काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङकलाइन महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ ।
दुई उद्योगको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाई गरेको हो । ती उद्योगले प्राधिकरणबाट लिएको डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युतको महसुल तिर्न लामो समयदेखि अटेर गर्दै आएका थिए ।
प्राधिकरणले पछिल्लोपटक २१ दिनको समय दिएर यही कात्तिक ४ र ५ गते ती उद्योगको लाइन काटेको थियो । प्राधिकरणले तय गरेको पहिलो किस्ताबापतको महसुल बुझाउँदै आयोगमा आवेदन दिएको थियो ।
ती दुई उद्योगको आवेदनमाथि आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र अन्य चार जना सदस्यको इजलासमा बहस भएको आयोगले जनाएको छ ।
बहसमा प्राधिकरणका तर्फबाट राजकुमार पोखरेल, रमेशकुमार घिमिरे र तुलाराम गिरीले बहस गर्नुभएको थियो भने उद्योगीको तर्फबाट रोजन खड्काले बहस गर्नुभएको आयोगले जनाएको छ ।
आयोगले प्राधिकरणले कानुनी व्यवस्थामा नै रहेर महसुल तय गरेको ठहर गरेको छ । निर्धारित महसुल निश्चित समयभित्र नतिरेपछि लाइन काट्ने प्रबन्ध कानुनी व्यवस्थाअनुसार रहेको आयोगले ठहर गरेको हो ।
आयोगको उक्त निर्णयमाथि चित्त नबुझेको खण्डमा निवेदक उद्योगी अदालत जान पाउने व्यवस्था छ ।