दाङ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापाले तत्कालीन सरकार भ्रष्टाचारको केन्द्र बन्दा जेनजी आन्दोलनको परिस्थिति सिर्जना भएको बताउनुभएको छ । थापाले जेनजी आन्दोनको क्रममा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी प्रमुख दल कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले मंगलबार तुलसीपुरमा गरेको ‘जेनजी आन्दोलन र त्यसले दिएको शिक्षा’ विषयक अन्तरक्रियामा सल्लाहकार थापाले जेनजी आन्दोलनपछि देश झन् २० वर्षपछि धकेलिएको बताउनुभयो । उहाँले जेनजी आन्दोलनमा पनि अमेरिकाको घुसपैठ रहेको बताउनुभयो । उहाँले रास्वपा अमेरिकबाट परिचालित पार्टी समेत रहेको आरोप लगाउनुभयो ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय सदस्य शितल सीले अब सबै राजनैतिक दल एक ठाउँमा आएर देशलाई जोगाउनुपर्ने अवस्था आएको बताए । उहाँले सत्तामा भएकाले गरेको ज्यादतीका कारण पछिल्लो आन्दोलन भएको बताए ।

उहाँले अमेरिकाले बालेनलाई प्रयोग गरेको आरोप समेत लगाएका छन् । अहिलेको सरकार जेनजीको नभइ सुशीला कार्कीको भएको बताउदै उहाँले सर्बपक्षिय अन्तरिम सरकार बन्नुपर्ने बताए । देशमा संविधान भएपनि नागरिकले संविधानको अनुभुति गर्न नसकेको उहाँले बताए । उनले संविधान पुनर्लेलेखन गर्नुपर्नेमा जोड दिए छ ।
यस्तै क्रान्तिकारी कम्युनिस्ट नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद भण्डारीले जेनजी आन्दोलनले नेताहरू भ्रष्टाचारी भएको प्रमाणित गरेको बताए । अहिले उनिहरू सत्तााबाहिर हुँदा बढी छट्पटी भएको उनको भनाई थियो ।
राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समितिको तर्फबाट कासीनाथ पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । जिल्ला समितिका सल्लाहकार तथा तुलसीपुर नगर अध्यक्ष श्यामलाल पोखरेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य तथा तुलसीपुरको नगर इन्चार्ज ईश्वरी भण्डारीले गर्नुभएको हो ।