डा. जीवन क्षेत्री
एमालेगणलाई सहृदय अनुरोध
आज सिमरामा जे भयो, त्यो दुखद र दुर्भाग्यपुर्ण छ । हिजोअस्ति आज हुने भनिएको एमालेको कार्यक्रम रोक्ने भनेर केही ‘जेनजी’ ले प्रचारबाजी गरेको पनि भर्खर अनलाइनखबरको सम्पादकीय पढ्दा थाहा लाग्यो । कुनै पनि खाले निषेध र राजनीतिक हिंसा नेपालका लागि पूर्णत: अस्वीकार्य कुरा हुन् तर सिक्काका जस्तै यथार्थका पनि दुई पाटा हुन्छन् ।
जनस्तरको कुरा म भन्न सक्दिनँ तर एमालेको अहिलेको नेतृत्वले कुनै पनि हालतमा फागुनमा चुनाव चाहेको देखिन्न । भदौ २३–२४ र त्यसअघिका महिनामा सत्तामा रहँदा तत्कालीन ओली सरकारले जे गर्यो, त्यो देखाएर जनतामा जानलायक कुरा केही पनि छैन । त्यसैले देश भड्खारोमै जान्छ भने पनि फागुनमा चुनाव नहोस्, त्यसपछि ‘देखा जायगा’ भन्नेजस्तो मनसाय ओली र उनको जयगानमा सीमित एमाले नेताहरूले बारम्बार देखाएका छन् ।
चुनावको वातावरण बनाउने दिशामा हामी नागरिकको जस्तो अपेक्षा थियो, त्यसमा, खास गरी व्यावहारिक पक्षबाट सुशीला कार्कीको सरकार अब्वल निस्कन नसकेको कुरा साँचो हो तर पनि चुनाव गराउने सरकारको नियतमा अहिलेसम्म एमालेका सीमित नेताबाहेक अरूले प्रश्न गरेको देखिँदैन । नियत सफा रहुन्जेल यो सरकारलाई खेद्नुभन्दा भरथेग गरेर अहिलेको चुनौतीपूर्ण सङ्क्रमणकालबाट देशलाई पार लगाउन समयमै चुनाव सम्पन्न गर्नुपर्छ भन्ने कुरा एमालेबाहेकका राजनीतिक दलले पनि बुझिसकेका छन् । हामी आम नागरिकले चाहेको पनि त्यही हो ।
यो माहोलमा आजको सिमरा घटनालाई चुनाव भाँड्ने बहाना बनाउन एमाले नेताहरू युद्धस्तरमा लागि परेको देखिएको छ ।
एमाले मित्रहरू, यो त्यस्तै मनोविज्ञान हो, जुन परिवारको अर्को सदस्य विरुद्धको प्रतिशोधका कारण घर जलाएर खरानी बेच्ने मानिसको हुन्छ । अर्काको भाग धेरै रहने घरभन्दा आफ्नो भाग धेरै रहने खरानी प्यारो भन्ने मनोविज्ञान हो यो । एमाले भित्रबाट हेर्दा के देखिन्छ थाहा छैन तर बाहिरबाट देखिने कुरा यही हो ।
एकछिनलाई मानौँ, आजको सिमरा घटनाका लागि जेनजी युवाहरू एकल जिम्मेवार थिए, भलै काउन्सिल अफ जेनजीका मधेस प्रदेश संयोजक शिव यादवका अनुसार यो घटनाका लागि ‘एमालेका गुण्डा’ जिम्मेवार छन् तैपनि मानिलिऔँ, आज एमाले एकोहोरो निषेधको सिकारै भयो । त्यसको जवाफ केही दर्जन युवालाई बहाना बनाएर चुनाव भाँड्नु हो त ? युवा अराजक र अपरिपक्व नै भए भने पनि तिनलाई संयमित हुन प्रेरित गरेर चुनावको वातावरण बनाउने जिम्मेवारी एमाले दलको हैन ? के जेनजीलाई एमालेले वर्गदुस्मन नै घोषणा गरेर उनीहरूको निरन्तर प्रतिवाद गर्ने नयाँ राजनीति तय गरेको हो ? के पछिल्लो चुनावमा सबै दललाई उछिनेर झन्डै साढे २८ लाख मत ल्याएको पार्टीले अहिले संयम् गुमाउने केही युवासित मुख जुधाएर त्यसैको बहानामा अब चुनाव हुँदैन भन्न सुहाउँछ ?
केपी ओलीको मानसिक स्वास्थ्य जुन हालतमा छ, त्यो हालतमा यस्ता कुरा मस्तिष्कमा घुस्दैनन् तर पछिल्लो चुनावमा एमालेलाई मत दिएका २८,४५,६४० सद्दे मानिसमध्ये अझै पनि एमाले नछाडेका धेरैको मस्तिष्कमा यो कुरा घुस्न सक्छ र घुस्नुपर्छ : फागुनमा चुनाव नहुनु भनेको घर जल्नुजस्तै हो ।
घर जलेपछि धेरै खरानी हडप्नुभन्दा घर जल्नै नदिई त्यसमा आफ्नो न्यायोचित हिस्सेदारीको लडाइँ लड्नु धेरै उत्तम कुरा हो । आफ्नै सन्तानको जीवन जेमा अडिएको छ, आफ्नो निकृष्ट स्वार्थका लागि त्यो देशरूपी घर जलाउन कायर र मानसिक रूपमा विक्षिप्त व्यक्तिबाहेक अरू कसैले सक्दैन ।
एमालेले अहिले टोलदेखि केन्द्रीय समिति र सचिवालयसम्म साहसिक र सद्दे एमालेगणको हस्तक्षेप खोजेको छ । तपाईं सज्जनहरू इतिहासको यो सङ्गिन घडीमा आफ्नो भूमिकाबाट चुक्नुभयो भने त्यसले एमाले र देश दुवैलाई अन्तर्विस्फोट वा इम्प्लोइजनमा धकेल्न सक्नेछ । कृपया ढिलो नहुँदै हस्तक्षेप गर्नुहोस् ।
(डा. क्षेत्रीको यो प्रतिक्रिया हामीले उनको सामाजिक सञ्जालबाट लिएका हौँ)