केरसिंह अदै, तौलिहवा ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला समितिको आयोजनामा तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलनको बारेमा पार्टी कार्यकर्ता र नयाँ पुस्तालाई प्रशिक्षण दिइएको छ ।
केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्यमा २०८२ कात्तिक २८–२९ गते गोरुसिङ्गेमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपालीले नेपाल विदेशी साम्राज्यवादीको क्रिडास्थल बनेको बताउनुभयो ।
उहाँको भनाइ थियो– ‘कङ्ग्रेस, एमाले र माओवादीको सत्तासञ्चालनको असफलताका कारण जेनजी आन्दोलन उठेको थियो ।’
जेनजी आन्दोलन सही हुँदाहुँदै पनि यसलाई विदेशी शक्तिकेन्द्र्रले आफ्नो स्वार्थअनुरूप उपयोग गरेको दाबी उहाँले गर्नुभयो ।
राजमो केन्द्र्रीय सल्लाहकार दधिराम आचार्यको विशिष्ट आतिथ्य रहेको सो कार्यक्रमको अध्यक्षता अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन पिताम्बर खनालले र स्वागत राजमो कपिलवस्तु जिल्ला अध्यक्ष रामप्रसाद बेलबासेले गर्नुभएको थियो ।
युवाविद्यार्थीको पनि भेला
त्यस्तै कात्तिक २९ गते शिवराज नगरपालिकाको खरेन्द्रपुरमा युवाविद्यार्थीमा तात्कालिक राजनीतिक परिस्थिति र जेनजी आन्दोलनसम्बन्धी नेकपा (मसाल) ले हालै पास गरेको राजनैतिक प्रस्तावमा छलफल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले तत्कालीन राजनीतिक परिस्थितिबारे विचार व्यक्त गर्नुका साथै उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
राजमो जिल्ला कोषाध्यक्ष तथा राजमो शिवराज नगर समितिका अध्यक्ष केहरसिंह पुनमगरको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन सचिव श्यामप्रकाश खनालले र स्वागत अखिल (छैठौं) का जिल्ला अध्यक्ष टिना अदैले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) को तात्कालिक राजनीतिक प्रस्ताव राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले वाचन गर्नुभएको थियो ।

