• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘वामपन्थी’ आन्दोलनमा गालिगलौजको राजनीतिक शृंखला


  •   सोमबार, असार २२, २०७७ मा प्रकाशित
  • चेतनाथ आचार्य

    Advertisement

    ‘बदख्वाइँ र निन्दा मूर्खहरूको तर्क गर्ने तरिका हो’ यो भनाइ मेक्सिम गोर्कीको हो । त्यसैगरी लेनिनले भनेका छन्– ‘गालिगलौजको राजनीति गाली गर्नेहरूको असहायपन हो ।’ नेपाली वामपन्थी आन्दोलनमा यो तरिका धेरै पहिलेदेखि अपनाउँदै आएको पाइन्छ । नेपालको वामपन्थी आन्दोलनमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनमा पनि गालिगलौजको राजनीति माक्र्सको पालादेखि नै प्रयोग हुँदै आइरहेको इतिहास छ।

    अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सर्वप्रथम बाकुनिनले माक्र्ससँगको विवादमा गालिगलौजको राजनीतिलाई अवलम्बन गरेका थिए । उनले कार्ल माक्र्सलाई भनेका थिए– ‘एक जना यहुदी र जर्मन भएका कारण ऊ टुप्पीदेखि पैतालासम्म तानाशाह छ’ (महान् बहस) । यसबाट थाहा हुन्छ, माक्र्सको समयदेखि नै अवसरवादी र क्रान्तिकारीहरूबिच कति प्रचण्ड विवाद थियो । तैपनि माक्र्सले बाकुनिनलाई कहिल्यै पनि गलत तरिकाले व्यवहार गरेनन्, जबकि तत्कालीन अवस्थामा बाकुनिनको अति क्रान्तिकारी सिद्धान्तको अन्तर्राष्ट्रिय क्षेत्रमा बोलवाला थियो । बाकुनिन योजनाबद्ध र व्यवस्थित पार्टी निर्माणको विरोधी थिए ।

    उनीहरू षड्यन्त्र र दुस्साहसमा विश्वास राख्ने हुँदा व्यापक जनसहभागिताबाट क्रान्ति पूरा नभई सीमित वीरहरूले खेल्ने भूमिकाले क्रान्ति हुन्छ भन्ने मान्यता राख्दथे । त्यसको ठिक विपरीत माक्र्स र एङ्गेल्सले सर्वहारा वर्गको अधिनायकत्व र एउटा मजबुत स्वतन्त्र मजदुर पार्टी बिना क्रान्ति सम्भव छैन भन्ने मान्यता राख्दथे । यही पिषयमा मतभेद हुँदा बाकुनिनले माक्र्सलाई उपर्युक्त गाली गरेका थिए । अन्तर्राष्ट्रिय आन्दोलनका अधिकाँश नेताहरू गालिगलौजको राजनीतिबाट अछुतो छैनन् । यहाँ माक्र्स, लेनिन, स्टालिन, माओलगायत अन्तर्राष्ट्रिय नेताहरूलाई गरिएका गालिगलौजको राजनीतिका केही उदाहरण दिने प्रयत्न गरिएको छ ।

    दोस्रो अन्तर्राष्ट्रियको स्थापना १८८९ मा पेरिसमा भएको थियो । दोस्रो अन्तर्राष्ट्रियमा २० देशका ३९१ जना प्रतिनिधिको सहभागिता थियो । सो भेलाले फ्रेडरिक एङ्गेल्सलाई अध्यक्ष चुनेको थियो । यस अन्तर्राष्ट्रियमा काउत्स्की, बिल्हेम लिब्खनेत, क्लारा जेट्किन, बर्नस्टिन, बेबेल र प्लेखानोभ उपस्थित थिए । दोस्रो अन्तर्राष्ट्रियले विश्व सर्वहारावादको पक्षमा र साम्राज्यवादी युद्धको विपक्षमा घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय साम्राज्यवादी युद्धलाई घृणा गर, सर्वहारा अन्तर्राष्ट्रियवादलाई अगाडि बढाऊँ, युद्ध भइहाले युद्धलाई सर्वहारा वर्गको हितमा प्रयोग गर भन्ने नीति तय गरेको थियो ।

