलाई रोक्न असफल भए ।

    ८. जेनजी आन्दोलनको दौरानमा लाखौँ युवा सडकमा उत्रिए तर त्यो असङ्गठित समूह थियो । उनीहरूभित्र दर्जनौँ गु्रप थिए । अहिले उनीहरूका कैयौँ गु्रप देखा पर्न थालेका छन् र उनीहरूका बिचमा कैयौँ मतमतान्तर पनि देखा परिरहेका छन् तर जेनजी आन्दोलनको दौरानमा उनीहरूको कुनै एउटा पनि गु्रप भएको थियो भन्न मुस्किल पर्दछ । त्यो अवस्थामा उनीहरूद्वारा आन्दोलनलाई कुनै दिशानिर्देशन दिनु सम्भव थिएन, भएन पनि र भविष्यमा पनि कुनै असङ्गठित भिडद्वारा कुनै आन्दोलनलाई सही दिशानिर्देशन दिनु कहिल्यै पनि सम्भव नहुने कुरा प्रष्ट छ । संसारको कुनै देशमा त्यस्तो भएको छैन र नेपालमा पनि त्यस्तो सम्भव हुने छैन । त्यो अवस्थामा खालि अराजकता स्थितिको मात्र सिर्जना हुन सक्दछ ।

    अहिले देशमा बनेको अन्तरिम सरकारलाई जेनजीको सरकार भन्ने गरिन्छ तर त्यसबारे स्वयम् जेनजीमा मतैक्यता पाइँदैन । कतिपय जेनजीले यो सरकारलाई आफ्नो बताउँछन् भने कतिपयले त्यसको विरोध पनि गरिरहेका छन् । सरकारमा पनि साम्राज्यवादसित सम्बन्धित विभिन्न एनजिओ, आइएनजिओ संलग्न व्यक्तिको नै प्रमुखता देखिन्छ । कतिपय अमेरिका वा तिब्बतसित जोडिएका व्यक्तिले नै प्रधानमन्त्री वा विभिन्न मन्त्रीको मनोनयन वा तिनीहरूको हेरफेरमा खुला रूपले भूमिका खेलेको पनि देखिन्छ । राजनीतिक दृष्टिकोणले जेनजी को हुन ? त्यो कुरा पनि प्रष्ट छैन । उनीहरूले बेग्लाबेग्लै पार्टी बनाउने कुरा पनि गर्दछन् तर त्यस्ता पार्टीको नीति, कार्यक्रम वा नेतृत्वबारे उनीहरूमा कुनै स्पष्टता पाइँदैन वा भनौँ, उनीहरूमा अन्यौलता नै पाइन्छ ।

    वास्तवमा उनीहरूले बेग्लाबेग्लै राजनीतिक शक्तिका नीति वा नारालाई नै बोकेर हिँडेको पनि देखिन्छ । बताइरहनुपर्ने आवश्यकता छैन, त्यो अवस्थामा उनीहरूको गतिविधिबाट देशमा बढी राजनीतक अस्थिरता, अन्योल वा अराजकताको स्थिति नै देखा पर्दै जानेछ । जुन देशमा जेनजी आन्दोलन चलेका छन्, त्यहाँ देशको राजनीतिमा कुनै स्थिरता आउनुको सट्टा अन्योल वा अराजकको स्थिति नै देखा पर्ने गरेको छ । त्यो अवस्थामा यो कुराप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ : हाम्रो देश त्यही प्रकारको राजनीतिक अस्थिरता अन्योल र अराजकताको स्थितिमा त गइरहेको छैन ? कुनै देशी वा विदेशी शक्तिले नेपाललाई त्यसरी असफल राष्ट्रको अवस्थामा पुर्‍याएर आफ्ना स्वार्थ पूरा गर्ने प्रयत्न त गरिरहेका छैनन् ? त्यसप्रति सबै चेतनशील र प्रबुद्ध जनमत समूहको ध्यान जानु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ र त्यसले नै देशको भविष्यलाई पनि निर्धारित गर्नेछ ।

