काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रकम नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएसँगै राष्ट्र बैङ्कले सो रकम उपलब्ध गराएको हो ।
यससँगै बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ ।
वार्षिक प्रतिवेदनअनुसार आव २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुन: मूल्याङ्कन लाभहानि समायोजनअघिको खुदआय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ ।
नेपाल राष्ट्र बैङ्क ऐन–२०५८ को दफा ९१ मा बैङ्कले वासलात, आयव्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।