    एङ्गेल्सको मृत्युपछि दोस्रो अन्तर्राष्ट्रियको नेतृत्व कार्ल काउत्स्कीको हातमा गयो । जर्मन सामाजिक जनवादी पार्टीमा काउत्स्कीको जबर्जस्त प्रभाव थियो । दोस्रो अन्तर्राष्ट्रियको नेतृत्व काउत्स्कीको हातमा गएपछि अन्तर्राष्ट्रियको मर्म विपरीत जर्मन समाजवादी पार्टीले युद्ध बजेटको पक्षमा संसदमा मतदान ग¥यो । फ्रान्स, बेलायत, बेल्जियम आदि देशका समाजवादी पार्टी पनि जर्मन पार्टीकै प्रभावमा परे । दोस्रो अन्तर्राष्ट्रियमा रहेका २२ वटा देशमध्ये रुसी सामाजिक जनवादी पार्टीबाहेक अन्य सबैले काउत्स्कीकै नीति अनुशरण गरे । तत्कालीन जर्मन पार्टीका दुई जना नेता बिल्हेम लिब्खनेत र रोजा लक्जमबर्गले कार्ल काउत्स्कीको नीतिको विरोध गर्दै पार्टीबाट समेत विद्रोह गरेका थिए ।

    दोस्रो अन्तर्राष्ट्रियको क्रान्तिकारी परम्परालाई बचाउन लेनिनले जोडदार सङ्घर्ष चलाउनुभयो । दोस्रो अन्तर्राष्ट्रियमा जबर्जस्त संशोधनवादीहरूको प्रभाव भएका कारण क्रान्तिकारी विचारधारालाई अगाडि बढाउन सम्भव भएन । तर पनि लेनिनले उच्च मनोबलका साथ गद्दारीको बाटो समातेका नेताहरू विशेष गरेर काउत्स्कीका विरुद्ध भीषण वैचारिक सङ्घर्ष चलाएर आफूलाई दोस्रो अन्तर्राष्ट्रियमा नेताको रूपमा स्थापित गर्नुभयो, जबकि उनीहरू लेनिनलाई फुच्चे सम्झिन्थे । सैद्धान्तिक र वैचारिक सङ्घर्षमा केही जोड नचलेपछि काउत्स्की पनि अन्य अवसरवादीहरूको अनुशरण गर्दै गालिगलौजको राजनीतिको सहारा लिँदै भन्दछन्–‘उसले माक्र्सवादलाई केवल राजधर्मको स्तरसम्म पतन गराइदिएको मात्र नभई मध्ययुगिन वा पूर्वी धर्मको स्तरमा पतन गराएको थियो भनेर उहाँको तुलना एकेश्वरवादीहरूको इश्वरसँग गरेका छन्’ (उही) ।

    रुसी समाजवादी क्रान्तिमा स्टालिनको महत्त्वपूर्ण योगदान रहेको छ । उनी लेनिनका समकालीन नेता हुन । लेनिनको मृत्युपछि सोभियत रुसको नेतृत्वको बागडोर सम्हालेका उनले १९५३ सम्म समाजवाद निर्माणको प्रक्रियालाई अविछिन्न रूपमा अगाडि बढाए । अमेरिकी पत्रकार अन्नालुई स्ट्रङले स्टालिनलाई समाजवादका इन्जिनियर उपनामले पुकारेकी छिन् । १९२२ देखि रुसी कम्युनिस्ट पार्टीका महासचिवमा चुनिएका स्टालिन अक्टोबर समाजवादी क्रान्तिमा पनि लेनिनसँगै नेतृत्वदायी भूमिकामा थिए । १९२७ मा प्रथम पञ्चवर्षीय योजना मार्फत् रुसी समाजवादको विकासको मोडेल पेश गरेर उनले सोही विकसको मार्गमा हिडेर सोभियत समाजवादी रुसलाई शक्तिसम्पन्न राष्ट्र««को रूपमा खडा गरे । त्यति बेला सोभियत सङ्घ प्रथम विश्वयुद्ध, वैदेशिक हस्तक्षेप र गृहयुद्धले तबाह भएको अवस्था थियो । हिटलरको नाजिवाद र मुसोलिनीको फासिवाद परास्त हुनुमा पनि स्टालिनले द्वितीय विश्वयुद्वमा खेलेको भूमिका महत्त्वपूर्ण थियो ।