    ९. जेनजी आन्दोलन र अन्तरिम सरकारको गठनपछि त्यो सरकारले उठाएको सबैभन्दा महत्त्वपूर्ण कदम थियो : प्रतिनिधिसभाको विघटन । बताइरहनुपर्ने आवश्यकता छैन, प्रतिनिधिसभा वा सांसद बहुदलीय व्यवस्थाको मुटु हो र प्रतिक्रियावादी शक्ति, मुख्य रूपले राजावादी सधैँ त्यसका विरुद्ध उभिँदै आएका छन् । यो आश्चर्यको कुरा हो, जेनजी आन्दोलनको पहिलो सिकार प्रतिनिधिसभा नै बन्यो । त्यो अवस्थामा यो पनि प्रश्न उठाउने ठाउँ छ : जुन व्यक्तिले पर्दा भित्रबाट जेनजी आन्दोलनको सञ्चालन गरिरहेका थिए, कहीँ उनीहरूको दरबारसित नै निकट सम्बन्ध ता थिएन र दरबारको अभिलाषा पूरा गर्न नै उनीहरूले संसद् विघटनमा मुख्य जोड त दिएका थिएनन् ।

    संसद् विघटनपछि दुईओटा कुरा अगाडि आएका छन् : पहिलो– विघटित संसद् पुन:स्थापनाका लागि आवाज उठ्ने गरेको छ† दोस्रो– संसद्को चुनावका लागि तयारी अगाडि बढिरहेको छ ।

    सर्वप्रथमत: संसद् विघटन नै असंवैधानिक हो र त्यसको पुन:स्थापनाको मागलाई कुनै पनि अवस्थामा गलत भन्न सकिन्न । अर्कातिर, त्यो मुद्दा अहिले सर्वाेच्च अदालतमा छ र त्यसले संसद् पुनस्र्थापना गर्दछ भने त्यसलाई स्वागत नै गर्नुपर्नेछ । अर्कातिर, चुनाव हुन्छ भने पनि त्यसलाई बहिष्कार गर्नु सही हुने छैन । अन्तत: संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याको समाधान सम्भव छैन । त्यसका लागि नयाँ जनवादी क्रान्ति र त्यसपछि समाजवादी व्यवस्थातिर जानु आवश्यक छ तर त्यो एउटा दीर्घकालीन प्रक्रिया हो ।

    संसदीय प्रणालीमा कैयौँ कमजोरी भएता पनि कुनै निरङ्कुश वा तानाशाही व्यवस्थाका तुलनामा त्यो प्रगतिशील व्यवस्था हो । खासगरेर अहिले प्रतिक्रियावादीले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समेत समाप्त गर्न र देशमा राजतन्त्र पुन:स्थापना गर्नको लागि अभियान चलाइरहेको अवस्थामा गणतन्त्र वा बहुदलीय व्यवस्थाको रक्षा तात्कालिक दृष्टिकोणले राष्ट्रिय आवश्यकता हो । त्यसैले विघटित संसद् पुनस्र्थापना वा नयाँ चुनाव—दुबै अवस्थामा बहुदलीय व्यवस्थाको रक्षा वा उपयोग अहिलेको लागि सही नीति हुने कुरा प्रष्ट छ ।

    १०. चुनावको सन्दर्भमा उठिरहेका कैयौँ प्रश्नप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । चुनावको सन्दर्भमा कतिपय पक्षले जनताद्वारा निर्वाचित कार्यकारी प्रमुखको चुनावमा जोड दिइरहेका छन् र त्यो चुनाव नभएमा चुनावको विरोध गर्ने कुरा गरिरहेका छन् । अहिले त्यस प्रकारको सोचाइ जेनजी आन्दोलनको सन्दर्भमा अगाडि आइरहेको भए पनि त्यो संविधान निर्माणको बेलादेखि नै कतिपय पक्षले उठाउँदै आएको बासी नारा हो ।

    नेपालजस्तो प्रजातान्त्रिक अभ्यास कम भएको देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीले देशलाई अधिनायकवादतिर नै लैजानेछ । त्यस प्रकारको व्यक्ति प्रमुख प्रणालीबाट साम्राज्यवादी शक्तिलाई पनि नेपालमा आफ्ना स्वार्थ पूरा गर्नको लागि बढी सजिलो हुनेछ । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणाली कुनै पनि अवस्थामा, कुनै पनि प्रकारले देशको हितमा नहुने भएको हुनाले त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ ।

