काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानसम्बद्ध गायिका लक्ष्मी गुरुङको चौथो स्मृतिदिवस प्रगतिवादी साहित्यकार राजेश विश्वकर्मालाई सम्मान गर्दै सम्पन्न भएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा २०८२ कात्तिक २५ गते मङ्गलबार साँझ भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री सिंहले स्मृतिशेष गुरुङले गीतसङ्गीतको माध्यमबाट क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा मदत पुर्याएको विचार व्यक्त गर्नुभयो ।
‘उहाँ शारीरिक रूपमा कमजोर हुनुहुन्थ्यो तर गीतसङ्गीतको क्षेत्रबाट उहाँले सो कमी पूरा गर्नुभयो’ उहाँको धारणा थियो ।
गुरुङप्रतिको सम्मान व्यक्तिगत नभएको दाबी गर्दै उहाँले यसबाट क्रान्तिकारी कम्युनिस्ट आन्दोलनप्रति गीतसङ्गीत, र साहित्यको क्षेत्रबाट योगदान गर्ने सबैप्रति सम्मान हुने बताउनुभयो ।
महामन्त्री सिंहले भन्नुभयो– ‘यसबाट जीवनभरि प्रगतिवादी साहित्य, कला र संस्कृतिबाट क्रान्तिकारी कम्युनिस्ट आन्दोलनप्रति योगदान दिनेहरूप्रति सम्मान पुग्दछ ।’
उहाँले यतिखेर देशीविदेशी प्रतिगामी तथा साम्राज्यवादीले गणतन्त्र, राष्ट्रियता र सार्वभौमिकतामाथि आक्रमण गरिरहेको बताउँदै त्यसका विरुद्धको सङ्घर्षमा योगदान दिन सम्पूर्ण सांस्कृतिककर्मीसित अनुरोध गर्नुभयो ।
रक्तिमका वरिष्ठ उपाध्यक्ष जीवन शाहीको अध्यक्षता तथा महासचिव हेमराज आश्रमको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा रक्तिमका पुराना नेतृत्वकर्तासमेत रहनुभएका राजेश विश्वकर्मालाई दश हजार रुपियाँसहित सम्मान गरिएको थियो । सो सम्मान भौतिक उपस्थितिको कार्यक्रममाझ सम्मान गरिने आयोजकले जानकारी दिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व राजेश विश्वकर्मा र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले पनि सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।
रक्तिमका उपाध्यक्ष मोहराज चालिसेको स्वागतबाट अघि बढेको कार्यक्रमको पूर्वाद्र्धमा केन्द्रीय सल्लाहकार मीना बुढाथोकीले स्मृतिशेष गुरुङको योगदानबारे सङ्क्षिप्तमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशी, राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराई, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, जापान नेपाली एकता समाजका अध्यक्ष दण्ड केसी, कुवेत नेपाली एकता समाजका अध्यक्ष खुम रायमाझी, स्मृतिशेष लक्ष्मी गुरुङका छोरा रबिन गुरुङलगायत देशविदेशका प्रतिनिधिको आतिथ्य रहेको थियो ।
सो अवसरमा अन्पाकी केन्द्रीय सदस्य कल्पना पौडेल ‘जिज्ञासु’ ले ‘म एक मौन साथी’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा लक्ष्मी गुरुङ अक्षयकोषका सहयोगदाताको नामावली पनि वाचन गरिएको थियो ।
२०२३ कात्तिक २५ गते कास्कीमा जन्मनुभएका गुरुङको निधन २०७८ कात्तिक २५ गते रुपन्देहीमा भएको थियो ।