काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
राष्ट्र बैङ्कले उक्त रकम एक वर्षका लागि लगानी गर्न लागेको हो ।
केन्द्रीय बैङ्कले एक सूचनामार्फत इच्छुक बैङ्क तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित २०८२ मङ्सिर २ गते मङ्गलबार साँझ ७ बजेभित्र आवेदन दिन भनेको छ ।
सूचनामा वाणिज्य बैङ्कमा रु दुई अर्ब ८२ करोड ४० लाख, विकास बैङ्कमा रु ५२ करोड ९५ लाख र वित्त कम्पनीमा रु १७ करोड ६५ लाख बराबरको रकम लगानी गर्न लागेको उल्लेख छ ।
बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, न्यूनतम कुल पुँजीकोष कायम रहेको र कुल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका सर्त पूरा गरेको हुनुपर्नेछ ।