    चुनावको सन्दर्भमा वर्तमान संविधानलाई खारेज गरेर त्यसलाई पुनर्लेखन गर्ने कुरा पनि जोडले उठ्ने गरेको छ । यहाँसम्म कि कतिपय पक्षले त्यसलाई चुनावको पूर्वसर्तको रूपमा पनि प्रस्तुत गर्ने गरेका छन् र त्यो सर्त पूरा नगरेसम्म चुनाव नहुने कुरा पनि गरिरहेका छन् । राजावादी, क्षेत्रीयतावादी वा जातिवादीको सुरुदेखि नै अहिलेको संविधानप्रति विरोध रहेको छ र उनीहरूले त्यसलाई खारेज गर्ने वा पुनर्लेखन गर्ने कुरामा जोड दिँदै आएका छन् । कतिपय वामपन्थी शक्तिले पनि, निश्चय नै क्रान्तिकारी कोणबाट त्यसप्रति आफ्नो विरोध जनाउँदै आएका छन् ।

    अहिलेको संविधान अवश्य पनि सर्वमान्य छैन । त्यसमा समावेश गरिएको सङ्घीयताले पनि देशमा अनावश्यक आर्थिक बोझ बढाउने, विकासलाई कुण्ठित गर्ने तथा राष्ट्रिय विखण्डन र जातीय वैमनस्यता बढाएर लैजाने नै बढी सम्भावना छ । त्यो अवस्थामा सङ्घीयतालाई खारेज गर्नका लागि लगातार पहलकदमी गर्नुपर्ने आवश्यकता छ तैपनि गणतन्त्र, धर्मनिरपेक्षता र मौलिक अधिकार संविधानका महत्त्वपूर्ण र सकारात्मक विशेषता हुन् । प्रतिक्रियावादी र क्षेत्रीयतावादी तत्त्वले सुरुदेखि नै तिनीहरूको विरोध गर्दै आएका छन् र त्यसैले अहिले पनि उनीहरूले विद्यमान संविधानलाई खारेज गर्ने वा पुनर्लेखन गर्ने कुरामा जोड दिँदै आएका छन् ।

    संविधान नेपालको प्रजातान्त्रिक आन्दोलनको अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो र त्यसका लागि नेपाली जनताले करिब ६ दशक लामो अवधिसम्म सङ्घर्ष गरेका छन् र २/२ पल्टको संविधानसभा चुनावपछि नै वर्तमान संविधान निर्माण भएको हो । त्यसकारण त्यसलाई खारेज गर्नेजस्ता कुराबाट जनताले त्यसलाई गरेको लामो सङ्घर्ष वा त्याग र बलिदानको अवमूल्यन हुन जानेछ । त्यसैले संविधानलाई खारेज गर्नेजस्तो कुनै पनि कुरा पूरै गलत छ र त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ । देशमा नयाँ जनवादी वा समाजवादी क्रान्तिको अवस्थामा अवश्य पनि वर्तमान संविधानलाई खारेज गरेर नयाँ संविधान निर्माण गर्नुपर्नेछ तर तत्काल त्यस प्रकारको स्थिति उत्पन्न भएको छैन र त्यसका लागि अझै लामो सङ्घर्षका बिचबाट जानुपर्नेछ ।

    ११. अहिलेको संसारमा कुनै पनि देशको राजनीतिक गतिविधि वा आन्दोलन विशुद्ध रूपले राष्ट्रिय हुँदैन र त्यसमा अन्तर्राष्ट्रिय शक्तिको पनि ठुलो चलखेल वा घुसपैठ हुन्छ । अहिलेको हाम्रो देशको राजनीति पनि त्यसबाट अपवाद छैन । देशको राजनीति मात्र होइन, प्रशासन, सुरक्षा आदि सबै क्षेत्रमा उनीहरूको घुसपैठ हुने गरेको कुरा आम रूपमा थाहा भएको कुरा हो । उनीहरूको त्यस प्रकारको रणनीतिको एउटा कडीको रूपमा जेनजी आन्दोलन पनि अगाडि आएको छ । त्यो आन्दोलनको दौरानमा देशमा जुन ठुलो पैमानामा ध्वंसात्मक कार्य गरियो, त्यसका पछाडि नेपाललाई असफल राष्ट्र बनाउने साम्राज्यवादीको, खास गरेर सिआइए र रअको रणनीतिले काम गरेको कुराको पनि अनुमान गर्न सकिन्छ । त्यसका साथै अहिलेको दक्षिणपूर्वी र दक्षिण एसियाको महत्त्वपूर्ण भूराजनीतिक स्थितिमा, खास गरेर अमेरिका र चीनका बिचमा बढिरहेको अन्तरविरोध वा द्वन्द्वको पृष्ठभूमिमा नेपालको विशेष रणनीतिक महत्त्व भएको कुरा प्रष्ट छ । त्यो अवस्थामा नेपाललाई विभिन्न साम्राज्यवादी देशले आफ्नो प्रकारले उपयोग गर्न योजनाबद्ध प्रकारले काम गर्ने कुरा निश्चित छ । त्यसरी नेपाल विभिन्न साम्राज्यवादी देशको एउटा क्रिडास्थल नै बनेको छ भने पनि सायद अप्रासङ्गिक हुने छैन ।