    यदि स्टालिनको कुशल नेतृत्व हुँदैनथ्यो भने सोभियत सङ्घको विशाल भूभागमा समाजवादी सिद्धान्तलाई व्यावहारिक रूप दिन सम्भव हुने थिएन । सोभियत सङ्घ र विश्वकै लौह अनुशासित नेताको रूपमा चिनिने स्टालिनका विरुद्ध पनि प्रशस्त हिलो छ्याप्ने काम भएको छ । तेस्रो अन्तर्राष्ट्रियमा स्टालिनको नेतृत्वमा रहेका बोल्सेभिकसँग अन्तर्सङ्घर्षको अवस्था सिर्जना भएपछि ट्राटस्कीले “स्टालिन एक निरङ्कुश शासक हो, उसले नेता वा व्यक्तिगत पवित्रतालाई जोडेर निकम्मा नेताको पूजाको भावना फैलायो (उही) भनी आरोप लगाएको थियो ।

    त्यसैगरी निकिता ख्रुस्चोभले स्टालिनको मृत्युपश्चात् ‘हत्यारो’, ‘अपराधी’, ‘डाँका’, ‘जोखिमबाज’, ‘रुसी इतिहासको ठुलो तानाशाह’, ‘मूर्ख’, ‘बुद्धिहीन’ जस्ता शब्द प्रयोग गरेर निन्दा ग¥यो । ख्रुश्चोवले यति सम्म तल्लो स्तरमा गिरेर भन्यो कि ‘थुक्क स्टालिन दश वर्ष पहिले मरेको हुँदो हो त ?’(उही) । जबकि निकिता ख्रुस्चोभ त्यही व्यक्ति हो, जसले आफू केन्द्रीय समितिमा चयन भएपछि स्टालिनप्रति चरम भक्तिभाव प्रकट गर्दै माक्र्सवादको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र स्टालिनवाद हुनुपर्ने, १९३६ मा जारी सोभियत सङ्घको संविधानलाई स्टालिनवादी संविधान भनेर नामकरण गर्नुपर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेको थियो ।

    विश्व सर्वहारा वर्गका महान् नेता चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङ पनि अवसरवादीहरूले प्रयोग गर्ने गालिगलौजको राजनीतिबाट मुक्त छैनन् । माओलाई गाली गर्दै तत्कालीन सोभियत संशोधनवादीमध्येका एक जना नेता, जो शिक्षा विभागाध्यक्ष र एक लेखक पनि थिए, ले लेखेका छन्– ‘उनी अत्यन्त धुर्त’, ‘धोकेबाज’, ‘असामान्य रूपले आत्मप्रशंसक’, ‘भद्दा मजाक गर्ने’, ‘विशेष र विदेशी रक्सीप्रति रुचि भएको’, ‘नसाबाज’, ‘ध्रुम्रपान र खानपिनजस्ता बानीमा मजदुर वर्ग वा सर्वहाराको क्रान्तिकारी व्यवहारसँग कुनै सामाञ्जस्यता नभएको’ भनी उल्लेख गरेका छन् । उनले उक्त कुरा माओत्सेतुङ एन आइडियोलोजिकल एन्ड साइकोलोजिकल पार्टट्रियन्ट वाइफियर बुट्रात्स्की मास्को १९८० मा लेखेका छन् ।

    १९४९ मा माओत्सेतुङको नेतृत्वमा चिनियाँ जनवादी क्रान्ति सम्पन्न भयो । जनवादी क्रान्ति सम्पन्न भएको केही समयपश्चात् जनवादी व्यवस्थालाई मजबुत गर्ने वा समाजवादमा सङ्क्रमण गर्ने विषयमा त्यहाँका दक्षिणपन्थी संशोधनवादीबिच तीव्र अन्तर्सङ्घर्ष चलिरह्यो । अन्तरसङ्घर्षकै समयमा चीनले समाजवादी क्रान्ति पूरा ग¥यो, तर अन्तरसङ्घर्ष झन्भन्दा झन् पेचिलो हुँदै गइरहेको थियो । माओले दक्षिणपन्थी संशोधनवादीको क्रियाकलापबाट चीनमा कुनै पनि बेला प्रतिक्रान्ति हुन सक्ने खतरा देखिसक्नुभएको थियो । सबै क्षेत्रमा लुकेर बसेका पुँजीवादी एजेन्टलाई परास्त गर्न १९६६ मा महान सर्वहारा सांस्कृतिक क्रान्ति सुरु भयो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व स्वयम् माओले नै गर्नु भयो । १९६६ बाट सुरु भएको सांस्कृतिक क्रान्ति १९७६ सम्म चल्यो । महान् सर्वहारा सांस्कृतिक क्रान्ति माओको मृत्युसँगै असफलतामा टुङ्गियो र चीनमा प्रतिक्रान्ति भयो ।