    साम्राज्यवाद खालि सैनिक वा आर्थिक रूपमा मात्र आउने गर्दैन, त्यसले धर्म, संस्कृति, शिक्षा, साहित्य, मनोविज्ञान आदिका क्षेत्रमा पनि प्रवेश गरेर नेपालमा आफ्नो प्रभुत्व कायम गर्ने वा सम्पूर्ण नेपाली जनतालाई आफ्नो साम्राज्यवादी रणनीतिको पक्षमा उपयोग गर्ने पनि प्रयत्न गर्दछ र हाम्रो देशमा त्यो कार्य खुला वा छद्म रूपमा ठुलो पैमानामा भइरहेको पनि छ । नेपालमा बिचबिचमा देखा पर्ने कैयाँै घटनाबाट त्यस प्रकारको साम्राज्यवादी सञ्जालका कैयौँ उदाहरण प्रकट रूपमा पनि देखा पर्ने गरेका छन् । त्यसकारण हामीले हाम्रो देशभित्रका राजनीतिक गतिविधिलाई, जसभित्र जेनजी आन्दोलन पनि आउँछ, त्यस प्रकारको अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा पनि हेर्ने र बुझ्ने प्रयत्न गर्नुपर्दछ ।

    १२. संसारका विभिन्न देशमा भएका तनाव वा युद्धले पनि हाम्रो देशलाई एक वा अर्काे प्रकारले प्रभावित गरिरहन्छ । आज संसारका कैयौँ भागमा युद्धको स्थिति बढ्दै गइरहेको छ र तिनीहरूको परिणामस्वरूप तेस्रो विश्वयुद्धको रूप लिने खतरा पनि बढ्दै गइरहेको छ । यदि आजको युगमा कुनै विश्वयुद्ध हुन्छ भने प्रथम– प्रथम र द्वितीय विश्वयुद्धको बेलामा जस्तै त्यसको प्रभाव मुख्य रूपले युरोपसम्म मात्र नै सीमित रहने छैन र त्यो संसारभरमा फैलिने सम्भावना रहनेछ । द्वितीय, त्यसले आणविक युद्धको रूप लिने सम्भावना पनि अत्यधिक छ । आणविक युद्धको अर्थ हुनेछ– सम्पूर्ण मानव जातिको विनाश । आज सारा संसार त्यस प्रकारको विष्फोटक खतराको मुखमा उभिएको छ । त्यस प्रकारको भयानक स्थितिको मुख्य स्रोत साम्राज्यवाद नै हो । त्यो अवस्थामा हामीले कुनै पनि देशमा हुने साम्राज्यवादी गतिविधिलाई अन्तर्राष्ट्रिय सन्दर्भमा अर्थात साम्राज्यवादको विश्वव्यापी गतिविधिका सन्दर्भमा नै हेर्नुपर्दछ ।

    आजको संसारको मुख्य समस्या भनेको एकातिर युद्धको खतरा र अर्कातिर विश्वशान्तिको प्रश्न हो । ती प्रश्न स्वयम् हाम्रो देश र हाम्रो जीवनसित पनि जोडिएका छन् । त्यसकारण हामीले युद्धको विरोध वा शान्तिको रक्षाको प्रश्नलाई हाम्रो पनि जिम्मेवारीको रूपमा लिनुपर्दछ र युद्धको विरोध र शान्तिको रक्षाको लागि बढीभन्दा बढी आवाज उठाउनु वा योगदान दिनु हाम्रो पनि अन्तर्राष्ट्रिय कर्तव्य बन्न जान्छ भन्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्दछ ।

    शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.