    प्रतिक्रान्तिपछि पार्टी र सरकारमा प्रतिक्रान्तिकारीले कब्जा जमाए । प्रतिक्रान्तिसँगै महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिकामा रहेका का. च्याङचिङ, का. चियाङचुङ चियाओ, का. वाङहुङ बेन र का. याओ बेन युआनलाई गिरफ्तार गरी जेलमा हालियो । जेलमा हालिसकेपछि पनि उनीहरू त्यत्तिकै बसेनन् । उनीहरूप्रति रहेको जनताको उच्च सम्मान र आदरभावलाई घृणामा नबदलिकन दक्षिणपन्थीप्रति जनतामा रहेको तीव्र घृणा कम गर्न सम्भव थिएन । क्रान्तिकारीलाई बदनाम गर्न गैरराजनीतिक तरिका अपनाउनुपर्ने बाध्यता थियो । अन्तमा उनीहरूले व्यक्तिगत गालिगलौजको गैरराजनीतिक तरिका अपनाएर सच्चा माक्र्सवादी–लेनिनवादीलाई ग्याङ अफ फोरको नाममा बदनाम गर्न सुरु गरे । का. च्याङचिङलाई सडेको अण्डासँग तुलना गरियो । उनलाई “पार्टी विरोधी आइमाई”, “साहित्य र कलामा क्रान्तिको झण्डा बोकेर हिँड्ने भनेर आफ्नो बढाइ आफैले गर्ने”, “प्रत्येक राती विदेशी र अश्लील सिनेमा हेर्ने”, “निच र वेश्या” आदि अभियोग लगाएर चरित्रहत्या गरियो । त्यतिले मात्र नपुगेर च्याङचिङलाई “हजार टुक्रा गरी काट्नुपर्ने” र याओ बेन युआनलाई “रातो गरी फ्राई गर्नुपर्ने” माग गरियो ।

    नेपालको कम्युनिस्ट आन्दोलनमा गालिगलौजको राजनीतिको सिलसिला आजसम्म निरन्तर चलिरहेको छ । यो भविष्यमा पनि कहिलेसम्म चलिरहने छ भन्न सकिने विषय होइन । तर यतिसम्म भन्न सकिन्छ कि जबसम्म कम्युनिस्ट आन्दोलनमा देब्रे र दाहिने प्रवृत्तिहरू रहने छन्, त्यति बेलासम्म यो वा त्यो रूपमा यो प्रवृति रहिरहने छ । नेपालमा कम्युनिस्ट आन्दोलन सुरु भएको करिब ७१ वर्ष पुग्न लागेको छ । यो ७१ वर्षको समयावधिमा एक वा अर्को रूपमा दक्षिणपन्थी, मध्यपन्थी र उग्रवामपन्थी कमजोरी देखा परिरहेका छन् । यिनै वामपन्थी आन्दोलनमा देखिने गलत प्रवृत्तिका कारण गालिगलौजको राजनीतिले प्रश्रय पाई नै रहन्छ । निम्न–पुँजीपति वर्ग आधारको बाहुल्यता रहेको कारण पनि यो प्रवृत्ति बारम्बार दोहोरिरहन्छ ।

    नेपालको सन्दर्भमा कुरा गर्दा पुष्पलाल समूहदेखि तुल्सीलाल, शम्भुराम, रोहित, झापाली समूह, मध्यपन्थी र माओवादी आदि सबै गालिगलौजको राजनीतिसँग जोडिएको पाइन्छ । सुरुवात पुष्पलाल समूहले चौथो महाधिवेशन हुनुभन्दा पहिले न्युक्ल्यिसलाई भनेको भनाइबाट गरौँ ।

    “पुस्पलालले केन्द्रीय न्युक्लयसलाई तासको घर झैँ ढल्न थाल्यो” (उग्रवामपन्थी विचारधाराको खण्डन) भनेका छन् । त्यसैगरी शम्भुरामले “उनीहरूको अस्तित्व तीन महिनाभित्र समाप्त हुने (उही) बताए । समीक्षा पत्रिकाले पनि चौथो महाधिवेशनलाई अन्तिम द्विपशिखा भनेको थियो (उही) । तत्कालीन झापाली समूहले चौथो महाधिवेशनबारे भनेका कुरा उल्लेख गर्दै उग्रवामपन्थी विचारधाराको खण्डनमा का. मोहनविक्रम सिंहले लेख्नुभएको छ– “चौथो महाधिवेशन गद्दार गुट विनासको उपकथा बन्नका लागि राजनीतिक रङ्गमञ्चमा उभिएको छ” । त्यसैगरी उनीहरूले अगाडि लेखेका छन्– नेकपा (चौम) “संशोधनवादी गुट, प्रतिक्रान्तिकारी पार्टी, अन्तर्राष्ट्रिय केन्द्र सोभियत संशोधनवादीलाई मानेर काम गर्ने, नेपालमा क्रान्तिलाई खतम पार्ने साम्राज्यवादी योजनाकै सहयोगी, अमेरिकी साम्राज्यवादकै मद्दतगार आदि । उनीहरूले आफ्नो विरोध गर्ने राजनैतिक पार्टी वा नेतालाई राक्षस, नकचरा, बहुलाहा कुकुर, बदमास, पागलजस्ता शब्दसमेत प्रयोग गरेर विरोध गरेका थिए (उही) ।

    गाली गर्ने मामिलामा खोटो विचारका प्रवर्तक का. रोहित सबैभन्दा अग्रपङ्क्तिमा छन् । उनले मोहनविक्रमलाई “लाजले मर्न नसकेको गद्दार, वर्गीय रूपमा सामन्त, शोषक, पुरानो काङ्ग्रेस, फटाहा, डरछेरुवा, मर्नदेखि डराउने, सङ्घर्षदेखि भाग्ने, समर्पणवादी, काँतर, नेपाली कम्युनिस्ट आन्दोलनको नकारात्मक र घृणित उदाहरण, संशोधनवादी गद्दार, लाज पचेको वर्गशत्रु, आत्मप्रचारवादी, घिनलाग्दो नेतृत्वका भोकाको एक कुरूप उदाहरण, षड्यन्त्रकारी, जालीफटाहा, हत्यारा, पुँजीवादी डिग्री लिन आईए÷बिए पास गर्ने, सामन्ती छाउरो, सामन्तवादको पैताला चाट्ने, चुत्थो नोकर, नक्कली क्रान्तिकारी, रातो लुगालगाएको वर्गशत्रु, ईष्यालु, ठग, खुङ्खार शोषकको छोरा, खुद एक खुङ्खार शोषक, जनविरोधी, महत्त्वकाङ्क्षी, धोकेबाज, र विश्वाशघाती, क्रान्ति विरोधि, कालो सर्प, विश्वासघात गर्नुभन्दा ऊ जेलभित्रै किन मर्न सकेन ?” (उही) आदि अनेकाँै शब्दद्वारा गाली गरेका छन् ।

    पाँचौँ महाधिवेशनअघि वा पछि यो परम्परालाई मोटो मशालका नेताहरूले अरू अगाडि बढाए, जसलाई नेपाली वामपन्थी आन्दोलनमा मध्यपन्थी भनेर चिनिन्छ । तत्कालीन अवस्थामा पार्टीभित्र तीव्र दुई लाइनको सङ्घर्ष चलेको थियो । अन्तर्सङ्घर्षको विषयवस्तु मध्यपन्थी अवसरवादको विरोध कि मध्यपन्थी कमजोरीको विरोध वा गल्तीको ढाकछोप भन्ने थियो । मध्यपन्थीहरूको मुख्य जोड मध्यपन्थी अवसरवादको विरोधको राजनीतिक गल्तीको ढाकछोपको लागि ल्याइएको हो भन्ने थियो । उनीहरूको भनाइ विचारधारात्मक मतभेदभन्दा बढी व्यक्तिगत चरित्र र व्यवहारसँग सम्बन्धित छ भन्ने थियो ।

    तर छिट्टै नै उनीहरूको भनाइ गलत सावित भयो । त्यतिबेलाको दुई लाइनको सङ्घर्ष व्यक्तिगत चरित्र र व्यवहारसँग सम्बन्धित नभएर सैद्धान्तिक र राजनीतिक प्रश्नसँग जोडिएको थियो । तर उनीहरूले सिद्धान्तको प्रश्नलाई अन्यत्र मोड्न भरमग्दुर प्रयत्न गरे । यही क्रममा उनीहरूले “अराजकतावादी व्यक्तिवाद र दक्षिणपन्थी अवसरवादको नेपाली आयाम” भन्ने किताब लेखेर त्यसो गर्नु इतिहासले सुम्पेको जिम्मेवारी बताए । का. मोहनविक्रम सिंहले “अराजकतावादी व्यक्तिवाद र दक्षिणपन्थी अवसरवादको नेपाली आयाम” को खण्डन गर्दै लेख्नुभएको छ– “उनिहरूले छिट्टै नै पाँचौँ महाधिवेशनले पास गरेको राजनैतिक लाइनको विरोध गरेर यो प्रमाणित गरेर देखाए कि त्यो इतिहासले सुम्पेको जिम्मेवारी थिएन, मजाक मात्र थियो” (उही) ।

    “अराजकतावादी व्यक्तिवाद र दक्षिणपन्थी अवसरवादको नेपाली आयाम” मा झापाली समूह र का. रोहितभन्दा पनि निकृष्ट शैलीमा छट्टु, बकवास गर्ने चरित्र, दक्षिणपन्थी, पाखण्डिपन, हद दर्जाको बेइमान, पुँजीवादी तत्त्व, पार्टीभित्र पस्न सफल भएको सामन्ती वर्गको प्रतिनिधि, सामन्ती अवशेष, ठुलो सामन्तको छोरो, जडसूत्रवादी, अवस्तुवादी, बातबहादुर, अत्यन्त डरपोक, छाडा, फ्रायडवादी, सामन्ती चरित्र, छद्म सामन्ती चरित्र, माक्र्सवादको दोसल्लाभित्र आफ्नो अवसरवादी अनुहार छिपाउन सफल भएको, फट्याइँ गर्न निकै सिपालु प्रतिक्रियावादीको प्रतिनिधि, वितण्डतावादको सक्कली प्रतिनिधि, राजा त्रिभुवनको वर्गबन्धु, राजा तथा काङ्ग्रेसपरस्त खिचडी चरित्र, घृणित तत्त्व, रुसको मार्तोभको नेपालमा मोहनविक्रमको पुनर्जन्म, आफूलाई महान् नेता मात्र होइन, आफूलाई नेपाली क्रान्तिको एक मात्र पे्ररकजस्तो देखाउने आदि अनेकौँ शब्द प्रयोग गरेका छन् (उही) ।

    तत्कालीन माओवादीले पनि यो परम्परालाई अगाडि बढाउँदै माओवादी केन्द्रीय समितिको २०५५ भाद्रको विस्तारित बैठकले पारित दस्तावेजमा लेखेको छ– “महान् सर्वहारा सांस्कृतिक क्रान्तिको प्रभाव र बदलिएको सन्दर्भमा पुराना कैयौं नेताहरूले सारसङ्ग्रहवाद र छद्म संशोधनवादी रूपधारण गर्दछन् । यस प्रकारको सबैभन्दा भ्रामक प्रतिनिनधिको रूपमा मोहनविक्रम सिंहको नेतृत्वमा रहेको चौथो महाधिवेशन समूह देखिन्छ ।” नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) लाई सारसङ्ग्रहवादी बताइसकेपछि सोही दस्तावेजको अर्को ठाउँमा लेख्छन्– “२०३५ सालमा क्रान्तिकारीहरूले चौथो महाधिवेशनको सशस्त्र विद्रोहको भ्रामक विचार विरुद्ध दीघकालीन जनयुद्धको कार्यदिशा पारित गर्नसमेत सफल भएका थिए । यस सन्दर्भमा चौथो महाधिवेशनले चीनमा प्रतिक्रान्ति भएर त्यहाँ पुँजीवादको पुनस्र्थापनाको तथ्यलाई सशक्त र व्यवस्थित रूपमा अगाडि बढायो” (माओवादीका ऐतिहासिक दस्तावेजहरू) ।

    उपर्युक्त विरोधाभासपूर्ण भनाइबाट नै थाहा हुन्छ कि माओवादीहरूको आरोप कति तथ्यहीन छ । उनीहरूकै भनाइबाट प्रमाणित हुन्छ कि एउटा सच्चा क्रान्तिकारी पार्टीले मात्र दीर्घकालीन जनयुद्धको सही कार्यदिशा अपनाउन सम्भव हुन्छ । त्यसैगरी चीनमा प्रतिक्रान्ति भएको कुरा समयमै ठम्याउन सक्छ ।

    विगतदेखि वर्तमानसम्म जसजसले नेपाल कम्युनिस्ट पार्टी (मसाल) र त्यसको नेतृत्वलाई व्यक्तिवादी, छद्म संशोधनवादी, सारसङ्ग्रहवादी भनेर आफू सच्चा क्रान्तिकारी भएको प्रमाणित गर्न खोजे, ती सबैलाई इतिहासले गलत सावित गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनको विगत र वर्तमानलाई सापेक्ष रूपमा अध्ययन गर्दा हामी यही निष्कर्षमा पुग्दछौँ ।

    आजभोलि आफूलाई खाँटी क्रान्तिकारी भन्न रुचाउने केही अराजक डफ्फाले राती सपनामा पनि मोहनविक्रम सिंहलाई गाली गर्नुलाई क्रान्तिकारी काम ठान्दछन् । विगत केही समयदेखि पुनः गालिगलौज र चरित्रहत्याको राजनीति पुनरावृति भएको छ । विशेष गरेर आठौँ महाधिवेशनपछि केही अनुशासनविहीन तत्त्वहरूबाट यो काम तीव्र गतिमा अगाडी बढाइरहेका छन् । वैचारिक सङ्घर्षको नाममा व्यक्तिलाई गाली गर्नु र पार्टीको गोपनियता दुश्मनको अगाडि छताछुल्ल पार्नु उनीहरूको क्रान्तिकारी काम भएको छ । यस्तो धोकापूर्ण र हानिकारक काम गरे वापत् उनीहरूको गर्वले छाती फुल्दछ र निर्धक्कसाथ घोषणा गर्दछन् कि भविष्यमा यो काम अरू उच्चस्तरमा जारी रहने छ ।

    उनीहरूलाई यो पनि लागिरहेको हुनुपर्छ कि लगातार पार्टीका विरुद्ध अनर्गल प्रचार गरिराखेको खण्डमा झुटलाई सही बनाउन सकिन्छ । कर्मठ, इमान्दार, सोझा कार्यकर्तालाई भ्रममा पार्न सकिन्छ । भ्रममा पार्न सके आफ्नो कुत्सित मनसाय पूरा हुने छन् । बडो चलाखीका साथ मानिसहरू पछि हट्ने छन् । पार्टीभित्र मतभेद हुनु, स्वस्थ अन्तरसङ्घर्ष चल्नु एउटा क्रान्तिकारी पार्टीका लागि सुखद पक्ष हो । अन्तरसङ्घर्षले पार्टीलाई जीवन्त र गतिशील बनाउँछ । ती सबै गतिविधि पार्टीले निश्चित गरेका विधि र पद्धतिअनुसार चलेको हुनुप¥यो । न्यूनतम मूल्य र मान्यता विपरीत गरिएका क्रियाकलाप रचनात्मक हुन सक्दैनन् ।

    हरेक पार्टीसदस्यले मतभेद राख्ने, छलफलमा भाग लिन पाउने र आफ्नो मत सुरक्षित राख्न पाउने अधिकार विधानले सुनिश्चि तगरेको छ । राम्रै उद्देश्यले गरिएको भनिएपनि त्यस्ता कामले पार्टीलाई बनाउँदैन, बिगार्छ मात्र । हेक्का राख्नुपर्ने कुरा यो हो कि ध्वंंसात्मक गतिविधिले न त कान्तिकारी आन्दोलनलाई हित गर्छ, न त व्यक्तिलाई । पार्टीको गोप्यता र सर्कुलर सार्वजनिक गर्ने कार्य कुन अर्थमा क्रान्तिकारी काम हुन सक्छ ? अनुशासनविहीनता र अराजकताको पनि सीमा हुन्छ । यस्तो नग्न शैली त दुश्मनका एजेन्टले पनि गर्न हिचकिचाउँछन् । एउटा क्रान्तिकारीले पार्टीका गोप्यता भङ्ग गर्ने कुरा सोच्न पनि सक्दैन । ऊ टुट्न तयार हुन्छ, झुक्न सक्दैन ।

    सोमबार, असार २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.